धर्म र विज्ञानको अन्तरसम्बन्ध

धर्म र विज्ञानको अन्तरसम्बन्ध

डा वासुदेवकृष्ण शास्त्री

'धर्म' र 'विज्ञान'बीचको अन्तरसम्बन्ध कस्तो हुन्छ वा हुनुपर्ने हो भन्ने सन्दर्भमा ३० हजार वर्ष (वैदिककालीन सभ्यता) अघिदेखि शास्त्रार्थको माध्यमबाट मन्त्रद्रष्टा ऋषिहरूले विचार गरेका हुन्। धर्म भनेको धारण गर्ने सनातन ज्ञान हो।


सनातन शाश्वत ज्ञान, वस्तु र पदार्थको स्वस्वरूप पदार्थजनित गुण पनि धर्मकै अंग हो। धर्मले नैतिकता, सदाचार, सत् असत् विवेकको निर्देशन गर्दछ। व्यक्तिले धारण गर्ने मानवीय गुण पनि धर्मकै भाव हो।

हजारौं हजार वर्षदेखि आएको सनातन परम्पराको क्रमबद्धताको ज्ञान नै विज्ञान हो। भौतिक पदार्थलाई बुझ्न अनन्त गहिराइसम्म कणकणमा प्रवेश गर्ने माध्यम र कणकणमा ईश्वरीय गुणको दृश्यावलोकन गरी क्रमबद्ध विकास नै विज्ञान हो।

वस्तु र पदार्थमा समभावको दृष्टि हुनु शाश्वत विज्ञान हो। धर्म र विज्ञानको अन्तरसम्बन्धमा यसका बारेमा आगामी दिनमा चर्चा हुने नै छन्। यदि नहुने छाँटकाँट देखिएमा विद्वानजनले यस सम्बन्धमा हल्लाखल्ला मच्चाइहाल्नुपर्छ।

कुनै युगमा पनि मानवलाई 'धर्म' र 'विज्ञान'को आलोकबाट पर रहन दिनुहुँदैन। धर्म र विज्ञानको स्वरूप तथा यी दुईबीचको अन्तरसम्बन्ध सर्वसाधारण जनसमुदायलाई बोध गराई वैज्ञानिकतायुक्त धर्म एवम् धार्मिकतासहितको विज्ञान अवलम्बन गरेको दिन संसारका धेरै समस्या समाधान हुनेछन्।

वैदिक दर्शनका आचार्यले धर्मको अर्थ धारण गर्नु हो भनेका छन्। शाश्वत ज्ञान र विज्ञानलाई अनुभूति गर्दै जानु, सत्य अहिंसा र प्रेममा विश्वास गर्नु, सम्पूर्ण प्राणीमा सद्भाव राख्नु नै धर्म हो। तथापि नदीका दुई किनारा नभेटिएजस्तै धर्म र विज्ञानको पनि मिलनबिन्दु हुनै सक्दैन भन्ने तर्क राख्नेहरू पनि पाइन्छन्।

 कतिपय अन्वेषकहरू आध्यात्मिकता र वैज्ञानिकता एकदमै विपरीत ध्रुवमा छन् भन्छन्। अधिक मानिसहरू धर्म र विज्ञान एकआपसमा विकर्षित हुने विषयवस्तु ठान्छन्। यस्तो परिवेशमा हामीमध्ये पनि धेरैलाई उही भ्रमले गाँज्नु आश्चर्यको कुरो होइन।

तर, यस्तो भ्रमलाई निवारण गर्नु आवश्यक छ। कम्तीमा पनि मान्छेहरूलाई झक्झक्याइरहनु आवश्यक छ कि 'धर्म' र 'विज्ञान'लाई परस्पर विरोधी भन्ठान्नेहरू हो, तिम्रो सोच गलत छ। किनकि कुनै व्यक्तिले कुनै विषयलाई धारण गर्छ, उसको यो स्वभावजन्य गुण धर्म हो। मानवको गुण धर्म भनेको प्रेम, समर्पण र विश्वास र पुरुषार्थ नै हो।
००
धार्मिकता र वैज्ञानिकता, दुवैको लक्ष्य सत्यको उद्घाटन गर्नु नै हो। 'धर्म' र 'विज्ञान' प्रक्रियागत रूपमा कसरी फरक छन् भने विज्ञान भौतिक जगत्को जगमा स्थित जिज्ञासाको घरमा बसेर सत्यको अन्वेषण गर्दछ भने धर्म आन्तरिक रूपमा आत्मामा प्रतिष्ठित भएर सत्यको साक्षात्कार गर्दछ।

