गर्भावस्थामा ध्यान, स्वस्थ सन्तान
काठमाडौं : २६ वर्षीया नीति अधिकारी गर्भवती छिन्। उनलाई गत साता अचानक रक्तस्राव भयो। तुरुन्तै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भई उपचार गराइन्। भिडियो एक्सरे गराउँदा गर्भमा तिम्ल्याहा रहेको पत्ता लागेको छ। उपचार गराई घर फर्किएकी अधिकारी भन्छिन्, ‘खासै डराएकी छैन। अस्पताल नजिकै बसाई भएकाले चिन्ता छैन। केही अप्ठ्यारो परे आइहालिन्छ।’
गर्भावस्थाको अन्तिम चरणतिर पुग्दा बाजुरा जिल्लाकी एक गर्भवतीको दैनिकी सामान्यजस्तै थियो। घरधन्दा, घाँस–दाउरा र भारी बोक्ने कामबाट उनी मुक्त थिइनन्। केही समयपछि उनलाई पेट दुख्न थाल्यो र रक्तस्राव पनि भयो।
गाउँमा सहज स्वास्थ्य सेवा उपलब्ध नभएकाले उनले स्थानीय औषधि पसलबाट पेट दुखाइ कम गर्ने औषधि किनेर सेवन गरिन्। तर, अवस्था सुधारिएन। पीडा बढ्दै गएपछि उनी स्वास्थ्य संस्थामा पुगिन्। त्यहाँ मृत शिशुको जन्म भयो। ‘मलाई पेट दुखेको थियो। औषधि खाएँ। पछि अस्पताल पुगेँ। बच्चा बचेन,’ उनी सम्झिन्छिन्, ‘के कारणले यस्तो भयो भन्ने कुरा मैले बुझ्न सकिनँ।’
घटनापछि अस्पतालले प्रहरीलाई जानकारी गरायो। अनुसन्धान सुरु भयो। तर एउटा प्रश्नको जवाफ स्पष्ट थिएन– मृत शिशुको जन्म गह्रौं भारी बोक्दा भएको जटिलताका कारण भएको थियो कि औषधि सेवनका कारण ? स्वास्थ्यकर्मीले पनि त्यसबारे यकिन निष्कर्ष निकाल्न सकेनन्।
यद्यपि अनुसन्धान कार्य स्वास्थ्य जटिलताभन्दा कानुनी प्रश्नतर्फ मोडियो। प्रहरीले कानुनले तोकेको अवधिभन्दा बढी समयको गर्भलाई पतन गराउन औषधि प्रयोग गरिएको आरोप लगायो। त्यसपछि उनीविरुद्ध मुद्दा दायर भयो। जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनायो। पछि कानुनले दिएको छुट तथा न्यून जरिवानापछि उनी रिहा भइन् र घर फर्किइन्।

यी घटनाले गर्भावस्थामा महिलाले भोग्नुपर्ने शारीरिक, मानसिक अवस्था र गर्भावस्थाका जटिलताबारे दर्शाउँछन्। गर्भावस्थामा हुने स्वास्थ्य जटिलताको ठूलो भार अक्सर महिलाले नै बोक्नुपर्छ। गर्भवतीलाई शान्त, सहज र आत्मीय वातावरण दिई तनावमुक्त बनाउन घरपरिवारले मद्दत गर्नुपर्दछ। तर, कतिपयका श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण गर्भावस्थामा अप्ठ्यारो हुन सक्छ। यस्तो बेला परिवारका सदस्यले घरायसी दैनिक काममा सघाउने, गर्भवतीलाई ठूला, गह्रौं सामानहरू बोक्ने, उचाल्ने वा जोखिमपूर्ण कामहरूमा लगाउनुहुँदैन।
के हो गर्भावस्था ?
शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनुपूर्व आमाको पेटभित्र गर्भाशयमा बस्ने अवधिलाई गर्भावस्था भनिन्छ। यो अवधि पुरुषको शुक्रकिट र महिलाको डिम्ब मिलेर गर्भ रहेको दिनदेखि कुल २७० दिन अर्थात् ९ महिना भन्ने बुझिन्छ। यो अवधिलाई गर्भवतीको शारीरिक, संवेगात्मक परिवर्तन तथा शिशुको विकासात्मक अवधिको आधारमा तीन भागमा विभाजन गरिएको छ। यस अवस्थामा आमामा हुने परिवर्तन र शिशुको विकास यस प्रकार छः
पहिलो तीन महिना– गर्भ रहेदेखि ३ महिनासम्म
गर्भावस्थामा आउने शारीरिक परिवर्तनः महिनावारी रोकिनु, वाकवाकी लाग्नु, थकान महसुस हुनु, चक्कर आएको जस्तो झुम्म भइरहनु, पिसाबको जाँच गर्दा गर्भवती देखिनु सुरुवाती चिह्न तथा लक्षणहरू हुन्। यस अवस्थामा पिसाब लागिरहने, छिटोछिटो भोक लाग्ने पनि हुन्छ।
गर्भवतीमा आउने संवेगमा परिवर्तनः गर्भवतीको हर्मोनमा परिवर्तन भइरहने हुनाले रिसाउने, दिक्क लाग्ने, अति खुसी लाग्ने हुन सक्छ। गर्भको शिशुलाई नराम्रो हुने हो कि भन्ने डर, असुरक्षाको महसुस पनि हुन्छ। यो साधारण हो, तर गर्भवती खुसी रहनु जरुरी हुन्छ।
डिम्बावस्थाः यो अवस्था पुरुषको शुक्रकिट र महिलाको डिम्ब मिलेर गर्भ रहेको दिनदेखि १५ दिन भन्ने बुझिन्छ। गर्भ रहेको करिब २४ देखि ३६ घण्टापछि कोष विभाजन सुरु हुन्छ। करिब ५ दिनमा सयौं कोषहरू विभाजन भइसकेको हुन्छ। यो करिब ५ दिनदेखि पाठेघरको भित्तामा टाँसिएर बस्दछ। ब्लास्टोसिस्टको बाहिरी भाग साल बन्न सुरु गर्छ भने भित्री भाग भ्रूण मानव जीवनको रूपमा विकसित हुन सुरु गर्छ।
भ्रुण अवस्थाः यो अवस्था दुई हप्तादेखि आठ हप्तासम्मको अवधि हो। यो अवस्थामा मानव शरीरका सबै अंगहरू छुट्टिसकेका हुन्छन्। यसको आकार एक इन्च लामो र आठ ग्राम तौलको हुन्छ। मस्तिष्कको विकास भी करिब तेस्रो हप्ताबाट सुरु हुन्छ। बिस्तारै शिशुका कपाल, नङ, दाँत तथा पाचन प्रणालीहरू बन्दछन्। १३ हप्तासम्ममा शिशु ३ इन्च लामो र २८ ग्राम तौलको हुन्छ। मांसपेशीहरूको समन्वय बढ्दै जान्छ। छोएको अनुभव गर्न थाल्छन्। हात, खुट्टा चलाउन थाल्छन्। मुख खोल्ने, बन्द गर्ने गर्छन्। फोक्सोले श्वास लिन पनि सुरु गर्छ। लिंग (छोरा र छोरी) छुट्टिन्छ।
दोस्रो तीन महिना– गर्भ रहेको ३ महिनादेखि ६ महिनासम्म
- गर्भवतीमा आउने शारीरिक परिवर्तनः परिवर्तनहरू देखा पर्न सुरु हुन्छन्। यस अवधिमा पेट र स्तनको आकार बढ्ने, थकान महसुस हुने, खुट्टा गल्ने, गर्भमा रहेको बच्चा चलमलाउने, छिटो भोक लाग्ने, तौल बढ्दै जाने हुन्छ। हर्मोनमा आउने परिवर्तनले रिसाउने हुन सक्छ। दिक्क हुने, रुन मन लाग्ने हुन सक्छ। कुनै चिन्तित हुनुपर्ने लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर सल्लाह गरिहाल्नुपर्छ।
