पदमोहमा माओवादी

पदमोहमा माओवादी

–लुइटेल दिनेश

जुन दिन कक्षा ७ बाट मेरो संस्कृत किताब केही युवाले खोसेर लगे त्यो दिन मैले नजिकबाट माओवादी देखेँ।

त्यसअघि माओवादी शब्द सुने पनि त्यसको रूप देखेको थिइनँ । माओवादीबारे भने धेरै सुनेको थिएँ । अपहरण गर्छन् । बन्दुक बोक्न लगाउँछन् । भिडन्तमा सामेल गर्छन् । दिनभर जंगल, ओढार र बंकरमा राखेर रातभर हिँडाउँछन् भन्ने व्याख्या सुनेको थिएँ । यी नकारात्मक कुराले माओवादी शब्दप्रति नै म त्रसित थिएँ ।

स्कुल जाँदा र घर फर्कँदा नौलो युवा देख्यो कि माओवादी जस्तो लाग्थ्यो । हामी सबै डराएर बाटो छोड्थ्यौँ । भरे, गाउँमा पाहुना आएको मान्छे भनेर थाहा पाएपछि हामी मजाले हाँस्थ्यौँ ।

कक्षा ७ पढ्दा संस्कृत किताब लाग्ने माओवादीका साथीले कक्षा ९ पढ्दा मलाई नै लगे । ९ र १० कक्षामा पढ्ने ठूलाठूला विद्यार्थी छान्ने क्रममा म पनि परेँ ।

मलाई माओवादीले लग्ने भएपछि सँगै पढ्ने एक मिल्ने साथीले म पनि जान्छु भने । ‘तिमीलाई हिँड्न गाह्रो हुन्छ यो पटक जानु पर्दैन', एक माओवादीले मेरो साथीलाई रोके ।

त्यत्तिबेलासम्म म डरले कापिराखेको थिएँ । तर, उमेरले पनि भाइ पर्ने र हेर्दा पनि सानो साथीलाई जानु पर्दैन भनेपछि मुटुको धड्कन अलि सामान्य भयो ।

मनमा लाग्यो, ‘माओवादीले पनि माया गर्ने रहेछन् ।' त्यत्तिबेलासम्म मलाई माओवादीले माया गर्छन् भन्ने कुरा कसैले सुनाएका थिएनन् ।

गाउँका गन्यमान्यलाई अपहरण गर्ने, पैसा माग्ने, पिट्ने, सुराकी गरिस् भनेर मानसिक यातना दिने, भोकभोकै राख्ने हप्तांैसम्म जंगलमा हिँडाउने गरेका घटनामात्र मैले सुनेको थिएँ ।

स्कुलबाट दुई घन्टाको जंगलैजंगलको बाटो हिँड्नु प¥यो । बाटाभरि हामीलाई लग्ने माओवादीले बन्दुक, बारुद, बम, पुलिस, सुराकी, शत्रु र गाउँका धनीमानीका कुरा गरे । सुराकी गरे नछोड्ने धम्कीसमेत दिए ।

दुई घन्टा हिँडेर हामी एउटा घरमा पुग्दा माओवादीको विद्यार्थी प्रशिक्षण कार्यक्रम रहेछ । चार घन्टासम्म लगातार माओवादीको भाषण सुन्यौँ । भाषणमा ‘नेपाललाई भार जस्तै गणतन्त्र बनाउने र राजा हटाएर जनताको छोरालाई राष्ट्रपति बनाउने', भनेको कुरा धेरै पटक सुनेँ ।

भाषण गर्ने सबै नेताले एउटा कुरा भन्न छुटाएनन्, ‘हामी जीवन त्याग गरेर देश परिवर्तनमा हिँडेका छौँ ।'

यो वाक्यले मेरो किशोर मस्तिष्कमा एउटा प्रश्न उठाएको थियो, ‘माओवादीहरू आमा, बुबा घर सबै छोडेर कसरी हिँडेका होलान् ? '

