बालश्रम उन्मूलन ९५ प्रतिशतको चाहना
काठमाडौं: आफूभन्दा ठूलो टायरको पन्चर टाल्न व्यस्त देखिन्छन् सुरेन्द्र यादव (नाम परिवर्तन)। दस वर्षमात्रै पुगेका सुरेन्द्र सर्लाहीबाट काठमाडांै आएपछि सातदोबाटोस्थित आफन्तको मोटरसाइकल वर्कसपमा काम गर्दै आएका छन्।
दस वर्ष पुगिसक्दासम्म एक अक्षर नपढेका यादवको दिन वर्कसपमै बित्ने गरेको छ। उनी परिवारका नौजना सन्तानपछिका एकमात्र जीवित सन्तान हुन्। घरको आर्थिक अवस्था नाजुक भएपछि उनी काठमाडौं आएका हुन्।
चर्को घाम होस् या दर्केपानीमा रविन (नाम परिवर्तन) लाई जसरी पनि यात्रु बटुल्नुपर्छ। उनी चक्रपथमा चल्ने माइक्रोबसमा खलासी हुन्। जिङरिङ परेको कपाल, मैलो लुगा लगाएर बसको ढोकामा झुन्डिँदै यात्रु बोलाउने बानी परेको छ उनलाई।
दस, एघार वर्षकाजस्ता देखिने रविन आफ्नो वास्तविक उमेर भन्दैनन्। तर निकै चलाखदेखिने उनी हिसाब गर्न भने सिपालु छन्।सुरेन्द्र, रविन त प्रतिनिधि पात्रमात्रै हुन्।
आज विश्वभरि बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा उनीहरूजस्ता थुप्रै बालबालिका अझै पनि विभिन्न किसिमका बाल श्रममा लाग्न बाध्य भएका छन्। अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १८२ लाई अनुमोदन गरेको अवसरमा १२ जुनमा संसारभरि यो दिवस धूमधामका साथ मनाइने गरिन्छ।
विगत १४ वर्षदेखि यसरी नै दिवस मनाइए तापनि थुप्रै बालबालिका श्रमिक बन्न बाध्य भएका यथार्थ पनि त्यत्तिकै छ।यस वर्षको मूल नारा 'उत्पादन तथा आपूर्ति शृंखलामा बाल श्रमको अन्त्य गरौं, यो हामी सबैको सरोकार हो' भन्ने रहेको छ।
नेपालको संविधान २०७२ ले पनि बाल श्रमलाई संवैधानिक रूपमा निषेधित गरिसकेको छ। तर पनि अझै प्रशस्त संख्यामा बाल श्रमिकहरू भेटिने गरेको पाइन्छ।
विशेषगरी घरेलु बाल श्रमिकको क्षेत्रमा काम गर्दै आएको सिविसले गरेको एक सर्वेक्षणअनुसार प्रत्येक २० घरधुरीमा एकजना बाल श्रमिक रहेको पाइन्छ। यसैलाई अनुमान गर्दा काठमाडौंमा मात्रै बाह्र हजार दुई सय ६५ घरेलु बाल श्रमिक रहेको सिविसका अध्यक्ष विमला ज्ञवाली बताउँछिन्।
सिविसले यही वर्ष काठमाडौंका चार हजार ८६ वटा घरधुरीमा गरेको सर्वेक्षणमा पाँच सय २० जना घरेलु श्रमिक भेटिएमध्ये ३४ प्रतिशत १८ वर्षभन्दा कम उमेरका रहेको पाइयो। प्रत्येक २० घरधुरीमा एकजना घरेलु बाल श्रमिक रहेको पनि अध्ययन देखाएको छ।
लैंगिक अनुपातमा पनि घरेलु श्रमिकमध्ये ६२ प्रतिशत बालिका र ३८ प्रतिशत बालक रहेको शुक्रबार सिविसले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
विशेषगरी काठमाडौं वरिपरिका जिल्ला धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप र मकवानपुरबाट बाल श्रमिकहरू भित्रिएका छन्।
घरेलु श्रमिकमध्ये आधाभन्दा धेरै ५१ प्रतिशत बाल श्रमिकले काम गरे पनि पारी श्रमिक नपाउने अध्ययनले जनाएको छ। अहिलेको नयाँ परिस्थितिअनुसार ८९ प्रतिशत बाल श्रमिकहरू विद्यालय जाने गरेको नयाँ उपलब्धि देखिएको छ।
जसमध्ये ४७ प्रतिशत बालबालिका आफ्नै घर फर्किन चाहन्छन्। तर पढाइ, आर्थिक अभाव, घरेलु हिंसा आदिका कारण ५३ प्रतिशत बालबालिका घर फर्केर जान नचाहेको सर्वेक्षणले देखाएको छ।
५९ प्रतिशत बाल श्रमिकले बालअधिकारको बारेमा केही मात्रामा जानकारी भएको बताएका छन् र, ९५ प्रतिशत बाल श्रमिक बाल श्रम उन्मूलन हुनुपर्छ भन्ने धारणा राख्छन्।
अझै पनि संसारभरि १६ करोड ८० लाख बालबालिका श्रममा संलग्न भएको अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको तथ्यांकले देखाएको छ। त्यसमध्ये आठ करोड ४० लाख बालबालिका जोखिमपूर्ण श्रममा लागेका छन्।
बाल श्रमिकको कुरा गर्दा दक्षिण एसियाली मुलुकमध्ये भारत, बंगलादेश र पाकिस्तानपछि नेपाल पर्छ। नेपालका ३० प्रतिशत बालबालिका जोखिमयुक्त श्रममा लागेका छन्।