अर्को तरिकाले भन्नुपर्दा, धर्म प्राय: शाश्वत सत्यको उद्घाटनप्रति बढी झुकाउ राख्दछ भने विज्ञानलाई पहिले सापेक्ष सत्य जान्ने चासो पर्दछ। विज्ञानको पनि संतृप्त अवस्थामा पुग्नुपर्ने ठाउँ त्यहीँ हो, जहाँ धर्मले लैजान्छ।

यहाँनेर जान्नुपर्ने के छ भने दार्शनिकहरू विविध प्रकारका छन् : कोही शाश्वत् सत्यको उद्घोष गर्नेहरू कोही सापेक्ष सत्यको उद्घोषण गर्नेहरू। शाश्वत् सत्य उद्घोषण धर्मको क्षेत्र हो भने सापेक्ष सत्य उद्घोषण विज्ञानको क्षेत्र हो।

शाश्वत सत्यलाई समयको प्रवाहले कुनै फरक पार्दैन। त्यसैले अनेक युगमा जति ऋषि, सन्त, महात्मा, ज्ञानी, गुरु, आचार्य, योगी अवतरित भए पनि तपस्वीहरूबाट बारम्बार शाश्वत ज्ञानको कुरा प्रस्फुटित भइरह्यो।

वैदिक वाङ्मयमा पनि ज्ञान विज्ञान र आनन्द प्राप्तिको मार्ग उल्लेख भएको छ। हजारौं हजार वर्षको परम्परामा आएका उपनिषद्कालीन ऋषि महर्षिहरू एवं तिनका आचार्यहरू कपिल, कर्णाद, गौतमआदि पछि शाक्यमुनि गौतमबुद्ध, जैनमुनी तीर्थङ्कर, सबैले शाश्वत शान्तिको कुरा नै उद्घोष गरेका हुन्।

यद्यपि, शैली फरक छ, भाषा फरक छ, हाउभाउ फरक छ। तर, गुदी कुरो उही हो। गुरुनानक, ईशा, पैगम्बर मुहम्मद, खप्तड बाबा, शिवपुरी बाबा, कविर, आचार्य रजनीश, कृष्णमूर्ति, साइबाबा जो कसैले पनि भनेको गुदी कुरो त उही हो- ईश्वर एक हुन्। परन्तु भन्नेका शैली र ग्रहण गर्नेका ल्याकतले पो फरक पारेको छ। भौतिक विज्ञानका महारथिहरूका प्राप्तिका सार पनि तीभन्दा फरक छैनन्।

सापेक्षसत्यका अनुयायीहरू युगानुसार मिल्दा वा अमिल्दा ठहरिने हुन्छन्। हिजोका वैज्ञानिकका सिद्धान्त र सूत्रहरू आज मिल्दैनन्। आजका सिद्धान्त र सूत्रलाई भोलिका वैज्ञानिकले अझ विकास गर्नेछन्।

धर्मकै नाममा आएका भए तापनि असत्य कुराहरू समयक्रममा त्यागिँदै छन्। तिनमा रहेका शाश्वत सत्यमात्र सदैव स्वीकार्य रहनेहुन्। वास्तवमा सापेक्ष सत्य र शाश्वत सत्यबीचमा तालमेल मिलाउन कठिन छ तर नमिलाई सुखै छैन। युगका अगुवाहरूले 'शाश्वतसत्य' र 'सापेक्षसत्य' दुवैको गतिसँग आफ्नो हिँडाइलाई तालमेल मिलाउनुपर्छ।

धर्म र विज्ञान यी दुवैको लक्ष्य उन्नति, प्रगति, विकास र सुख नै हो, अन्तिम गन्तव्य शाश्वत शान्तिको पथ हो। विज्ञानको पथ पनि सामाजिक कल्याणको भाव नै हो। साधन र साध्यको तालमेल पनि हो। मानवकल्याण र शान्ति सबैको उद्घोष हो।

विज्ञान र धर्मलाई भिन्न देख्नु दृष्टि दुर्बलता हो। तथ्य कुरा के हो भने धर्म र विज्ञान एउटै सिक्काका दुई पाटा हुन्, एकअर्काका परिपूरक। आइन्सटाइनले भनेका छन्, 'धर्मबिनाको विज्ञान लंगडो र विज्ञानबिनाको धर्म अन्धो हुन्छ।'

सफलता असफलता तथा सदुपयोग दुरुपयोग चाहिँ पछिल्ला कुरा हुन्। उदाहरण खोज्न थाल्ने हो भने धर्मको पनि सदुपयोग र दुरुपयोग दुवै थोक गरेको पाइन्छ, विज्ञानको पनि सदुपयोग र दुरुपयोग भएको पाइन्छ।