- गर्भमा रहेको शिशुको वृद्धि र विकासः करिब २१ हप्तादेखि शिशुले स्वाद लिने, छुट्याउन सक्ने प्रतिक्रिया दिन थाल्छन्। बिस्तारै सुन्न र देख्न पनि थाल्छ। गन्ध र स्पर्श पनि महसुस गर्न सक्छ। बिस्तारै चलमलाउन पनि थाल्छ। टाउकोमा कपाल पनि आउन थाल्छ। २४ हप्ताको शिशुले दुखाइ तथा असजिलो महसुस गर्न सक्छ। ४ देखि ६ महिनामा गर्भको शिशुको शरीर पूर्णरूपमा विकास हुन्छ। शरीरको आकार झन्डै १५ इन्चसम्म र तौल झन्डै ७५ ग्रामसम्मको हुन्छ।
अन्तिम तीन महिना– गर्भ रहेको ६ देखि ९ महिनासम्म
- गर्भवतीमा आउने शारीरिक परिवर्तनः स्पष्ट देखिन्छ। यस अवधिमा पेट र स्तनको आकार बढ्ने, निहुरेर काम गर्न नसक्ने, थकान महसुस हुने, खुट्टा सुन्निने, फर्कने, छिटो भोक लाग्ने, तौल बढ्ने हुन्छ।
- गर्भवतीमा आउने संवेगमा परिवर्तनः परिवर्तन आउँछ। शिशु चलेको, खेलेकाले आमालाई आनन्द आउने हुन्छ। शिशु जन्माउने क्रममा आफू पनि खतरामा पर्छु कि भन्ने डर पनि भइरहन्छ।
- गर्भमा रहेको शिशुको वृद्धि र विकासः करिब २८ हप्तामा शिशुले आमाबुबाको आवाज सुनेर उतैतिर ध्यान दिने गर्छन्। गर्भभित्र शिशुले हातखुट्टा चलाउने, जिउ तन्काउने, निदाउने, हाइ काढ्ने गर्दछ। आफू वरिपरि हुने अधिकांश क्रियाकलापहरू शिशुले आमाको पेटभित्र भए पनि सुन्ने र अनुभूति गर्ने गर्छ। शिशुले गर्भभित्रै आँखा झिम्क्याउने क्रियाकलापहरू पनि गर्न थाल्छन्। वातावरणअनुसार प्रतिक्रिया पनि जनाउँछन्। नयाँ आवाजहरू सुन्दा शिशुको मुटुको धड्कन र मस्तिष्कको तरंग बढ्दछ।
चिन्ता गर्दा हर्मोनमा गडबडी
गर्भावस्थाको समयमा तनावले कोर्टिसोल हर्मोनको मात्रा बढाउँछ जसले रक्तनलीहरूको साँघुरोपन निम्त्याउन सक्छ। गर्भाशयमा रक्तप्रवाह सीमित गर्न सक्छ र गर्भमा रहेको बच्चालाई रक्तआपूर्ति कम गर्न सक्छ। यसको फलस्वरूप कम तौल भएका शिशु (लो बर्थ वेट) जन्मिने जोखिम हुने चिकित्सकहरू बताउँछन्। त्यस्तै समयपूर्व नै शिशु जन्मने हुन सक्छ। समयपूर्व जन्म (प्रिटर्म बर्थ) भन्नाले गर्भावस्थाको ३७ हप्ता पूरा हुनुअघि हुने जन्मलाई बुझिन्छ। नेपालमा समयपूर्व जन्मेका कारण कम तौल भएका शिशु जन्मने दर १३ दशमलव ५५ प्रतिशत रहेको छ। समय नपुगी जन्मिने अवस्था छ भने सकेसम्म सुविधासम्पन्न अस्पतालमा जन्माउनुपर्छ।
आमा बन्ने तयारीमा रहेकी अधिकारीझैं आफ्नो स्वास्थ्य अवस्थाप्रति कन्फिडेन्स (आत्मविश्वासी) हुनेहरू न्यून रहेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरू बताउँछन्। कतिपयमा डर, घबराहट, थरथर काँप्ने, भविष्य सम्झेर निराश महसुस हुने लक्षणहरूसमेत देखिने गर्छन्। घरमा पारिवारिक हिंसा वा डरको अनुभव गर्ने महिलाबाट शिशु समयपूर्व नै जन्मने सम्भावना हुने विभिन्न अध्ययनहरूले देखाएका छन्।
