रोपाइँ दिवसको सार्थकता

रोपाइँ दिवसको सार्थकता

हरियो डाँडा माथि हलो जोत्ने साथी
हो हो माले हो हो ... हो हो तारे हो।

असारे लोकभाकाको यो लोकगीतमा कस्को मन रमाउँदैन होला ! समय र प्रकृतिको प्रवृत्तिअनुसार पूर्वीय सभ्यतामा पूर्ण वर्षलाई ६ ऋतुमा विभाजन गरी वर्णन गरिएको पाइन्छ। फूल खेल्ने वसन्तऋतु र फल लाग्ने गृष्मऋतुपछि आगमन हुने वर्षाऋतु अर्थात् असार र साउन महिनाको महिमालाई पूर्वीय सभ्यताका शास्त्राकारहरूले बिछट्टैसँग काव्यात्मक अनुभूतिमा चित्रण गरेका छन्।

संस्कृत साहित्यका महाकवि कालीदासको महाकाव्य मेघदूत र कुमारसम्भव नामक कृति होस् या महाकवि लक्ष्मीप्रसाद देवकोटाको असारको पन्ध्र निबन्ध कृतिमा समेत असारको गरिमा गाइएको छ। त्यसो त कवि शिरोमणि लेखनाथ पौड्यालको ऋतुविचार खण्डकाव्यमा असार र साउनको रोमाञ्चक व्याख्या गरिएको पाइन्छ। किसानको लागि त असार र साउन पवित्र पर्व समान छन्।

बीजको एक मानाले लाखौं मुरी अनाज उब्जाउने परि श्रमी किसानको महत्वलाई शब्दमा व्याख्या गर्न सकिन्न। भावनात्मक रूपमा यसको अनुभव मात्र गर्न सकिन्छ। सभ्यताको शिशु बिहानीमै त्यो आदिमकालमा लामो साधना र अभ्यासपछि मानव प्राणलाई बचाउने प्रमुख आधार अनाज र त्यसको प्रयोग हो भन्ने तथ्य पत्ता लगाउन आदिम मानवको चेतनालाई लाखौं वर्ष लागेको थियो।

मानव सभ्यताको यस महान् उपलब्धिका स्रष्टा र सर्जकहरू, ती आदिम कृषि वैज्ञानिकहरू नै सभ्यताका आलोक हुन्। मानवको उद्विकासको क्रममा गुफा संस्कृति (जंगली जीवन) पछि कृषि युगमा प्रवेश गरेसँगै सभ्यताको विकास द्रुत गतिमा भएको पाइन्छ। नाइल नदीको किनारामा फस्टाएको मिश्र सभ्यता, गंगा र सिन्धुनदीको किनारामा पल्लवित सिन्धु र हरप्पा सभ्यता, चीनको ह्वाङ्गहो नदी किनारामा फैलिएको चिनियाँ सभ्यता, युफ्रेटस र टिग्रिस नदीमा विकसित मेसोपोटामियाजस्ता अति प्राचीन विशाल सभ्यताको विकासमा किसानको नै महत्वपूर्ण भूमिका छ।

 

कृषिकर्मको जीवनवादी दृष्टिकोणको साथसाथै धार्मिक र आध्यात्मिक दर्शन रहेको पाइन्छ। हिन्दु सभ्यताको चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्ष प्राप्तिको लागि गृहस्थ आ श्रममै रहेर सम्पन्न गरिने कृषिकर्मलाई स्वयम् श्रीकृष्णले कर्मयोगको रूपमा परिभाषित गरेका छन्। हाम्रा धर्म, दर्शन र संस्कृतिसँग आधारित चाडपर्वहरू कृषि कर्मसँग सम्बन्धित छन्।


असारे भाकामा गुञ्जिने यस्ता लोक सुसेलीहरूमा जीवनका विरह र वेदनाहरू लुकेको पाइन्छ। अलिखित महाकाव्यको रूपमा रहेका यी लोकगीतहरू नै मानव सभ्यताका आलोक हुन्।

