सिमीको सपना

सिमीको सपना

आदित्यको घरभन्दा पछिल्तिर एउटा लाम्चो-लाम्चो बारी थियो। बारीमा थुप्रै किसिमका तरकारीहरू रोपिएका थिए। गोलभेँडा, फर्सी, बोडी, काँक्रा, घिरौंला, करेला, सिमी आदि तरकारीले आदित्यको बारी ढाकिएको थियो।

तिनै तरकारीहरूको हूलमा केही सिमीका बोटहरू भने लहलह फैलिएका थिए।सिमीको बोट फैलिएपछि बारी निकै नै सुन्दर र आकर्षक देखिएको थियो। र, आदित्यको बुबाले सिमीको बोटलाई फैलिन, झांगिन सहयोग पुगोस् भनेर बाँसका मसिना थाँक्राहरूले अड्याएका थिए।

सिमीका बोटहरू पनि थाँक्रा पाएपछि लहलह फैलिएर बारी नै ढाक्ने गरी मौलाएका थिए। सिमीका बोटहरू दिनदिनै झांगिँदै र लहरा हाल्दै माथि-माथि, निकै माथिको आकाश ताक्दै अगाडि बढिरहेका थिए।

तरकारी बारीमा अनेक थरीका तरकारीहरू रोपिएका भए पनि आदित्यलाई भने सिमीको झांगिँदै गइरहेका बोटहरूले नै आकर्षित तुल्याइरहेको थियो।

आदित्यको बारीमा रहेका थुप्रै सिमीका बोटहरूमध्ये दुइटा बोट भने नजिकैको पर्खाल उक्लेर माथि-माथि चढ्न थाले। ती सिमीका बोटहरूबीच पर्खाल उक्लिनका निम्ति धेरै नै प्रतिस्पर्धा भइरहेको थियो जस्तो लाग्थ्यो। किनकि, दुवै सिमीको बोट छिटोछिटो झांगिइरहेका थिए।

एकदिन, एउटा सिमीको लहराले आफूसँगै अग्लिरहेको अर्को सिमीतिर फर्किंदै भन्यो, 'यो तरकारी बारीका अरू सिमीहरूभन्दा हामी निकै माथि पुगिसक्यौं। हेर त, अरू सिमी अझै तल नै छन्। कति तल, तल, तिनीहरू हाम्रो दाँजोमा पुड्के देखिए। हामी भने यति माथि, अरू भने त्यति तल।'

अर्को सिमीको बोटले रमाइलो मान्दै भन्यो- 'हो, तिमीले उचित कुरा गर्यौ। हामी अरू सिमीभन्दा माथि नै छौं। धेरै नै माथि। तिनीहरूले हामीलाई भेट्न धेरै प्रयास गर्नुपर्छ। होइन भने तिनीहरू तल नै रहन्छन्। थाहा छ, अब हामी भने यसरी नै माथिमाथि उक्लिनुपर्छ। र, धेरै माथि पुग्नुपर्छ। कि कसो? '

'हो, हामी अझै माथि उक्लिनुपर्छ।' त्यो सिमीको लहराले अर्को लहरालाई प्रश्न गर्दै सोध्यो- 'तर किन यस्तो भएको हो? हामीसँगै रोपिएका र उम्रिएका अरू सिमीको बोट अझसम्म पुड्के नै छन् तर हामी भने किन यति हलक्क बढेका हौं?

