कमलीको क्रिस्टिना संसार

कमलीको क्रिस्टिना संसार

पहेँला पातहरू झरे।
धेरै पहेँला पातहरू झर्न अझै बाँकी छन्।
हरिया पात पलाएका छैनन्।
पलाउन बाँकी छन्।

ऊ कहाँ जन्मियो कसैलाई थाहा छैन।
ऊ कहाँ जन्मियो उसैलाई थाहा छैन।

खसजस्तो नाक चुच्चो छ। मंगोलजस्तो आँखा टोप्रिएका छन्। अस्ट्रिकजस्तो छालाको रोगन बाक्लो कालो छ। ककेसियनजस्तो खैरो र पातलो केश छ। जीउडाल अग्लो पनि हैन, होचो पनि होइन सर्वजातीय खालको छ। अर्थात्, नेपालीजस्तो छ।

'पहिचानवादी'हरूमा भयंकर तँछाडमँछाड चलेको छ-'यो मेरो हो। यो मेरो हो। यो मेरो हो।'
पहिचानवादीहरूमा हानाहान, कुटाकुट, गोदागोद चल्दैछ। यसलाई अझ राम्रोसित चलाउन नेता भनाउँदा व्यक्तिस्वार्थ र समुदाय स्वार्थ बोकेकाहरूले 'खुल्ला बोर्डर'मार्फत हतयिार सप्लाई गर्दैछन्।

ऊ 'कसैको होइन म' भन्दैछ।
सबै पहिचान कायम गर्न 'मेरो-मेरो-मेरो' भन्दैछन्।

ठीक यसैबेला गल्लीको एउटा कुकुरले उसलाई चिनेर, उसको 'पहिचान' होइन 'चिनारी' कायम गर्दै जोडतोडले कुटाकुट गरिरहेका 'पहिचानवादी' विरुद्ध, भुक्न थाल्छ।

उसबाहेक भुकेको कसैले बुझ्दैनन्।
अचेल पशुले भुकेको कसैकसैले बुझ्छन्।
मान्छेले बोलेको नेतासम्मको बुझ्दैनन्।

कुटाकुट गर्ने सबैथरीका 'पहिचानवादी'हरू एकमत भएर उसैलाई भकुर्न थाल्छन् र अन्ततः श्राप दिएझैं मुक्त गर्दै भन्छन्- 'जा साला तँ नेपालवादी होस् !'
ऊ हर्षविभोर हुँदै कुकुरसँगै भाग्यो।

'धन्य, साला भए पनि, नेपालवादी भए पनि, ज्यान चैं जोगियो !'
पहिचानवादीहरूको घैंटोमा बल्ल अलिकति घाम लागेर हो कि....!
नेपालवादी मुक्त भयो।
नेपाल पुग्यो कि कहाँ पुग्यो पछि थाहा होला।
पछि भनेको भविष्य हो।
...
ऊ कहाँ जन्मिई कसैलाई थाहा छैन।
ऊ कहाँ जन्मिई उसैलाई थाहा छैन।

खसजस्तो चुच्चे नाक टुपुक्क परेको छ। ठूला डल्ला आँखा टोप्राको ढाकिएका छन्। आस्ट्रिकजस्ता केश र आँखामा नानी निख्खर काला छन्। छालाको रोगन मंगोलजस्तो मीठो पहेंलो र ककेशियनजस्तो उज्यालो सेतोमा हिमाली गुलाफी रङ मिसिएको छ। जीउडाल नेपालजस्तो र नेपालजत्रै छ।

यस्तै नेपाली जीउडाल र रूपरंग भएकाहरू कहाँ जन्मिए कसैलाई थाहा छैन।
यस्तै नेपाली जीउडाल र रूपरंग भएकाहरू कहाँ जन्मिए उनीहरूलाई समेत थाहा छैन।

यिनीहरूका दलाललाई थाहा छ, यी रण्डी हुनका लागि आमा 'गरिबी'को काखमा जन्मिएका हुन् -हिमाल तल, विशाल वेश्या-बजारमाथि।
यिनीहरूकै धार्मिक दलाललाई थाहा छ, यी धर्मपरिवर्तन गरिनका लागि आमा 'गरिबी'को काखमा जन्मिएका हुन्-हिमाल तल, विशाल धार्मिक-बजार युरोप र अमेरिकामाथि।