 बीउबिजन रोप्ने, गोड्ने, हुर्काउने, फलाउने र त्यसलाई भित्र्याउनेसम्मका प्रक्रियाहरूमा विशेष संस्कारसहितको धार्मिक परम्परा गाँसिएको पाइन्छ। वातावरण र पर्यावरणअनुसार संस्कृति फरकफरक हुन्छन्। भिन्न जाति, जनजाति र आदिवासीका अनेकौं पर्व र परम्पराहरू कृषिकर्मसँग गाँसिएका छन्। गौडपूजा, भूमेपूजा र भयँरपूजालगायतका पूजा पद्धति र परम्पराहरूले आदिम कृषि प्रणाली र त्यसको निरन्तरतालाई सम्झना गराउँछन्।

बालीनाली र पशुपन्छीमा रोगव्याध नलागोस् र प्रचुर मात्रामा गुणस्तरीय अनाज उत्पादन होस् भनेर सम्पन्न गरिने मंगल कामनाले आध्यात्मिक भावनाको संकेत गर्छन्। काठमाडौं उपत्यकामा नेवारहरूको कृषि जीवनसँग सम्बन्धित चाडपर्वहरूमध्ये सिठीनख: देखि खेतीपातीको सुरु हुने मानिन्छ। किराँत जातिले मनाउने उभौली र उधौली र शेर्पाहरूले मनाउने ल्होच्छार पर्व र थारू जातिले मनाउने माघी पर्व कृषिकर्मसँग सम्बन्धित छन्।

बाहिरी आँखाले हेर्दा कृषि पेसालाई कठिन मानिएता पनि आध्यात्मिक दृष्टिकोणबाट हेर्दा यो जीवन सरल र सहज छ। चर्को घाम र दर्केपानीमा पनि एक किसिमको सांगीतिक आनन्दको अनुभूति हुन्छ। वर्षाको एकोहोरो झरीमा रुझेर हिलोमा खेल्दै, दहीचिउरा खाँदै लोकभाकामा असारे गीत गाउँदा अलौकिक आनन्द प्राप्ति हुन्छ।

सुख, दु:ख, प्रेम मिलन र वियोगको भावनाहरूलाई हास्यव्यंग्य रसमा गाउँदा मानसिक आनन्द त प्राप्त हुन्छ नै मुग्लान पसेका प्रेमीहरूको सम्झनाले रोपाहारहरूको कोमल मनसमेत भक्कानिन्छ। असारे भाकामा गुञ्जिने यस्ता लोक सुसेलीहरूमा जीवनका विरह र वेदनाहरू लुकेको पाइन्छ।

अलिखित महाकाव्यको रूपमा रहेका यी लोकगीतहरू नै मानव सभ्यताका आलोक हुन्। आफ्नो अतीतको सम्झना र भविष्यको कल्पनामा गाइने लोक आलापहरूमा सभ्यताको राग मात्र गुञ्जिँदैनन्, प्रकृतिको उपासना र अनुष्ठानको भावार्थलाई मुखरित गरिएको पाइन्छ।

अदृश्य शक्तिप्रतिको आस्था र विश्वासलाई समेत सम्बोधन गरी गाइने असारे गीतको भाकामा जीवनप्रतिको साँचो प्रेम पोखिन्छ। कात्तिक मंसिरताका तरेली परेका फाँटहरूमा झुल्ने धानका सुनौला बालाका कल्पनाले किसानहरू आफ्ना कस्तै दु:खलाई पनि भुल्दछन्। भौतिक यन्त्रणाबाट प्रताडित भई त्यसबाट छुटकारा पाउनका लागि दार्शनिक रुसोले प्रकृतितर्फ फर्क भनेर त्यसै भनेका होइनन्। आध्यात्मिक र मानसिक शान्तिको लागि कृषि जीवनको महत्व छ।
...
बदलिँदो सांस्कृतिक र राजनीतिक परिवर्तनसँगै कृषिकर्ममा परिवर्तनका लहरहरू देखा परेका छन्। मानिसहरू सुखको चाहनामा सहर पसेका छन्। कृषि जीवनमा मानिसको वितृष्णा बढेको देखिन्छ। खेतबारी बाँझै राखेर मुग्लान पस्ने परम्पराले प्र श्रय पाएको छ।