मानव अधिकार तथा कानुन मञ्चले हालै सार्वजनिक गरेको एक अध्ययनअनुसार, हिंसा गर्नेमा निरक्षर पुरुष र हिंसामा पर्नेमा पनि निरक्षर महिला भएको उल्लेख छ। तथ्यांकअनुसार, गर्भावस्थामा हिंसामा पर्नेमा ३८ दशमलव ४ प्रतिशत र सुत्केरीका क्रममा हिंसामा पर्ने ३५ दशमलव ९ प्रतिशत छन्। कतिपय गर्भवतीमाथि शारीरिक, मानसिक र यौनजन्य हिंसा हुने गरेको पाइएको छ। ‘पारिवारिक हिंसामा परेका गर्भवतीहरू आत्तिने, डराउने महसुस गर्छन्। कतिपय पर्याप्त जानकारीको कमीले पनि डराउने हुन्छन्,’ एक प्रसूति रोग विशेषज्ञ भन्छन्, ‘घरपरिवार, साथीभाइले पनि सहयोग गर्नुपर्छ। काउन्सिलिङ गरिरहनुपर्ने हुन्छ।’

रक्तस्राव र उच्च रक्तचापको जोखिम
डब्लूएचओ र ग्लोबल बर्डन अफ डिजिजको अध्ययनले विश्वभर मातृ मृत्युको प्रमुख कारणहरूमध्ये अत्यधिक रक्तस्राव (२७ प्रतिशत), उच्च रक्तचाप (१४ प्रतिशत) र संक्रमण (११ प्रतिशत) जिम्मेवार रहेको देखाएका छन्। नेपालमा मातृमृत्युको प्रमुख कारणहरूमा अझै पनि प्रसवपछिको रक्तस्राव (पीपीएच) र प्रि–एक्लाम्प्सिया अग्रपंक्तिमा छन्। गर्भावस्थाको २० हप्तापछि (करिब ५ महिनापछि) अचानक रक्तचाप बढ्नु र शरीरका केही अंगमा असर पर्न थाल्नु नै प्रि–एक्लाम्प्सिया हो। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण शाहका अनुसार, गर्भावस्थामा सामान्य मात्रामा खुट्टा सुन्निनु स्वाभाविक मानिन्छ।
तर, बिहान उठ्नासाथ अनुहार र हात सुन्निनु प्रि–एक्लाम्प्सिया (उच्च रक्तचाप) को प्रारम्भिक लक्षण हुन सक्छ। त्यस्तै अत्यधिक टाउको दुख्नु र आँखा तिमिरमिराउनु खतराका लक्षण हुन सक्छन्। ‘योनिबाट सामान्य रगत वा पानी बग्नु कतै सामान्य होइन। यो गर्भपतन, सालनाल छुट्टिएको वा महिना नपुगी बच्चा जन्मिने खतराको संकेत हुन सक्छ। त्यस्तै बच्चा कम चलेको महसुस हुनु वा गर्भको बच्चा चल्न कम हुनु भनेको बच्चा संकटमा हुनु हो,’ डा. शाह भन्छन्, ‘तल्लो पेट अत्यधिक दुख्नु वा ज्वरो आउनुजस्ता लक्षण गम्भीर संक्रमण वा इक्टोपिक प्रेग्नेन्सीको संकेत पनि हुनसक्छ।’ समयमै पहिचान भएमा उच्च रक्तचापलाई नियन्त्रण गर्न सकिने डा. शाह बताउँछन्।
मधुमेहको जोखिम
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. सुमनराज ताम्राकारका अनुसार, मधुमेहको असर गर्भावस्थाका तीनै चरणमा पर्न सक्दछ। गर्भावस्थामा गर्भ तुहिने, महिना नपुग्दै व्यथा लाग्ने, कम्पन छुट्न सक्ने, गर्भे शिशु वरिपरि पानी बढी हुने, गर्भवती महिलामा छटपटी बढ्ने, आँखाको पर्दा र मिर्गौलामा
असर पुग्ने हुन्छ।