उसको धर्म परिवर्तन हुन सकेन। अतः ऊ नेपालमा गरिब छे। नेपाल परिवर्तित भइसक्यो। रेमिट्यान्सले चल्ने आधुनिक गणतान्त्रिक देश भएको छ। त्यसैको 'बिनाबी' सहरमा ऊ पनि आधुनिक भएर आइपुगेकी छे-प्राचीन सासु÷ससुरालाई संयुक्त परिवारको ऐतिहासिक गाउँमा छोडेर।

अत्याधुनिक गणतान्त्रिक लोग्ने पनि यसै 'बिनाबी' सहरमा, 'हिरोइन'को खोजीमा, यतै कतै छ। कि 'मरुभूमि' पुगिसक्यो? थाहा छैन।हाम्री कमली यो 'बिनाबी' सहरमा लोग्नेकी 'हिरोइन' हुन र एकल परिवारको एकलकाँटे मोजमज्जा प्राप्त गर्न लोग्नेले छोडेको ६ वर्षे छोरो बोकेर आइपुगेकी छे।

'मरुभूमि' पुग्ने उसको आर्थिक सामर्थ्य छैन।
'बिनाबी' सहरमा दुई वर्ष बिते।
क्रिस्टी ! अर्थात्, कमली !
क्रिस्टिना ! अर्थात्, कमलादेवी !

क्रिस्टी श्यामल तर आकर्षक छे। भरिलो जीउडाल, मोहक मुस्कान, चोटिलो अभिनय र रसिलो वार्तालापले गर्दा उसलाई एकपटक भेटेपछि बिर्सने विरलै होलान्। जीउडाल भरिलो भएपछि प्रत्येक अंग भरिलो हुने भइहाले।

विशेषतः छातीको अग्लाइले रेमिट्यान्से 'बिनाबी' राष्ट्रका राष्ट्रवादीहरूलाई आफ्नै सगरमाथाजस्तो लाग्थ्यो भने पत्रकारिताका विद्धानहरूलाई बौद्धिक शिखरजस्तो लाग्थ्यो। अनि त्यसमा भेषभूषाको कलात्मकता थप भएपछि त भुतुक्कै पार्ने।

आधुनिक लोकगीतकी गायिका÷नायिका र नत्यांगनाको जस्तो प्यान्टी नै देखिने छोटो फ्रक र फ्रक तल देखिने श्यामल साँप्रालाई कसैले पनि टोल्हाएर हेरिरहन बाध्य हुन्छ।

वस्तुतः कमली अमेरिका, बेलायत पुगेर, डायस्पोराको बोरा ओढेर क्रिस्टी भएकी होइन। नेपालकी नै हो। पूर्वतिरकी हो। पूर्व भन्नाले आसामसम्म बुझे हुन्छ। इन्डिया त ब्रिटिसले बनाइदिएको हो। तपाईं हामीलाई क्रिस्टी भए पुगिहाल्यो नि।

उसले उसलाई पहिलोपटक भेट्दा पहिला उसको छातीतिर हेर्‍यो, अनि सुडौल साँप्राहरूतिर हेर्‍ यो। झण्डै नचिप्लिएको। आफूलाई सम्हाल्न खोज्दाखोज्दै पनि उसले उसलाई 'हेलो' भनीहाली।

'तिम्रा यी कलेजी रङका गालामा दाहिनेतिर बसेको कोठी गाजले हो?' 'थ्याङ्कू सर, गाजले होइन।' उसले गाउँले कक्षा आठको भाकामा भन्दै उसको मोटरबाइकतिर हेरी।

'वेल, कतै जानुछ ?'
'लानु हुन्छ भने, तपाईंतिरै जानुछ। अँ, तपाईंको स्पिड कति हो ? ' बिजुली चम्केझैं हाँसी। देब्रतिर एउटा दाँत खप्टिएको रहेछ।
'घर पुर्‍याएपछि थाहा पाउली।'

'मेरो घर तपाईंकै घर हो।'क्रिस्टीले भनी।
उसले एकछिन गम खायो। अनि कुरा बुझेर उमंगसाथ भन्यो-
'आज मेरो घर छैन।'
'हाऊ फाइन, उसो भए आज मेरो घर अर्थात् तपाईंकै घरमा जाउँ न।'
'ओके, डार्लिङ !'

