बिजलपुरामा महिलाको मृत्यु प्रकरण : श्रीमान, ससुरा र सासू पक्राउ
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरामा रिंकु कुमारी सिंहको 'शंकास्पद' मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका पति शशीकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललिता देवी सिंहलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी तथा प्रवक्ता पञ्चलाल गोलेका अनुसार पीडित पक्षले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएपछि तीन जनालाई नियन्त्रणमा लिइएको हो। 'जिल्ला अदालत जलेश्वरबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएका छौं। बाँकी दुई आरोपितको खोजी तीव्र बनाइएको छ,' उनले बताए।
प्रहरी स्रोतका अनुसार घटनापछि फरार रहेका मृतकका नन्द र उनका श्रीमानको खोजी भइरहेको छ। उनीहरूविरुद्ध पनि पीडित परिवारले किटानी जाहेरी दिएको छ।
मृतकका बुवा शत्रुधन महतोले छोरीलाई लामो समयदेखि कुटपिट, मानसिक तथा शारीरिक यातना, गालीगलौज र घर निकाला गर्ने धम्की दिइँदै आएको आरोप लगाए। उनका अनुसार शशीकुमार सिंहले अर्को विवाह गरेपछि रिंकुमाथि सम्बन्ध विच्छेदका लागि निरन्तर दबाब सिर्जना गरिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानले रिंकुले शुक्रबार आफ्नै कोठामा सलको पासो लगाएर आत्महत्या गरेको संकेत देखाएको छ। तर माइती पक्षले भने यो आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरिरहेको छ।
घटनापछि बिजलपुरा तनावग्रस्त बनेको थियो। शुक्रबार राति आक्रोशित स्थानीय र माइती पक्षले आरोपितको घरमा तोडफोड गरेका थिए। घरमा पार्क गरिएको कारमा आगजनी गरिएको थियो भने मोटरसाइकल र स्कुटरमा समेत क्षति पुर्याइएको थियो। प्रहरीको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको थियो।
शुक्रबार रातिदेखि शनिबार बिहानसम्म सयौं स्थानीय र माइती पक्षले आरोपितको घर घेराउ गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका थिए। यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगामुढा समेत भएको थियो। अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको थियो।
इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाले घटनाको निष्पक्ष, गहन र तथ्यमा आधारित अनुसन्धान गरिने तथा दोषी ठहरिए कानुनअनुसार कडा कारबाही गरिने प्रतिबद्धता जनाएपछि मात्रै मृतकको शवको मुचुल्का उठाइएको थियो। रिंकु कुमारी सिंहको मृत्यु आत्महत्या हो वा हत्या, त्यसको यथार्थ अब प्रहरी अनुसन्धान र प्रमाणहरूले उजागर गर्नेछन्। तर घटनाले बिजलपुरामा महिला हिंसा, पारिवारिक यातना र न्यायको सवाललाई फेरि एकपटक केन्द्रमा ल्याएको छ।
प्रतिक्रिया दिनुहोस !