कृषिकर्ममा युवाशक्तिको आवश्यकता हुन्छ। तर गाउँहरू युवाविहीन भएका छन्। बचेखुचेका महिला, बालबालिका र वृद्धवृद्धाहरूले मात्र कृषिकर्म गर्न सक्तैनन्। नेपाल कृषिप्रधान देश हो।

आज पनि करिब ८० प्रतिशतको हाराहारीमा जनताहरू कृषिकर्ममा आश्रित छन्।यो तथ्यलाई बुझ्दाबुझ्दै पनि सम्बन्धित सरकार नेपाली युवाको बैंस र जवानीलाई सस्तो मूल्यमा विदेशी भूमिमा बेची आएको पैसाले समग्र देशको अर्थतन्त्र धान्न विवस भएको छ।

पैसा कमाउने अभिलाषामा जहाज चढेर, मुग्लान भासिनेहरू प्रत्येकदिन कफिनमा फर्कने नेपाली युवाहरूको दर्दनाक नियतिलाई सरकार लाचार बनेर हेरिरहेको छ। आजभन्दा १२ वर्षअगाडि २०५९ भदौ ४ गने इराकामा भएको १२ जना नेपालीहरूको बीभत्स हिंसाको शृंखला फेरि अफगानिस्तानमा दोहोरिएको छ।

भयंकर डरलाग्दो भविष्यको आगमनका संकेतहरू यसअघि धेरैपटक घटित भइसकेका छन्। विप्रेषणको नाममा युवाको रगतमा पौडिन बानी परेका नेता प्रणेताहरू नेपाली छोरीहरूको अस्तित्वलाई समेत बम्बैको वेश्यालयलगायत खाडी राज्य र मरुभूमिमा बेच्न लालायित छ। हलो अड्काएर गोरु चुट्न पल्केका आफूलाई राष्ट्रको नोकर सम्झनेहरूले मदिराको मादकतामा राष्ट्रगान गाउनुको कुनै तुक छैन।

वर्षको एक दिन असार पन्ध्रमा रोपाइँ दिवस मनाएर पाँचतारे होटेलमा राष्ट्रदोहन गर्नेहरूले कदापि रगत र पसिनाको मूल्य बुझ्न सक्दैनन्। कृषि क्रान्तिको नारा ओकलेर सत्तामा पुग्नेहरूका लागि रोपाइँ दिवस फगत मनोरञ्जन र नाटकीयता मात्र हो।

साँच्चै आफ्नो आमा र मातृभूमिप्रति आस्था छ र आफूलाई नेपाल आमाको सपूत ठान्छन् भने अहंकार र भ्रष्टाचारको खेती गर्न छाडी आध्यात्मिकता र राष्ट्रियताको बीजारोपण गर्न एकजुट भइ कृषिकर्ममा लाग्नै पर्ने बेला आएको छ।

होइन भने विदेशबाट आयातीत विप्रेषणले नेपालको उर्वरभूमि नास भई सिमेन्ट र कंक्रिटले ढाक्ने डरलाग्दो संकेत देखा परिसकेको छ। यसबाट मुक्त हुन र कृषि क्रान्तिलाई साकार पार्न समयमै सचेत हुनैपर्ने बेला भइसकेको छ।

युवाहरू बाध्य भएर बिदेसिने परम्पराको प्रभावले अप्रत्यक्ष रूपमा नेपालको सामाजिक र सांस्कृतिक संरचनामा विचलन देखा परेको छ। मलाम जाने मलामी समेत गाउँमा नहुने यथार्थ एकातिर छ भने अर्कोतिर पारिवारिक विखण्डनले गर्दा चरम निराशा र सामाजिक अनाचार बढेको छ।

युवालाई विदेशमा जान रोकी स्वदेशमै रोजगार सिर्जना गर्नको लागि कृषितर्फ पर्याप्त लगानी गर्नैपर्ने आवश्यकतालाई सत्तामा बस्ने र नेतृत्व गर्नेले बुझ्नै पर्छ। अनि मात्र रोपाइँ दिवसको सार्थकता सावित हुनेछ। ०००


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.