मैदानबाहिरको आधा आकाश

अग्रमत

मैदानबाहिरको आधा आकाश

महिला सहभागिताको विषय केवल खेलकुदको नभई समग्र समाज र देशकै विकाससँग जोडिएको छ।

विश्वकप फुटबलले विश्वभर उत्सवको माहोल सिर्जना गरिरहँदा, अन्तर्राष्ट्रिय मञ्चदेखि नेपालका गाउँघरसम्म गम्भीर प्रश्न उब्जिएको छ– खेलकुदको मैदानमा आधा आकाश ओगट्ने महिलाहरूको वास्तविक स्थान कहाँ छ ? सन् १९३० मा सुरु पुरुष विश्वकपको तुलनामा सन् १९९१ मा मात्र महिला विश्वकप सुरु हुनु र आज पनि हाम्रा टोलका मैदानहरूमा छोरीहरूको पहुँच नहुनुले विश्वव्यापी तथा राष्ट्रियस्तरमा रहेको गहिरो लैंगिक असमानतालाई छर्लंग पार्छ। यस लेखमा खेलकुदमा महिला अवसर, सामाजिक दृष्टिकोण र उनीहरूको दबिएका सपनाहरूको यथार्थपरक चिरफार हो।

विश्वकप फुटबल विश्वकै सबैभन्दा ठूलो खेलकुद महोत्सवमध्ये एक हो। मैदानमा खेलाडीहरू प्रतिस्पर्धा गरिरहेका हुन्छन्, दर्शक उत्साहित हुन्छन् र राष्ट्रहरू आफ्नो गौरवको उत्सव मनाइरहेका हुन्छन्। तर यस्तो समयमा एउटा प्रश्न उठ्न सक्छ– विश्वकप फुटबलमा महिलाको सहभागिता किन न्यून देखिन्छ ? के महिलाहरू भूमिकाविहीन नै हुन् ? यस प्रश्नको उत्तर खोज्दा सर्वप्रथम एउटा भ्रम हटाउन आवश्यक छ। महिलाहरूको भूमिका कहिल्यै शून्य थिएन र छैन। बरु इतिहासले देखाउँछ कि समाज, परिवार, शिक्षा, संस्कृति र खेलकुदका आधार निर्माणमा महिलाको योगदान अत्यन्त महत्वपूर्ण रहँदै आएको छ। समस्या योगदानको अभावमा होइन, बरु योगदानलाई हेर्ने दृष्टिकोणमा छ।

खेलकुदमा सफलता केवल मैदानमा दौडिने खेलाडीको प्रयासले मात्र सम्भव हुँदैन। एउटा खेलाडीको पछाडि परिवार, प्रशिक्षक, विद्यालय, समुदाय र समाजको ठूलो भूमिका हुन्छ। त्यहाँ आमाको माया, दिदीबहिनीको सहयोग, पत्नीको साथ, महिला प्रशिक्षकको मार्गदर्शन र महिला प्रशासकको व्यवस्थापन पनि जोडिएको हुन्छ। त्यसैले विश्वकपमा महिलाको उपस्थिति केवल खेलाडीको रूपमा मात्र नाप्न मिल्दैन।

तर अर्को यथार्थ पनि छ। विश्वका धेरै देशहरूमा महिलाहरूले खेलकुदमा समान अवसर पाएका छैनन्। बाल्यकालदेखि नै छोरालाई खेल मैदान र छोरीलाई घरायसी जिम्मेवारीतर्फ केन्द्रित गराउने सामाजिक सोच अझै धेरै ठाउँमा विद्यमान छ। खेल पूर्वाधार, लगानी, प्रशिक्षण, छात्रवृत्ति र प्रोत्साहनका अवसरहरू पनि प्रायः पुरुषतर्फ बढी केन्द्रित हुने गरेका छन्। परिणामस्वरूप प्रतिभा भएर पनि धेरै महिला खेलकुदमा निरन्तरता दिन सक्दैनन्। संसारका करोडौं मानिस टेलिभिजन अगाडि बसेर गोल गन्ने, रेफ्रीलाई गाली गर्ने र आफ्नो मनपर्ने टोलीका लागि रातभर जाग्राम बस्ने बेला आएको छ। तर विश्वकप हेर्दाहेर्दै मेरो ध्यान घरछेउको सानो फुटबल मैदानतिर जान्छ। त्यहाँ हरेक साँझ धुलो उडिरहेको हुन्छ, केटाहरू कराइरहेका हुन्छन्, गोलपोस्टका जालीहरू हल्लिरहेका हुन्छन्। तर एउटा कुरा भने वर्षौंदेखि उस्तै छ– त्यो मैदानमा किन केटाहरू मात्र खेलिरहेका हुन्छन् ? 