अनि क्रिस्टी मोटरबाइकमा उसको पछाडि ढेप्पिएर बसी। सस्तो खाले कस्मेटिकको गन्ध पनि उसलाई मीठो लाग्यो। उसले देखाएको बाटोमा जाँदा उसलाई अर्कै संसारमा पुगेजस्तो लाग्यो। असंख्य गल्ली, गल्छेडा हुँदै हामी एउटा भैंचालोले ढल्न बाँकी थोत्रो÷पुरानो घरमा पुग्यौं।

'भाडाको हो ? ' उसले कुरा बुझेर भन्यो।
'म पनि भाडाकी हुँ।' उसले ओर्लिंदै भनी।
'ठट्टा गर्न सिपालु रहिछौ।'

 

'हेर्नुस् न, यहाँसम्म कार आउँदैन। कार हुनेले मलाई आफ्नै घरमा अर्थात् मेरै घरमा लैजान्छन्। उसकी स्वास्नी अलापविलाप गर्छे। छोराछोरी रुवाबासी गर्छन्। रक्सी पनि क्या गजबको कुरा हो, हगी ? मलाई लज मन पर्दैन।'

'होला, तर म अहिले होसमा छु। ल, हिँड,' भन्दै उसले अधिकारपूर्वक क्रिस्टीको मांसल पाखुरा समातेर अघि लगायो। 

कमलीको क्रिस्टिना शरीर नेपालको नक्साझैं सोलोडोलो, पातलो र लाम्चो थियो।ऊ उसका यौनाङ्ग खेलाउँदै त्यसैसित सम्बन्धित रसिला कुरा गर्न थाल्यो। उसले केही बोलिनँ। उसको मौन स्वीकृति र वाचाल यौनोत्तेजना कुरा गर्दै रहे। 


'आउनुस्, तर चोकैमा मेरो पाखुरा नसमात्नुस्।'

'किन ? ' उसले छक्क पर्दै भन्यो। क्रिस्टीले कुनै जवाफ नदिएर उसलाई तेस्रो तलाको एउटा सानो र अँध्यारो-अँध्यारो कोठासामु पुर्‍याई। वरिपरको वातावरण र दुर्गन्धले उसलाई वाक्क लागिरहेछ। बरु यसलाई अन्तै कतै लगेको भए हुन्थ्यो। तर, लज उसलाई पनि मन पर्दैन। लजमा कुनैबेला पनि प्रहरी आउन सक्छ।

लज मालिक दलाल भैदिन सक्छ। आफ्नै घरमा लगेको भएपनि हुन्थ्यो। स्वास्नी रिसाउने, कराउने थिई। भयंकर असन्तुष्टि व्यक्त गर्ने थिई। तर, आफ्नो अफिसमा आफ्नो कुनै सहकर्मीसित सन्तुष्ट भएपछि मसित पनि सन्तुष्ट भइहाल्ने थिई।

नारीको पक्षमा फस्टाएको यो सन्तुष्टिले पुरुषहरू असन्तुष्ट भैदिनाले लुकिचोरीको विकृति पूँजीवाद विघटित आधुनिक परिवारमा वेश्यावृत्तिका रूपमा फस्टाएको छ।

अहिले यो चिन्तनको बेला होइन।
अतः ऊ चिन्ता गर्न थाल्यो।
ऊ कोठाबाहिरै उभिइरहेछ।

क्रिस्टी भित्र पसेको निकैबेर भइसक्यो। भित्र कसैसित खासखुस गरेको सुनिन्छ। ऊ एक्कासी भयभित भयो। कतै यसले कुनै षड्यन्त्रमा पार्न त थालिन ! पर्स छाम्यो। किन किन आश्वस्त भयो। क्रिस्टीले ढोकाबाट चिहाएर भनी-
'आउनुस्।'

भित्र एउटा पहेँलो गुलुप बलिरहेको रहेछ। कोठा सानै थियो र त्यस सानो कोठालाई पनि एउटा मैलो पर्दाले कोठाको साह्रै सानो भागलाई छुट्याइएको थियो। भान्सा होला- उसले थान्यो। ऊ त्यतै हेर्न तल्लीन थियो। जब ऊ क्रिस्टीतिर फर्कियो, अवाक् भयो। ऊ सर्वांग नाङ्गी थिई। शिरको कपाल र आँखी भौंबाहेक कतै पनि रौं-केश थिएनन्। उसलाइ आफ्नो जीउको लुगा गरुंगो प्रतीत भयो।

