रारा की अप्सरा ! ( फोटो फिचर)

रारा की अप्सरा ! ( फोटो फिचर)

पोखरा बिरौटा क्लब र साइकल सिटी पोखराको आयोजनामा (तालदेखि तालसम्म भन्ने वातावरणमैत्री नारा बोकेर) पोखरा फेवातालदेखि सुरु भएको हाम्रो साइकल यात्राले रारातालसम्म गन्तव्य चुम्न सात दिन लाग्यो।त्यहाँ पुग्दा राराताल प्रकृतिको एकलासमा हराइरहेको थियो।

निर्मल आकासमुनि हराभरा प्रकृतिको घुम्टो ओढी बसेको राराको सौन्दर्य वर्णन गर्न साँच्चै मुस्किल थियो।साइकल यात्रामा सहभागी ३० यात्री राराको यो सौन्दर्यसँग साक्षात्कार गर्न पाउँदा दंग थिए।रारा किनार पुग्दा सबैको मुखबाट यौटै शब्द खसेको थियो 'वाह रारा !' रारा देशको सबैभन्दा ठूलो ताल हो।यसको रंगीन र जादुमयी रूपलाई शब्दमा उतार्न गाह्रो छ।समुद्री सतहदेखि दुई हजार नौ सय ९० मिटर उचाइमा अवस्थित रारा तालको बयानमा धेरैले धेरै कुरा भनिसकेका छन्। तर पूर्वराजा महेन्द्रले २२ सालतिरै राराप्रति सम्मोहित बनेर राराको सौन्दर्य महिमा गाउँदै कविता नै लेखे— 'रारा कि अप्सरा !' यस कविताबाट पनि राराको सौन्दर्य महिमा नाप्न सकिन्छ।

०००

पर्यटनको अथाह सम्भावना छ रारासँग।वैशाख जेठमा रारा गुराँसमय बन्छ।हिउँदमा हिउँले ढाकिएको हुन्छ।रारावरपरका काञ्जिरोवा, रिनमुक्षे, छायानाथ, सिस्ने, चुच्चेमारा हिमालले तालको सौन्दर्यमा थप शोभा बढाएका छन्।दिन खुलेको बेला हिमालहरू ऐनामा जस्तै सीधै तालमा प्रतिविम्बित हुन्छन्।

छिनछिनमा तालको पानीले रङ बदल्छ।त्यस्तै वरिपरिका हरित जंगलले रारालाई चित्ताकर्षक बनाएका छन्।अझ ताल किनारमा फुलेका भुइँफूलको उमंगले त मनलाई अर्कै लोकमा पुर्‍याएको भान हुन्छ।पानी हाँस होस् या जलेवा, पानीमा पौडिरहेको दृश्य कुनै दुलर्भ क्षण बन्छ त्यहाँ पुग्नेका निम्ति।

 

राराको सम्पूर्ण सौन्दर्य नियाल्दै डुंगाबाट ताल वारपार गर्नुको आन्नद बेग्लै र विशेष रहन्छ।यी सबै अनुभव लिँदा लाग्छ— स्वर्ग भनेको यही त हो।राराको अर्को विशेषता भनेको विश्वकै दुर्लभ हिमाली असला जातिका माछा पाइनु हो।

यहाँ वर्षायाममा साइबेरियाबाट समेत चराहरू बसाइँ सरी आउने गर्छन्।बिहानको समयमा स्थिर लाग्ने तालको पानी मध्याह्नपछि भने एकाएक छचल्किन सुरु हुन्छ।

दशमलव आड वर्गकिलोमिटर क्षेत्रफलमा पाँच किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइ आकारमा फैलिएको राराको गहिराइ एक सय ६७ मिटर छ।झन्डै १६ किलोमिटर दूरीमा उपत्यका जसरी फैलिएको ताललाई पैदलबाट फन्को मार्न ६ घन्टा लाग्छ। एक-डेढ घन्टाको दूरीमा रहेका घुच्ची र मुर्मालेक राराको विशाल आकार नियाल्न उपयुक्त स्थलहरू हुन्।त्यसबाहेक रारावरपर घुम्नलाई थुप्रै दर्शनीय स्थलहरू छन्।
०००
यस समय रारा साइत गर्ने उपयुक्त सिजन हो।हाल सडक र हवाई दुवै मार्गले जोडेपछि रारा पुग्नेको संख्या बढेको छ।त्यसमा जिप बुकिङ, साइक्लिङ होस् या मोटरबाइकमार्फत पनि हिजोआज पर्यटक सोझै रारा पुग्न थालेका छन्।रारा पुग्ने विभिन्न बाटा छन्।

काठमाडौं-नेपालगन्ज-सुर्खेत हुँदै मुगुको ताल्चा विमानस्थलसम्म सोझै चालीस मिनेटको हवाईयात्रा गर्न सकिन्छ।र, त्यहाँबाट करिब तीन घन्टा हिँडेपछि रारा पुगिन्छ।हाल मुगु सदरमुकाम गमगढी-नाग्म सडकखण्डको १४ किलोमिटर बाटो स्तरोन्नति हुँदा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मोहनचन्द्र विश्वकर्मा बताउँछन्।

नाग्मा भएर जाँदा जुम्लाको सिँजा उपत्यका, प्राचीन पाण्डव गुफा, नौधारा, घुच्चिलेक आदिको अवलोक गर्न सकिन्छ।जुम्लाको सदरमुकाम खलंगाबाट दुईदेखि तीन दिनको पैदलयात्रामा डाँफेलेक हुँदै रारा पुग्न सकिन्छ।बाजुराको सदरमुकाम कोल्टी र हुम्लाबाट रारा पुग्न तीनदेखि चार दिनको पैदल यात्रा गर्नुपर्छ।

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.