कुनै उदाहरण विशेषलाई औंल्याएर छारो उडाइरहनु र त्यसैलाई सार्वजनिन ठान्नु मूर्खता हो। यो त पात्रताअनुसार फरक पर्ने कुरा हो। वास्तविकतामा धर्म र विज्ञानबीचमा कुनै मौलिक विरोध छैन।

विज्ञानको प्राथमिकता बाह्य स्वरूपलाई छ भने धर्म आत्मिक चैतन्यको पक्ष लिन्छ। उही रूखका हाँगाबिँगाहरू जतासुकै फर्कून्, जरा त एउटै हो। स्वाभाविक विविधतालाई देखेर एकत्व नदेख्नु कहाँसम्मको मूढता !

मानवलाई धर्म र विज्ञान दुवैले अरू सबै जीवभन्दा उच्चतहमा राखेका छन्। यो मानव शब्द बनेको छ, तीन अक्षर मिलेर। मा - अज्ञान, अविद्या। न - बिना। व - वर्तन - कार्य। अर्थात्, अज्ञान अविद्या त्यागेर कार्य गर्नेलाई मानव भनिएको छ।

अज्ञान त्याग्नु भनेको ज्ञान प्राप्तितर्फ लाग्नु हो, ज्ञान प्राप्त गर्नु ज्ञानी बन्नु हो, ज्ञानी बन्नु भनेको आफू र आफ्नो जगत् तथा त्यसको कारण जान्नु हो। यसरी आत्मज्ञानको स्थितिमा पुगेपछि आत्मज्ञान नै परमात्मा ज्ञान ईश्वर प्राप्तिको सोपान हो, ईश्वर वा ब्रह्मतत्व साक्षात्कार गर्नु नै परमसत्य हो। मानवको परमलक्ष्य 'मोक्ष' हो।

हाम्रा धर्मशास्त्रहरूले बारम्बार हामीलाई बताइरहेका छन् - धर्म नै सत्य हो। धर्मबिना मानव व्यर्थ छ। वैज्ञानिक, जसको लक्ष्य नै जीवन र जगत्को सत्य अन्वेषण गर्नु हो, कसरी परमसत्य ब्रह्मतत्वबाट पर रहन सुहाउँछ -उसको खोज नै सत्यतर्फ परिलक्षित हुने हुँदा ध्रुवसत्य एवम् परमसत्य परब्रह्मलाई वैज्ञानिकले नकार्न मिल्दैन। धर्मको शुद्ध स्वरूप र विज्ञानको पनि शुद्ध स्वरूप छर्लंग हुँदा धर्म र विज्ञानको एकत्व सहजै दृष्टिगोचर भइहाल्छ।

विज्ञान र धर्मलाई भिन्न देख्नु दृष्टि दुर्बलता हो। तथ्य कुरा के हो भने धर्म र विज्ञान एउटै सिक्काका दुई पाटा हुन्, एकअर्काका परिपूरक। आइन्सटाइनले भनेका छन्, 'धर्मबिनाको विज्ञान लंगडो र विज्ञानबिनाको धर्म अन्धो हुन्छ।'

अन्त्यमा, मार्क्सले धर्म (सम्प्रदाय)को विषयमा विरोध गर्नुको कारण पनि चर्चले गरेको अत्याचार, पोप पादरीहरूले विभिन्न वैज्ञानिक सत्यहरूलाई परिभाषित गर्ने क्रममा हतियारको बलमा हिंसाको बाटोबाट स्वतन्त्र वैज्ञानिक विचारलाई सिध्याएका हुनाले नै गरेका हुन्।

तर मार्क्सलाई सुयोग्य गुरुले वैदिक दर्शन, उपनिषद्, पुराण, धर्म, राजनीति र विज्ञानको अन्तरसम्बन्धको बारेमा बताउने असल शिक्षक भएका भए मार्क्सले कम्युनिस्ट मेनिफेस्टोलाई धर्म र विज्ञानको एकीकृत स्वरूप अवश्य दिने थिए।

द्वन्द्वात्मक भौतिकवाद नभनेर वर्ग समन्वय वाद भन्ने थिए। धर्म र विज्ञान एकअर्काका पूरक हुन्। सम्प्रदायहरू निरपेक्ष हुन सक्छन् तर धर्म भने कहिल्यै निरपेक्ष हुन सक्दैन किन कि यो शाश्वत र सनातन छ। धर्म र विज्ञान एकअर्काका पूरक हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.