ब्राउन सुगर र नगदसहित चन्द्रपुरबाट २ जना पक्राउ
चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगर र नगदसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई प्राप्त विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब ६ः३० बजे चन्द्रपुर–६ डावरीटोल निवासी २६ वर्षीय निराशकुमार सापकोटालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले सापकोटाको शरीर तथा साथमा रहेको पर्स तलासी गर्दा कालो प्लास्टिकमा बेरेर लुकाइछिपाइ राखिएको खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारेको जनाएको छ । बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित ०.१६० मिलिग्राम तथा प्लास्टिक बाहेक ०.०८० मिलिग्राम रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख प्रहरी नायवउपरीक्षक रुपा लाबुङले जानकारी दिइन् ।
तलासीका क्रममा सापकोटाको साथबाट नगद ३२ हजार २९० रुपैयाँ समेत बरामद भएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागुऔषध बिक्री गर्ने व्यक्तिको पहिचान भएपछि प्रहरीले चन्द्रपुरकै शान्तिनगर टोल निवासी ३० वर्षीय विकास न्यौपानेलाई पनि नियन्त्रणमा लिएको लाबुङले बताइन् । उनको साथबाट पनि २२ हजार ३९० रुपैयाँ नगद बरामद भएको । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखी लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको लाबुङले बताइन् ।
प्रतिक्रिया दिनुहोस !