के होला यसको कारण? के तिमीलाई थाहा छ? ''हामी किन हलक्क बढ्यौं भन्नेबारे मलाई सबै थाहा छ। हामीले उचित पानी पायौं, मल पायौं र स्याहारसुसार पनि पायौं र यसरी हलक्क बढ्न पुग्यौं। सिमीका अरू बोटहरूले पनि उचित स्याहारसुसार पाउने हो भने हामीजस्तै हलक्क बढ्छन्।' त्यो सिमीले बतायो।

'ए, हो र ? ' अर्को सिमीको बोटले अचम्म मान्दै भन्यो।

साँझ पर्यो। साँझ बितेलगत्तै पूर्वी आकाशबाट एउटा सुनौलो जून उदायो। जुनेली रात छिप्पिँदै जाँदा आकाश निकै चम्किलो देखियो र आकाशको सिंगो वृत्तभरि मसिना तारापुञ्जहरू प्नि टल्किए। धेरै नै आकर्षित रूपले टल्किए, ताराहरू।

ती सिमीका बोटहरुबीच पर्खाल उक्लिनका निम्ति धेरै नै प्रतिस्पर्धा भइरहेको थियो जस्तो लागथ्यो।

चम्किलो आकाश, मनमोहक जून र चम्चमाउँदा तारापुञ्जहरू देखेर पर्खाल उक्लिँदै गरेका एउटा सिमीको बोटमा भने कताकता त्यही आकाशलाई छुने रहर पलायो। आफूभन्दा धेरै माथिको आकाशलाई छुने रहर उसमा कताकता पलायो। आफूसँगै अग्लिरहेका सिमीको बोटलाई कानेखुसी गर्दै त्यो सिमीको बोटले भन्यो- 'ऊ त्यो माथिको आकाश हेर त, कति रमाइलो छ हगी ? '

'हो, कति सुन्दर छ। साँच्चै, सुन्दर।'
'म एउटा कुरा भनुँ ? '
'हुन्छ, भन् न।'

'हामी दिनदिनै मास्तिर उक्लिरहेका छौं। यसरी चढ्दैचढ्दै त्यो माथिको आकाशसम्म पुगौं न।' एउटा सिमीको लहराले भन्यो।
'मलाई पनि माथिको आकाशसम्मै पुग्ने रहर त थियो नि। तर यो असम्भव छ।' अर्को सिमीको लहराले सुझाव पस्किँदै भन्यो।

'कसरी र किन असम्भव देख्यौ तिम्ले ? '
'हामी जतिसुकै माथि बढे पनि आकाशलाई छुन सक्दैनौ। त्यो धेरै धेरै नै माथि छ।''हैन, प्रयास गर्यौं भने असम्भव नहोला। प्रयास नै नगरी कसरी काम पूरा हुन्छ र? मलाई त एकपटक प्रयास गरी हेरौं भन्ने लागेको छ।' 'तिम्रो प्रयास बेकार हुनेछ।'

'तिमी अरूलाई हौसला दिने खालका होइन रहेछौ। अरूले कुनै काम आँट्दा हौसला दिनुको साटो तिमी त हतोत्साहित तुल्याउँदा रहेछौ।' आकाश छुने सपना पालेको त्यो सिमीको लहराले अर्को सिमीको लहरासँग निकै नै रिसायो र माथिको आकाशतिर नियाल्दै कल्पना गर्न थाल्यो-'मैले त्यो आकाशलाई छुन पाए त कति गजब हुन्थ्यो होला। अहाँ , त्यो जून र ती ताराहरूसित कति रमाउँथे हुँला म। जून र ताराहरूसँग रातको समयमा रमाउँदा कस्तो हुन्थ्यो होला।'

आकाश छुने कल्पनामा रमाउने सिमीको लहराले राति भने अचम्मैको सपना देख्यो। उसले आफू अग्लिदै, फैलिँदै र झाँगिदै-झाँगिदै आकाशतिर बढिरहेको सपना देख्यो र सपनामै धेरै-धेरै नै रमायो पनि ऊ।

भोलिपल्ट भने त्यो सिमीको लहरा हिजो जुन ठाउँमा थियो, त्यही ठाउँमा नै लहराइरहेको थियो। तर राति देखेको सपना सम्झेर भने ऊ औधी नै रोमाञ्चित भयो र मनमनै कल्पियो- 'अहाँ, कति राम्रो सपना। अहिले सम्झिँदा पनि आकाशमै पुगेजस्तो भयो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.