प्रतिकुल मौसमले घाइतेको उद्धार भएन

प्रतिकुल मौसमले घाइतेको उद्धार भएन

मुगुः मंगलबार राति मुगु गाविसको यार्सा पाईने हिमाली पाटन क्षेत्र छु गोल्डुङ्गमा हतियारसहितको लुटेराको समुहले आक्रमण गर्दा घाइते भएका यार्सा संकलकको उद्धारमा गएको हेलिकप्टर प्रतिकुल मौसमका कारण उद्धार गर्न नसकी फर्किएको छ ।

मुगु गाविसबाट नौ घण्टा टाढा रहेको पुर्वी उत्तर क्षेत्रमा डाँकाहरुले मंगलबार राति ११:३० बजे संकलकहरुकापालमा गएर लुटपाट मच्चाएपछि संकलकहरुले प्रतिकार गर्न खोज्दा डाँका समुहले गोली चलाउँदा मुगु जिल्ला माँग्री गाविस–५ निवासी बर्ष २४ का कार्मा आँग्याल लामाको मृत्यु भएको थियो ।

सोही क्रममा घाइते भएका माँग्री गाविस– ५ का २४ वर्षका कार्मा तार्के लामा, २८ वर्षका पेमा नोर्बु लामा र २४ वर्षका कार्मा नोरगेल लामालाई हुम्लाबाट आएको सिम्रिक एयरको हेलिकप्टरले उद्धार गर्न खोजे पनि घटनास्थलमा हिमपात भएकाले उद्धार कार्य असफल भएको हो ।

आक्रमणमा भागदौड मच्चिँदा दर्जनौ संकलकलाई चोट पटक लागेको बताइएको छ । घाइतेमध्ये कार्माको पाखुरा र तिघ्रामा गम्भीर चोट लागेको छ भने पेमाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

डाँकाको गोलीबाट मृत्यु भएका आँग्यालको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुका डाक्टर रत्न सुनार हेलिकप्टरमै घटनास्थल गएपनि प्रतिकुल मौसमका कारण हेलिकप्टरसँगै सदरमुकाम गमगढी फर्किएका छन ।

गृहमन्त्रलायको आग्रहमा गोली लागेर घाइतेको उद्धार गर्न सिम्रिक एयरको हेलिकोप्टरलाई बिहीबार अपरान्ह मुगु पठाइएको सिम्रिक एयरका प्रबन्ध प्रमुख दिलबहादुर ओलीले जानकारी दिए ।

विहीबार बेलुकी पाँच बजे घटनास्थलतर्फ उद्धारका लागि पठाइएको सिम्रिक एयरको हेलिकोप्टर सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा बेस क्याम्प रहेको ठुलो कोइकी भन्ने स्थानमा पुगे पनि त्यो भन्दा माथि हिमपात भइरहेकाले हेलिकप्टर घटनास्थल जान नसकी फर्किएको मुगुका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद शर्माले जानकारी दिए ।

फर्किएको हेलिकोप्टर विहीबार साँझ नै हुम्लाको सिमिकोट गएको र शुक्रवार विहान पुनः उद्धारका लागि घटना स्थलतर्फ पठाइने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

लुटेरा हरुले यार्सा संकलकबाट कति परिमाणमा यार्सा र रकम लुटे भन्ने तथ्याङ्क आउन सकेको छैन । हिमालमा नेपाल प्रहरीको सञ्चार उपकरणले काम गर्न नसकेपछि जिल्लासँग सञ्चार सम्बन्ध जोड्न कठिनाई उत्पन्न भएको छ ।

सञ्चार सम्पर्क हुननसके पछि हिमालमा खटिएको सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बल त्रिपुरा गण कोहलपुरमा सञ्चार सम्पर्क गरी कोहलपुरले जिल्ला प्रहरी कार्यालय मुगुलाई सूचना दिने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सोमबहादुर थापाले जानकारी दिए ।

यसअघि २०७१ सालमा यार्सा खरिद गर्न आएका व्यापारीबाट हतियारधारी लुटेरा समुहले मुगु गाविसकै हिमाली क्षेत्र थाङ्गच्यामा तिब्बतमा यार्सा बेचेर नेपाल फर्कँदै गरेका व्यपारीहरुबाट ७५ लाख नगद लुटपाट गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.