आखिर छोरीहरूले कहिले छुने विश्वकप ? 

विश्वकपको ट्रफी त टाढाको कुरा भयो, उनीहरूले आफ्नो टोलको मैदानको बलसमेत स्वतन्त्र रूपमा छुने अवसर पाएका छन् कि छैनन् ? रोचक कुरा के छ भने, पुरुष विश्वकप १९३० मा सुरु भएको थियो भने महिला विश्वकप १९९१ मा मात्र सुरु भयो– अर्थात् महिलालाई फुटबल छुन करिब ६१ वर्ष लाग्यो। महिला फुटबलको विश्वकप पहिलो पटक सन् १९९१ मा खेलिएको थियो। यो प्रतियोगिता चीनमा १६–३० नोभेम्बर १९९१ सम्म आयोजना गरिएको थियो र यसमा १२ राष्ट्र सहभागी भएका थिए। फिफाले २०३१ देखि महिला विश्वकपलाई ४८ टोलीसम्म विस्तार गर्ने निर्णय पनि गरिसकेको छ। भन्नका लागि त अन्तर्राष्ट्रिय स्तरमा महिलाहरूको आफ्नै विश्वकप पनि छ तर गाउँ, विद्यालय वा स्थानीय मैदानहरूमा अझै पनि अवसर र पहुँचमा असमानता देखिन्छ, जुन लैंगिक समानताका लागि महत्वपूर्ण विषय हो।

हामी समाजका रूपमा निकै रोचक छौं। छोराले बल खेल्यो भने ‘भविष्यको स्टार’ भन्छौं। छोरीले बल खेल्न खोजी भने ‘घाममा किन डुलिरहेकी ?’ भनेर सोध्छौं। छोराको घुँडा फुट्यो भने साहसको चिह्न ठान्छौं, छोरीको घुँडा फुट्यो भने संस्कार बिग्रिएको प्रमाण खोज्छौं। हामी समानताको भाषण गर्छौं, तर खेलमैदानको ढोका अझै बराबरीले खोल्न सकेका छैनौं। व्यंग्यको कुरा त के छ भने, विश्वकप जित्दा राष्ट्र गौरवान्वित हुन्छ भनेर हामी गर्व गर्छौं, तर राष्ट्रका आधा नागरिकलाई खेल्ने अधिकार दिन भने अझै कन्जुस्याइँ गर्छौं। छोरीहरूलाई दर्शक बन्न सिकाइन्छ, खेलाडी बन्न होइन। उनीहरूलाई ताली बजाउन अनुमति छ, तर गोल गर्न अनुमति छैन जस्तो व्यवहार गरिन्छ।

तर यो प्रश्न महिलाको होइन, अवसरको हो। फुटबलको मात्र होइन। यो त सम्भावनाको प्रश्न हो। आत्मविश्वासको प्रश्न हो। सपनाको प्रश्न हो। दार्शनिक रूपमा हेर्ने हो भने, एउटा बलले कसैको लिंग सोध्दैन। मैदानले खेलाडीको जात, धर्म वा लिंग छुट्ट्याउँदैन। गोलपोस्टले पनि ‘केटा’ र ‘केटी’ भनेर गोल गन्दैन। यी सबै विभाजन त मानिसले बनाएका हुन्। प्रकृतिले त केवल क्षमता दिएको छ, सिमाना होइन। विश्वकपको ट्रफीले कहिल्यै खेलाडीको लिंग सोध्दैन, तर मैदानसम्म पुग्ने बाटोले भने अझै कहिलेकाहीँ सोधिरहेको देखिन्छ।

आज मेरो घरछेउको मैदानमा खेलिरहेका ती केटाहरू भोलि विश्वकप नपुग्न सक्छन्। तर त्यही मैदानबाहिर उभिएर खेल हेर्दै गरेकी कुनै छोरीलाई अवसर दिइयो भने सायद उसैले देशको नाम विश्वमञ्चमा चम्काउन सक्छे। प्रतिभा लिंगमा जन्मिँदैन, अवसरमा हुर्किन्छ। हामीले छोरीहरूलाई ‘तिमी पनि खेल्न सक्छौ’ भनेरमात्र पुग्दैन। खेल्न सक्ने वातावरण दिनुपर्छ। सुरक्षित मैदान, प्रोत्साहन, परिवारको साथ र समाजको विश्वास दिनुपर्छ। किनभने अधिकार कागजमा लेखेर मात्र स्थापित हुँदैन, व्यवहारमा लागू गरेर स्थापित हुन्छ।

