औंठी दाइजो नपाएपछि इन्जिनियरले पत्नीलाई ‘पागल’ बनाए

गौरः माइतीबाट दाइजोस्वरुप सुनको औंठी नल्याएपछि रौतहटमा एक युवतीलाई मानसिक सन्तुलन बिग्रिएको भन्दै घर निकाला गरिएको छ ।
विवाह भएको तीन महिना नबित्दै पोखराजजडित सुनको औँठी नल्याएको भन्दै चन्द्रपुर नगरपालिका–४ निवासी एक इन्जिनियरले श्रीमतीलाई घर निकाला गरेका हुन ।
भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ला छौडादान गाउँका मनोज जयसवालकी २२ वर्षीया छोरी लवली कुमारी जयसवालको गत माघ महिनामा रौतहटको चन्द्रपुर नगरपालिका–४ का अजय साहका २५ वर्षीय इन्जिनियर छोरा नविन साहसँग मागी विवाह भएको थियो ।
दुवैतर्फका अभिभाव र केटाकेटीको सहमतिमा मागी विवाह भएपनि दाइजो रकम र समानको विषयमा कुरा नमिलेपछि सासुससुरा र श्रीमानले मानसिक र शारीरिक यातना दिइ मानसिक सन्तुलन बिग्रिएको भन्दै घर निकाला गरेको पीडित युवती लवली जयसवालले बताइन् ।
विवाहअघि कबोल भएअनुसार काठमाडौँमा घरेडी किन्न लवलीका बाबुले केटाका बाबुलाई नगद १६ लाख दिएका थिए । सो रकमबाट साहले काठमाडौँको बालाजुमा घडेरी किनेका छन् । त्यसबाहेक ल्यापटप, एसी, ४० इन्चको एलइडी र सुनको सिक्री, औँठ लगायत गरगहना दाइजो दिएको युवतीका बुवाले जानकारी दिएका छन् ।
युवतीका बाबुले छोरीको बिवाहमा नगद तथा सरसमान गरी करिब ४० लाख रुपैयाँ खर्च भएको बताएका छन् ।
छोरी र ज्वाइँको नाममा घरेडी दर्ता भएपछि लवलीका श्रीमान नविनले माइतीबाट पोखराजजडित सुनको औंठी माग्न श्रीमतीलाई दिनहुँ दबाब दिएका थिए ।
श्रीमानले औंठीका लागि पटक पटक दबाब दिएपछि माइतीमा फोनमार्फत ज्वाइँले पोखराजजडित सुनको औंठी माग गरेको बताउँदा माइतीले अहिले दिन नसक्ने भनेपछि थप मानसिक यातना दिन थालेको चन्द्रनिगाहपुरमा भएको सामाजिक छलफलमा पीडित युवती लवलीले बताएकी
छिन् ।
‘स्नातक उत्तीर्ण हँुदा मलाई उत्कृष्ट अंक ल्याएवापत बिहार सरकारले सम्मानित गरेको छ’, पीडित युवतीले भनिन्, ‘तर विवाहपछि घरमा आएकै दिनदेखि दाइजोको निहुँ र अरु बहाना बनाएर मानसिक यातना दिन थाले । त्यसको बिरोध गर्दा पागल भन्दै सासु ससुरा र श्रीमानले घर निकाला गरे ।’
लवलीका बाबु मनोजले पढेलेखेको इन्जिनियर ज्वाइँ देखेर लाखाँै दाइजो दिइ छोरीको विवाह गरिदएपनि अहिले बेहाल बनाइदिएको गुनासो गरे ।
बाल्यकालदेखि कान नसुन्ने, नबोल्ने तथा सुस्तमनस्थितीकी लवलीसँग झुक्याएर विवाह गरीदिएको भन्दै ससुरा अजय साहले लमी रहेका आफ्नै साला पवन जयसवालविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गराएका छन् ।
युवतीका ससुरा साहले दाइजो माग नगरेको तर पहिलादेखि नै केटी मानसिक रोगी भएकोले छोराले घरमा राख्न नमानेको बताएका छन् ।
छेका (टीकाटालो) भएको ११ महिनापछि विवाह भएका दुबै पक्षबीच त्यसबीचमा दुबैजनाले धेरै पटक भेटघाट गरेका थिए ।
सबै कुरा बुझेर बिहे गरेको व्यक्ति र उनको परिवारले मागेको सामान आफ्नो माइतीले नदिँदा आफुलाई मानसिक रोगी भएको आरोप लगाएको युवतीको भनाइ छ ।
माइतीपक्षले काठमाडौँस्थित मानसिक अस्पतालमा छोरीको स्वास्थ्य परीक्षण गराउँदा कुनै मानसिक रोगको लक्षण देखा नपरेको पत्र चिकित्सकले दिएका छन् ।
छलफलमा सहभागी पुर्व प्रध्यानाध्यापक योगेन्द्रप्रसाद यादवले मानसिक सन्तुलन बिग्रिएको भए उपचार गराउनुपर्नेमा बुहारीलाइ घर निकाला गर्न नहुने बताएका छन् ।
छलफलमा सहभागी महिला अधिकारकर्मी तथा सामाजिक अगुवाहरुले पीडित युवतीलाइ न्याय दिलाउन पहल गर्ने बताएका छन् ।
आफुले सामाजिकरुपमा न्याय नपाए कानुनी लडाइँ लड्ने ती युवतीको भनाइ छ । युवतीका श्रीमान नविनले कुनै हालतमा श्रीमातीलाई आफुसँग नराख्ने बताएका छन् । इन्जिनियर नविनले केही समयदेखि चन्द्रनिगाहपुरमा कन्सल्टेन्सी चलाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