अहिले त्यो बेला भाषण गर्ने माओवादी नेता छन् वा सहिद भए थाहा छैन । त्यहाँ को नेता थिए त्यो पनि सम्झना भएन । माओवादीसँग डराए पनि मलाई त्यो बेला माओवादीको त्याग मन परेको थियो ।

तर, त्यो मेरो किशोर मस्तिष्कमा मैले माओवादीको त्यागप्रति गरेको सम्मान आज भत्किएको छ । मेरो सम्मानलाई आज ११ सय लोभी माओवादीले कप्लक्कै खाइदिएका छन् ।

लोभी माओवादी सहिद भएनछन् ?

माओवादी पोलिटब्युरो बैठक चल्दाचल्दै हिमाल शर्मालाई फोन गरेँ र समाचार टिपेँ । शीर्षक यस्तो भयो, ‘माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य एक हजार ९९ ।'

केहीबेरमा बैठकको निर्णय आयो, ‘एक हजार ९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय' समाचार लेख्दालेख्दै

लाग्यो, मैले ९ कक्षा पढ्दा त्यागको भाषण गर्ने माओवादी सबै सहिद भएछन् । त्यागको भाषण गर्ने माओवादीमात्र सहिद नभए जम्बो केन्द्रीय सदस्यको फोहोरी टीका किन लाउँदैछन् ? बम र बन्दुकका अगाडि माओवादी आदर्श नछोड्ने नेता किन केन्द्रीय सदस्यको नाममा बदनाम हुँदैछन् ? इमानदार माओवादीले पद्धतिको विकास नहुँदासम्म केन्द्रीय सदस्य नबन्दा के बिग्रिन्छ ?

केही नेताबाहेक माओवादीका अधिकांश नेतालाई सत्ताको स्वाद अझैसम्म आकाशको फल नै हो । कांग्रेस र एमाले नेताले जत्तिकै सत्ताको स्वाद थाहा पाउन माओवादीलाई अझै ३० वर्ष लाग्छ । तर, सत्तामोह माओवादीभित्र डरलाग्दो बन्दै गएको छ । यसले कसैको हित गर्दैन ।

नेताको हैसियत जनताका घरमा पानी पिउँदा र बास बस्दा होइन सिंहदरबार र बालुवाटार प्रवेश गरेपछि मात्र देखिन्छ । सिंहदरबार छिरेका माओवादी मन्त्रीले आज जनयुद्धका सपना बिर्सिएका छन् । नर्बिसिएको भए एमाले र माओवादी मन्त्रीबीचको फरक के त ? ठोकुवाका साथ भन्छु, राप्रपाका मन्त्री र माओवादीका मन्त्रीबीच एउटा पनि फरक छैन ।

मेरो किशोर मस्तिष्कमा मैले माओवादीको त्यागप्रति गरेको सम्मान आज भत्किएको छ । मेरो सम्मानलाई आज ११ सय लोभी माओवादीले कप्लक्कै खाइदिएका छन् ।

माओवादी नेताले बुझ्नैपर्छ, जग भत्कायो भने घर कहिल्यै ठाडो हुँदैन । जंगलमा बसेर देश बनाउन बुनेका योजना माओवादीका मन्त्रीले आज सिंहदरबारभित्रको पिच रोडमा टायरले पेल्ने होइन टेबलमा फाइल गर्नसक्नुपर्छ ।

प्रचण्डले दाहिने हात नेतालाई मन्त्री बनाएर सुविधासम्पन्न महलको भाडा तिर्ने पैसा असुल्नेमात्र होइन, जनताका पीडा बुझ्न सक्नुपर्छ । जनयुद्धमा एक घर एक लडाकु भनेजस्तो अब एक घर एक केन्द्रीय सदस्यको योजनाले काम गर्दैन । जम्बो केन्द्रीय सदस्यको संस्कार विकास भए १० माओवादी एक भएको एक वर्ष नपुग्दै एकता इतिहास बन्न सक्छ ।

लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने माओवादीले अब लोकतान्त्रिक प्रक्रियाबाट नेता चुन्न थाल्नुपर्छ । नेतृत्व चयनका लागि चुनाव नभएसम्म माओवादीभित्र नयाँ नेता जन्मन सक्दैन । संख्या बढाउन मात्र एकतामा नगएका भए रामबहादुर थापा ‘बादल', देव गुरुङ, पम्फा भुसाल, मणि थापाले केन्द्रीय सदस्य नभई नेतृत्वमा पुग्ने नयाँ बाटो खोज्नुपर्छ ।

नेतृत्व लिने बाटोमा जनयुद्धमा राज्यपक्षबाट लामो समय यातना पाएका हिमाल शर्माजस्ता युवा नेताले समेत कुरेर बस्ने समय छैन । प्रचण्ड र बाबुरामको राजनीति भाषणमा सिद्धियो अबको नेतृत्वले देश विकास गरेर देखाउन सक्नुपर्छ अनिमात्र माओवादीलाई जनताले विश्वास गर्छन् ।

अन्तर्राष्ट्रिय अभ्यास

भारतीय जनता पार्टी (भाजपा) विश्वकै सबैभन्दा ठूलो पार्टी हो । भाजपामा नेपालका राजनीतिक दलमा जस्तो केन्द्रीय सदस्य छैनन् । उसको लोकसभा सदस्य दुई सय ८१ मात्र छन् । यसका साधारण सदस्य भने एक सय १० मिलियन (जुलाई २०१५) छन् । भाजपाका अध्यक्ष अमित साह हुन् । अमितभन्दा पनि यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भनेर चिनिन्छ ।

हिन्दु धर्मको पार्टी भनेर चिनिएको भाजपा स्थापना भएको ३५ वर्षमा विश्वकै ठूलो पार्टी बनेको हो । यो सन् १९८० मा स्थापना भएको हो । भाजपाको संसदीय दल र राज्य सभाको नेता मोदी नै हुन् । संघीय गणतन्त्र भारतका ४९ राज्यमा भाजपाले राज्यसभा सदस्य भनेर एकएक जना निर्वाचित गर्ने गर्छ ।

चिनियाँ कम्युनिस्ट पार्टी विश्वको दोस्रो ठूलो पार्टी हो । यसले समेत केन्द्रीय सदस्य नभनेर नेसनल कंग्रेस भन्ने गर्छ । नेसनल कंग्रेस सदस्य दुई सय पाँच जनामात्र छन् । वैकल्पिक सदस्यको संख्या भने एक सय ७१ छ । पार्टी सदस्य संख्या भने ८७.७९ मिलियन (२०१५) छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रिय कांग्रेसको निर्वाचन प्रत्येक पाँच वर्षमा गर्छ । चिनियाँ कम्युनिस्ट पार्टी र नेपालको माओवादीको स्थापना समान शैलीले भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले १० वर्ष गरेको जनयुद्धपछि नै जनवादी गणतन्त्र चीनको स्थापना भएको हो । यसको स्थापना सन् १ जुलाई १९२१ मा भएको हो । यसको स्थायी समिति सातजनाको मात्र छ । यसका महासचिव सी जिङपिङ हुन् ।

सँगै, विश्वमा धेरै चर्चा पाउने धेरै नेपालीको सपनाको देश हो अमेरिका । त्यहाँको सत्ताधारी डेमोक्रेटिक पार्टीका साधारण सदस्य संख्या ४३.१ मिलियन छन् । बराक ओबामा राष्ट्रपति भए पनि डेमोक्रेटिक पार्टीका अध्यक्ष डेबिड वासरम्यान स्कुल्ज हुन् । यसको केन्द्रीय समितिसमेत जम्बो छैन् । विश्वका शक्ति सम्पन्न राष्ट्रका यस्ता उदाहरणबाट पनि माओवादीले पाठ सिक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.