  • तर यो प्रश्न महिलाको होइन, अवसरको हो। फुटबलको मात्र होइन। यो त सम्भावनाको प्रश्न हो। आत्मविश्वासको प्रश्न हो। सपनाको प्रश्न हो।
  • जबसम्म छोरीहरूले स्वतन्त्र रूपमा मैदानमा उत्रिने समान अवसर र सम्मान पाउँदैनन्, तबसम्म समानताका नाराहरू अपूरै रहनेछन्। प्रतिभा लिंगले होइन, अवसरले हुर्किन्छ। 

महिला र पुरुष खेलाडीबीचको वास्तविक समानता भनेको एउटालाई अर्कोसँग तुलना गरेर होइन, दुवैलाई आफ्नो क्षमता प्रदर्शन गर्ने समान अवसर, सम्मान र स्रोत उपलब्ध गराएर मापन गरिनुपर्छ। अब केही दिन विश्वकप भइरहनेछ। ट्रफीहरू उठाइनेछन्। राष्ट्रगानहरू बजाइनेछन्। तर छोरीहरूको लागि साँचो विश्वकप त्यही दिन सुरु हुनेछ, जुन दिन घरछेउको मैदानमा केटा र केटी दुवैले एउटै बल पछ्याइरहेका हुनेछन्। जब खेलाडीको परिचय उसको खेल हुनेछ, लिंग होइन। त्यस दिन सायद कुनै सानी छोरीले बललाई पहिलो पटक किक हानेर मुस्कुराउँदै सोध्नेछे– ‘विश्वकप त धेरै टाढा रहेनछ, है ?’

त्यसैले यो केवल फुटबलको कथा होइन; यो आधा आकाशलाई मैदानमा उत्रिन दिने वा नदिने हाम्रो सामूहिक निर्णयको कथा हो। यो महिलाको क्षमताको प्रश्न होइन, अवसरको प्रश्न हो। समाज एउटा रथ हो, जसका दुई पांग्रा महिला र पुरुष हुन्। कुनै एक पांग्रालाई कमजोर बनाइयो भने रथको गति स्वाभाविक रूपमा प्रभावित हुन्छ। त्यसैले महिला सहभागितालाई केवल महिला अधिकारको विषयका रूपमा होइन, समाजको समग्र विकासको विषयका रूपमा बुझ्न आवश्यक छ। लैंगिक समानताको अर्थ महिलालाई विशेष सुविधा दिनुमात्र होइन; उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न पुरुषसरह अवसर प्रदान गर्नु हो। जब विद्यालय र समाजका खेल मैदान सुरक्षित हुन्छन्, जब परिवारले छोरीको खेलप्रतिको रुचिलाई सम्मान गर्छ। जब खेलकुद नीतिहरू समावेशी बन्छन् र जब समाजले महिला खेलाडीलाई पनि समान सम्मान दिन्छ, तब सहभागिता स्वाभाविक रूपमा बढ्छ।

आज आवश्यक कुरा महिलाको योगदानमाथि प्रश्न उठाउनु होइन, उनीहरूको सहभागिता बढाउन आवश्यक संरचना निर्माण गर्नु हो। खेलकुदमा महिलाको उपस्थिति बढ्नु भनेको केवल पदक जित्नु होइन; आत्मविश्वास, नेतृत्व, स्वास्थ्य र सामाजिक समानताको विस्तार पनि हो। त्यसैले प्रश्न ‘महिलाहरू भूमिकाविहीन हुन् त ?’ होइन। सही प्रश्न त यो हो– ‘के हामीले महिलाहरूलाई आफ्नो भूमिका प्रदर्शन गर्न पर्याप्त अवसर दिएका छौं ?’ जब यो प्रश्नको इमानदार उत्तर खोज्न थाल्छौं, तबमात्र विश्वकप होस् वा जीवनको कुनै पनि क्षेत्र, महिलाको सहभागिता शून्य होइन सराह्रनीय हुनेछ।

अन्ततः महिला सहभागिताको विषय केवल खेलकुदको नभई समग्र समाज र देशकै विकाससँग जोडिएको छ। जबसम्म छोरीहरूले स्वतन्त्र रूपमा मैदानमा उत्रिने समान अवसर र सम्मान पाउँदैनन्, तबसम्म समानताका नाराहरू अपूरै रहनेछन्। प्रतिभा लिंगले होइन, अवसरले हुर्किन्छ। त्यसैले, आधा आकाशलाई निर्धक्क मैदानमा प्रवेशको बाटो खोल्नु र खेल्ने वातावरण दिनु आजको अपरिहार्य आवश्यकता हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.