ब्याटिङ गर्न बिर्सिएको नेपाल

ब्याटिङ गर्न बिर्सिएको नेपाल

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृंखलामा नेपालले लगातार ब्याटिङमा समस्या भोगेको छ। कमजोर ब्याटिङकै कारण नेपालले शृंखलाका चारमध्ये तीन खेल गुमाइसकेको छ। खराब ब्याटिङकै कारण शृंखलाको पहिलो खेलमा नामिबियासँग आठ विकेटको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग पनि ब्याटिङकै कारण ६ विकेटको पराजय बेहोरेको थियो।  

यसैगरी सोमबार भएको नामिबियासँगको खेलमा पनि नेपाल ब्याटिङकै कारण तीन रनले पराजित हुन पुग्यो। नामिबियाले दिएको दुई सय १२ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ब्याटिङमा संघर्ष गर्दै पूरै ५० ओभर खेले पनि ६ विकेट गुमाएर दुई सय आठ रन मात्रै बनाउन सक्यो। नेपालका आसिफ शेखले ४५, कप्तान रोहित पौडेलले ४१, आरिफ शेखले ३८, कुशल भुर्तेलले ३४, गुलसन झाले १९ र इशान पाण्डेले १४ रन जोडेका थिए। ललितनारायण राजवंशीको स्थानमा मौका पाएका भीम सार्की एक र दीपेन्द्रसिंह ऐरी तीन रनमा पेभेलियन फर्किएका थिए। नामिबियाका ज्याक ब्रसेलले तीन विकेट लिए। यस्तै रुबेन ट्रम्पलम्यानले दुई विकेट हात पारेका थिए।

यसअघि नेदरल्यान्ड्सको उट्रेचमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ११ रन बनाएको थियो। नामिबियाका जान फ्रायलिंकले शतकीय पालि खेलेका थिए। उनले एक सय ४९ बलमा तीन चौकाको सहयोगमा एक सय रन बनाए। यस्तै लाउरेन स्टिनकाम्पले ५९ रनको अर्धशतकीय पालि खेलेका थिए। मालन क्रुगरले १५ र जान निकोल लफ्टी इटनले १० रन थपेका थिए। नेपालका करण केसीले पाँच विकेट लिए। सोमपाल कामीले एक विकेट हात पारे। नेपालले शृंखलाको अन्तिम खेलमा बुधबार घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्नेछ।

आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल छैटौं स्थानमा झरेको छ। नेपालले ३१ खेलमा २४ अंक जोडेको छ। ३२ खेलमा ४३ अंक जोडेको अमेरिका तालिकाको पहिलो स्थानमा छ। ३२ खेलमै ३८ अंक जोडेको स्कटल्यान्ड दोस्रो, ३० खेलमा ३६ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो, २८ खेलमा ३१ अंक बनाएको ओमान चौथो, ३१ खेलमा २६ अंक हात पारेको नामिबिया पाँचौं, २८ खेलमा २४ अंक बटुलेको क्यानडा सातौं र २४ खेलमा १४ अंक बटुलेको संयुक्त अरब इमिरेट्स (यूएई) आठौं स्थानमा छन्।

करणको १०० विकेटको कोशेढुंगा 

नेपालका मध्यम गतिका बलर करण केसीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेटको कोशेढुंगा पूरा गरेका छन्। नेदरल्यान्ड्समा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेलमा दुई विकेट लिएपछि करणले एक सय विकेटको कोशेढुंगा पूरा गरेका हुन्। करणले ७२ एकदिवसीय खेलमा एक सय तीन विकेट लिइसकेका छन्।

उनी नेपालबाट एकदिवसीय क्रिकेटमा एक सय विकेट लिने दोस्रो खेलाडी बनेका छन्। यसअघि लेग स्पिनर सन्दीप लामिछानेले यो उपलब्धी हासिल गरिसकेका छन्। नामिबियासँगको खेलमा करियरकै उत्कृष्ट बलिङ गर्दै करणले पाँच विकेटसमेत लिएका थिए। उनले १० ओभरमा दुई मेडन राख्दै २९ रन खर्चिएर पाँच विकेट लिएका थिए। करणले यस खेलमा अर्को उपलब्धीसमेत हासिल गरेका थिए। उनी नेपालका लागि एकदिवसीयमा धेरै पटक पाँच विकेट लिने खेलाडी पनि बनेका छन्। उनले चार पटक पाँच विकेट लिएका छन्। यसअघि करण र सन्दीपले तीन÷तीन पटक पाँच विकेट लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.