अँ, कमलीको क्रिस्टिना शरीर नेपालको नक्साझैं सोलोडोलो, पातलो र लाम्चो थियो।
उसले ठूलाबडा छिमेकीलेझैं थुक निल्दै स्वगत भन्यो, 'यति छिट्टै ? '
'शुभ काममा ढिला किन ? ' उसले साह्रै मोहक मुस्कानकासाथ बिहानीको हिमाल खुलेझै भनी।

उसलाई लाग्यो, नग्नता पनि यति मोहक हुँदोरहेछ। तर, लगत्तै सम्झ्यो, यो त उसको पेसागत कौशल हो। होस्, यस्ता कुराको के वास्ता !
'तिमी धरानकी हौ ? '
उसले लुगा फुकाल्न थाल्यो।
'होइन।'

'तिमी दार्जिलिङकी हौ ? '
उसले सम्पूर्ण लुगा फुकालिसक्यो।
'होइन।'
क्रिस्टीले उसको हात समातेर प्रेमपूर्वक आफ्नो ओच्छ्यानमा बसाई।

'तिमी अघि कोसँग कुरा गर्दै थियौ ? यहाँ त कसैलाई देख्दिनँ म।' अघिको खासखुस सम्झेर उसले सोध्यो।
'आफूसितै, हा हा हा हा !' ऊ उन्मुक्त भावले हाँसी।

मेरो शंका अलि निवारण भयो।
'तिमी थिम्पुकी हौ ? '
'होइन, तपार्इंलाई अरू कुरा आउँदैन ? '

अनि ऊ अरू कुरा गर्न थाल्यो। अरू कुरा भनेको उसका यौनाङ्ग खेलाउँदै त्यसैसित सम्बन्धित रसिला कुरा गर्न थाल्यो। उसले केही बोलिनँ। उसको मौन स्वीकृति र उसको वाचाल यौनोत्तेजना कुरा गर्दै रहे।

एक घन्टा बित्यो। सबै उत्तेजना शान्त भयो।
ऊ उठ्न खोज्दा एक्कासि पर्दापछाडिको कुनोबाट कोही डङ्रंग लडेको जस्तो ठूलो आवाज सुनियो। ऊ झस्केर बुरुक्क उफ्रियो र हतारिँदै आफ्ना लुगा लगायो। अनि पर्दापछाडि पर्दा पन्छाएर हेर्दा त्यहाँ एउटा सात÷आठ वर्षको केटो देखापर्यो।

यो के हुन आँटेको ? कतै यो वेश्याले उसलाई कुनै जालझेलमा पार्न आँटेकी त होइन ?
'को हो यो ? ' उसले कड्केर सोध्यो। सर्वांग नांगी क्रिस्टी ओछ्यानमा घोप्टो परेर रुन थाली।

'को हो भन्या यो ? ' ऊ अझै कड्कियो।
'के गर्नु सर, यै कोठाको भाडा मजस्तीले तीन हजार रुपियाँ तिर्नुपर्छ। घरबेटीको छोरालाई पनि रिझाउनु र खुसी पार्नुपर्छ। मलाई माफ गर्नुस्, तपाईंलाई डिस्टर्ब भयो।'

'म सोध्छु, को हो भन्या यो ? यसलाई किन यहाँ लुकाएर राखेको ? '
सर्वांग नांगी क्रिस्टी ओछ्यानबाट जुरुक्क उठी र केटोतिर आँखा तर्दै कराई-
'पापी मोरा, के भो तँलाई ? '

'मामु-मामु...उभिँदा उभिँदा थाकेर लडें, मामु !'
थुरथुर काँप्दै त्यस निरीह केटोले आँसु पुछ्ने प्रयत्न गर्र्दै भन्यो।

आधुनिक नेपालजस्ती क्रिस्टी र आधुनिक नेपाली जस्तो केटो देख्यो उसले ! भयावह भविष्य पनि धमिलो देखियो !यो देखेर एक्कासि ऊ छाँगोबाट खसेझैं भयो। केही सोचविचार नगरिकन हुत्तिँदै बाहिरियो र मोटरबाइक स्टार्ट गरेर गल्ली÷गल्छेडो छिचोल्दै सडकमा आइपुग्यो।

सडकमा आइपुगेर पो ऊ झल्याँस्स भयो। ज्या, पैसा दिन त उसले भुसुक्कै बिर्सिएछ।
तर, क्रिस्टीले पनि त मागिनँ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.