सम्पत्ति छानबिन आयोगको काम रोकिएपछि सेयर बजारमा हरियाली

सम्पत्ति छानबिन आयोगको काम रोकिएपछि सेयर बजारमा हरियाली

काठमाडौं : गत चैतमा करिब दुईतिहाइको वालेन्द्र सरकार बन्यो, सेयर बजार बढ्न सकेन। डा. स्वर्णिम वाग्लेले जेठमा बजेट घोषणा गरे, सेयर बजार उँभो लागेन। त्यसपछि, मौद्रिक नीतिको पर्खाइमा बसेका लगानीकर्ता, राष्ट्र बैंकले असारमा ल्याएपछि भने झनै निराश बने। त्यसपछि, सेयर बजारले अझै उँधो गति लियो।

असारको अन्तिम सातामा भने सेयर बजारले एकाएक उकालो यात्रा तय गरेको छ। यसैबेला सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको काम कारबाहीलाई पनि रोकेको छ। सम्पत्ति छानबिनको त्रासमा रहेका लगानीकर्तालाई राहत मिले झैं भएको छ। 

यस साता ५ दिन सेयर कारोबार भएकोमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) १ दिन घट्यो भने ४ दिनै बढ्यो। अघिल्लो साता भने सेयर बजार १ दिन बढेर ४ दिन घटेको थियो। 

अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २६००.७८ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घट्यो। त्यसदिन नेप्से ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा झ¥यो। त्यसको भोलिपल्टदेखि नेप्से लगातार ४ दिनै बढ्यो। मंगलबार ६.११ अंक, बुधबार १४ अंक र बिहीबार ७.५० अंकले बढेको थियो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार भने नेप्से उच्च अंकले बढ्यो। त्यसदिन नेप्से ७९.७४ अंकले बढेर नेप्से २६७७.५४ विन्दुमा उक्लिएकोे छ। 

सातामा चार दिनको कारोबारमा १०७.३५ अंकले बढ्ने र एक दिनको कारोबारमा ३०.६० अंकले घट्ने हुँदा नेप्सेमा ७६.७५ अंकले बढोत्तरी हुन पुग्यो। अघिल्लो साता भने नेप्से ५२.६१ अंकले घटेको थियो। यस सातामा सोमबार न्यून विन्दु २५४६.६९ मा र शुक्रबार उच्च विन्दु २६७७.६४ अंकसम्म नेप्से बढेर सेयर कारोबार भयो।

यस साता सबैभन्दा कम बुधबार ३ सय ६२ वटा कम्पनीको कारोबार भएकोमा सोमबार साताकै सबैभन्दा बढी ३ सय ८३ स्क्रिप्टहरूको कारोबार भयो। अघिल्लो साता बढीमा ३ सय ६७ स्क्रिप्टहरूको कारोबार भएको थियो। 

यस साता सबैभन्दा कम बुधबार ४ अर्ब १७ करोड ३ लाख र सबैभन्दा बढी मंगलबार ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भयो। 
साताभरिमा ५ दिनको कारोबारमा २९ अर्ब १९ करोड ४१ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो। यसबाट औसतमा दैनिक ५ अर्ब ८३ लाख ८८ हजार रुपैयाँको सेयर कारोबार भएको देखाउँछ। अघिल्लो साता औसतमा दैनिक ४ अर्ब ९३ लाख ६९ हजार रुपैयाँबराबरको मात्रै सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार २० प्रतिशतभन्दा बढिले बढेको देखाउँछ। अघिल्लो साता पनि औसत दैनिक सेयर कारोबार करिब २६ प्रतिशतले बढेको थियो। 

नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४६ खर्ब ५६ करोड रुपैयाँ छ। गत साताको अन्तिम दिन शुक्रबार बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ थियो। साताभरमा नेप्से ७६.७५ अंकले बढ्दा कुल बजार पुँजीकरण १ खर्ब ३१ अर्ब ८८ करोड रुपैयाँले बढ्न पुग्यो। अघिल्लो साता भने कुल बजार पुँजीकरण ९० अर्ब ४१ करोड रुपैयाँले घटेको थियो। 

यस साता एक–एक दिन श्रीनगर एग्रिटेक र सूर्यकुण्ड हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए। अघिल्लो साता एक–एक दिन स्नो रिभर, सानिगढ हाइड्रोपावर र कालिंगा हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका थिए। शुक्रबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर नकरात्मक सर्किट लेभलमा कारोबार भयो। 