त्यस्तै, सुत्केरी व्यथाका दौरान व्यथा लामो हुने, शिशुको टाउको जन्मे पनि काँध अड्कन सक्ने, उपकरणको मद्दतले सुत्केरी गराउनुपर्ने, स्त्री जननेन्द्रीयमा बच्चा आउने बाटोमा चोट पुग्न सक्ने, सुत्केरीपछि अधिक रक्तस्राव हुन सक्ने हुन्छ। सुत्केरीपश्चात् संक्रमण बढ्ने तथा स्तनपानमा समस्या आउन सक्ने हुन्छ। औषधि उपचार र जीवनशैलीको परिवर्तनबाट मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ। करिब ५० प्रतिशत मधुमेहले प्रभावित गर्भवतीलाई सुत्केरी बेलामा सिजेरियन अपरेसनको आवश्यकता पर्न सक्दछ।
गर्भ जाँच गराऔं
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ८ पटक गर्भ जाँच गराउन सुझाएको छ। गर्भधारण हुँदैदेखि ख्याल राख्नुपर्छ। महिना पुगेर बच्चा जन्माउन गर्भवतीले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्दछ। प्रा.डा. ताम्राकार भन्छन्, ‘अल्ट्रासाउन्ड गर्न सकियो भने गर्भ पाठेघरभित्र छ कि गर्भ बाहिर ? सग्लो खालको हो कि बिग्रेको ? एकल हो कि जुम्ल्याहा, तिम्ल्याहा ? गर्भवती उमेरको लेखाजोखा ? कतै गर्भवती महिलाको पाठेघरमै जन्मजात खराबी छ कि ? सुनिश्चितता गर्न सकिन्छ।’
कम्तीमा ८ पटक जँचाऔं
गर्भवती भएको थाहा पाएपछि गर्भवती महिलाको स्वास्थ्य स्थिति र गर्भको शिशुको वृद्धि तथा विकासको अवस्थाको जानकारी लिनुपर्छ। स्वास्थ्य संस्था वा अस्पताल गई दक्ष स्वास्थ्यकर्मीबाट नियमित कम्तीमा ८ पटक गर्भ जाँच गराउनुपर्दछ। नियमानुसार गर्भ जाँच गरेबापत यातायात खर्च ठाउँअनुसार सम्बन्धित स्वास्थ्य संस्थाबाट पाउन सकिन्छ। गर्भ जाँच गर्नका लागि सकेसम्म सधैं दम्पती नै जानुपर्दछ।
गर्भवती हुँदा उपचारका लागि पैसाको व्यवस्था र आकस्मिक अवस्थामा यातायात साधनको व्यवस्था पनि गर्नुपर्छ। सुत्केरी गराउने स्वास्थ्य संस्था वा दक्ष स्वास्थ्यकर्मीका साथै उपकरणको व्यवस्था छ÷छैन ? पूर्वजानकारी राख्नुपर्छ। यसका साथै आकस्मिक अवस्थामा रगत दिन सक्ने तीन जना मानिसको व्यवस्थाको पनि पूर्वतयारी गर्नुपर्छ।
सुनौला हजार दिनः सजग रहौं
शिशुको पहिलो साससँगै भविष्यको स्वास्थ्य यात्रा पनि सुरुवात हुन्छ। तर, त्यो यात्रा जन्मकै क्षणबाट मात्र तय हुँदैन। यसको आधार त आमाको गर्भमै निर्माण हुन थालेको हुन्छ। गर्भावस्थामा आमाले पाएको पोषण, स्वास्थ्य सेवा र हेरचाह, प्रसूति कस्तो परिस्थितिमा भयो तथा जन्मिएलगत्तै शिशुले आवश्यक उपचार, स्तनपान र स्याहार पायो कि पाएन भन्ने कुराले उसको शारीरिक, मानसिक र बौद्धिक विकासमा गहिरो प्रभाव पार्छ।