सेयर बजारमा सूचीकृत १३ उपसमूह यस साता सबै बढे। अघिल्लो साता भने ट्रेडिङ समूहबाहेक १२ वटा घटेका थिए। 
यस साता सेन्सेटिभ इन्डेक्स १४.७८ अंक, फ्लोट इन्डेक्स ५.५१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.०९ अंकले बढेका थिए। अघिल्लो साता सेन्सेटिभ इन्डेक्स ६.२१ अंक, फ्लोट इन्डेक्स ३.४४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३० अंकले घटेका थिए।

एभरेस्ट कलरको आईपीओ सूचीकृत
नेप्सेमा एभरेस्ट कलरको आईपीओ असार ३२ गते सूचीकृत भएको छ। कम्पनीमा सर्वसाधारणको ७ लाख ९० हजार र संस्थापकको २२ लाख १० हजार कित्ता सेयर गरी ३० लाख कित्ता सेयर सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज दिएकोमा शुक्रबार २९६.६० रुपैयाँबाट कारोबार सुरु भएको थियो। त्यसदिन ५ वटा कारोबारबाट ३२३.९० रुपैयाँप्रति सेयर मूल्य पुगेको छ। 

सेयर धितो कर्जामा नयाँ व्यवस्था
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी विद्यमान व्यवस्था परिमार्जन गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन २०८२ मा संशोधन गरेको हो।

नयाँ व्यवस्थाअनुसार सूचीकृत कम्पनीहरूको सबलता मूल्यांकन गरी बैंकहरूले प्रदान गर्ने कर्जाको सीमामा थप १० प्रतिशत विन्दुसम्म थप हुने भएको छ। हाल कुनै कम्पनीको सेयरमा ७० प्रतिशत कर्जा पाइएको छ भने, सबलता मूल्यांकनमा उत्कृष्ट देखिएमा ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ। 

पुँजीबजार सुधारमा सेबोन
सेवोनले पुँजीबजारको विकास र विस्तारका लागि नयाँ रणनीति अघि सारेको छ। सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेप्से र सिडिएस एन्ड क्लिरिङ लि. (सिडिएससी) लाई बजार सुधारका कामलाई तीव्रता दिन निर्देशन दिइएका हुन्।

सेबोनले नेपालको ‘पुँजी बजार विकास मार्गचित्र, २०८३’ र आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पुँजी बजारमा नयाँ उपकरणहरूको प्रवेश र सेवा विविधीकरणलाई मुख्य प्राथमिकतामा राखेको छ। 
यसैगरी, नेपाली सेयर बजारमा माग गरिएको सर्ट सेलिङ सेवा सञ्चालनका लागि बोर्डले विशेष चासो देखाएको छ।

सेयर बजारबाट उठ्ने पुँजीगत लाभकर घट्यो
सेयर बजारबाट राज्यले पाउने लाभकर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३७.४२ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारबाट राज्यले १६ अर्ब ५४ करोड ३७ लाख १ हजार पुँजीगत लाभकर पाएकोमा आव २०८२/८३ मा १० अर्ब ३५ करोड १६ लाख ९ हजार रुपैयाँ मात्रै पाएको छ।

सेयर बजार घट्दा पुँजीगत लाभकर कम उठ्छ भने बजार बढ्दा बढी उठ्ने गर्छ।

साउन १ देखि सेयर बिक्रीमा बढ्यो पुँजीगत लाभकर 
साउन १ देखि नयाँ आर्थिक वर्ष आव २०८३/८४ सुरु भएसँगै सेयर बिक्रीमा पुँजीगत लाभकर बढेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सेयर बजारमा लाग्दै आएको कर बढाएको हो।

नयाँ करका दरअनुसार दीर्घकालीन (एक वर्षपछि बिक्री) सेयर कारोबारमा ७.५ प्रतिशत र अल्पकालीन (एक वर्षभित्रैमा) कारोबारमा १० प्रतिशत कर तिर्नुपर्ने छ। यसअघि दीर्घकालीन कारोबारमा ५ प्रतिशत र अल्पकालीन कारोबारमा ७.५ प्रतिशत मात्रै लाभकर लाग्दै आएको थियो। बजेटमा यो करलाई अन्तिम लाभकर मानिने जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.