जीवनका पहिलो १ हजार दिन (गर्भधारणदेखि दुई वर्ष उमेरसम्मको अवधि) सबैभन्दा संवेदनशील चरण हो। यही अवधिमा भएका कमीकमजोरीले कुपोषण, सिकाइमा समस्या, रोग प्रतिरोधात्मक क्षमतामा कमजोरी तथा दीर्घकालीन स्वास्थ्य जटिलतासम्म निम्त्याउन सक्छन्। त्यसैले स्वस्थ आमा र सुरक्षित नवजात शिशु केवल व्यक्तिगत विषय होइन, भावी पुस्ताको स्वास्थ्य र देशको मानव विकाससँग प्रत्यक्ष जोडिएको सार्वजनिक सरोकारको विषय पनि हो।
गर्भभित्रको वातावरणदेखि जन्मपछिको पहिलो स्पर्शसम्मका अनुभवहरूले नै शिशुको जीवनको जग निर्माण गर्छन्। यही कारण नवजातको स्वास्थ्यलाई केवल जन्मपछिको उपचारसँग होइन, गर्भावस्थादेखिको समग्र हेरचाह र पोषणसँग जोडेर हेर्नुपर्ने आवश्यकता झन् बढ्दै गएको छ।
यसका लागि सुनौला हजार दिनको महŒवबारे बुझ्नु जरुरी छ। गर्भवती भएको दिनदेखि बच्चा २ वर्षको नभएसम्मको अवधि (गर्भधारणको ९ महिना अर्थात् २ सय ७० दिन र बच्चा २ वर्ष नभएसम्मको अवधि ७ सय ७० दिन) लाई सुनौला १००० दिन भनिन्छ। पहिलो २ वर्षभित्र बच्चाको दिमागको विकास ८० प्रतिशत हुने अध्ययनले देखाउँछ। यो समयावधि पोषण सुधारका लागि अति संवेदनशील र महत्वपूर्ण हुन्छ।
कस्तो हुनुपर्छ खानपान ?
गर्भावस्थामा पौष्टिक खाना र हेरचाहमा एकदमै ख्याल गर्नुपर्छ। गर्भमा रहेको शिशु आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तŒव पाएर हुर्कन्छ। गर्भधारणदेखि नै आमाले दिनहूँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ। गर्भवती स्वस्थ हुन र तन्दुरुस्त रहन प्रत्येक दिन साविकभन्दा १ पटक थप खाना खाएको सुनिश्चित गर्नुपर्छ। गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमाको स्वास्थ्य तथा जन्मने नवशिशुको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्दछ। त्यसैले गर्भवतीले आयोडिनयुक्त नुन खाएर शिशुलाई सुस्तमनस्थिति, होचोपुड्को, छाला र कपालको समस्या, गलगाँड आदि हुनबाट बचाउनुपर्दछ। रक्तअल्पताबाट बच्न स्थानीय स्तरमा पाइने खाना जस्तै टुसा उमारेको गेडागुडी, हरियो सागपात, कुरिलो, च्याउ, दूध तथा दुग्ध पदार्थ, भटमास, तेलहनलगायतका खानेकुराहरूमा जोड दिनुपर्छ। भिटामिन ‘ए’ धेरै मात्रामा पाइने खानेकुराहरू जस्तै अण्डा, कलेजो, पाकेको मेवा, फर्सी, गाँजर पनि खुवाउनुपर्दछ।
गर्भवती भएको चौथो महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दिनको एक चक्की आइरन फोलिक एसिड खानुपर्छ। आइरन फोलिक एसिड चक्की सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ। पहिलो गर्भवती जाँचमा स्वास्थ्यकर्मीसँग जुकाको औषधि (अल्बेन्डाजोल) लिनुपर्छ।
गर्भवतीले धूमपान, मद्यपान गर्नुहुँदैन। धुवाँमा बस्नु हुँदैन। खानेपानीलाई शुद्धीकरण गरेर मात्र पानी पिउनुपर्छ। पानीलाई उमालेर, क्लोरिन झोल हालेर वा फिल्टर गरेर शुद्धीकरण गरी पिउनुपर्छ।
प्रतिक्रिया दिनुहोस !