'यस्तोलाई कसले हिरोइन बनाएको भन्दै गाली गरे'
दीपक रायमाझीको निर्देशनमा बनेको चलचित्र 'भाग्यरेखा' बाट मैले ठूलो पर्दामा पाइला राखेकी हुँ। त्यसको एक वर्ष अगाडिदेखि नाटक र टेलिफिल्ममा काम गर्दै आएकी थिएँ। २०४३ सालतिरको कुरा हो। म राष्ट्रिय नाचघरमा काम गर्न थालिसकेको थिएँ।
त्यतिबेला मञ्चन भएको एक नाटक महोत्सवमा ललितकला क्याम्पसमार्फत प्रदर्शन गरिएको मेरो पहिलो नाटकमै उत्कृष्ट अभिनेत्रीको उपाधि हात पारेँ। यसले मलाई अभिनयमा लाग्ने हौसला मिल्यो। त्यसैले अभिनय गर्दा कहिले पनि नर्भस भइनँ।
साहित्यकार भवानी भिक्षुको उपन्यास 'त्यो फेरि फर्केला? ' मा आधारित टेलिफिल्म मेरो सानो पर्दामा पहिलो काम थियो। रमेश बुढाथोकीको निर्देशनमा बनेको उक्त टेलिफिल्मको कथावस्तु एउटी महिलाको जवानीदेखि वृद्धावस्थासम्मका पलसम्म घुमेकोले मेरो भूमिका पनि त्यस्तै थियो।
ठूलो पर्दाको चलचित्रको लागि क्यामरा अगाडि आउँदा चाहिँ केही नर्भस भएँ। क्यामराको पछाडिमात्रै होइन, वरिपरि हेर्ने मानिस टन्न हुन्थे। यत्तिकैमा निर्देशकले चर्को आवाजमा एक्सनभन्दा त्यत्तिकै नर्भस भइन्थ्यो। अन द स्पट संवाद कण्ठ पार्नुपर्ने भएकाले गाह्रो हुन्थ्यो।
पहिलो सट चितवनको नारायणी नदीको छेउमा पानी बोकेर आउने सिन थियो। दीपक रायमाझी एकदम कडा निर्देशक। त्यसैले मैले वान टेकमै ओके गर्नुपर्छ भन्ने लागेको थियो। तर उहाँको स्वर सुनेर नर्भस भएपछि मैले टेकका टेक खाएँ।
निर्देशक रायमाझी कुनै पनि कलाकारसँग रिसाउनुभयो भने उहाँले हामीलाई गाली त गर्नुहुन्नथ्यो। तर आफू रिसले मुर्मुर्रिएर वरिपरि फनफन्ती घुम्नुहुन्थ्यो। पहिलो सिनमा ३ टेक खाए पनि पछि मलाई समूहका अन्य साथीहरूले सहयोग गरे र काम गर्न सजिलो हुँदै गयो।
त्यसपछि 'दौरा सुरुवाल', 'चंगा', 'घर परिवार'लगायतका मेरा टेलिफिल्म पनि दर्शकमाझ आए। 'चंगा'लाई सार्क सम्मेलनमा देखाइँदा यो तेस्रो भएको थियो। त्यसैगरी १३ भागको 'घरपरिवार'मा एउटी महिलाले विवाह नगरी आफ्नो परिवारको लागि गरेको त्यागको कथा देखाइएकोले लोकप्रिय भयो।
अफिसको काम सकेर घर फर्कंदा जमलको बाटोमा तरकारी बेच्ने महिलाहरूले समेत तपाईंका टेलिफिल्म कस्तो राम्रो, हाम्रै घरको कहानी जस्तो लाग्छ, त्यसैले कहिले आउला भनेर कुरेर बस्छौं भन्थे। सबैले आआफ्नो पसलमा भएका साग, धनियाँलगायतका तरकारी त्यसै दिन्थे। त्यसमा उनीहरूको माया मिसिएकाले मैले नाइँ भन्न सक्दिनथिएँ।
श्याम राईको चलचित्र 'चोट'मा मैले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेकी हुँ। त्यसपछिको चलचित्र 'विजय पराजय' पनि निकै चर्चित भयो।
चलचित्र 'ज्वाला'को एउटा दृश्य बाराको बरियातपुरमा छायांकन गरिएको थियो।
होलीको गीतमा गाउँमा छायांकन गर्नु थियो। बम्बईबाट फर्केका नृत्य निर्देशक वसन्तजंग रायमाझी पनि निकै कडा स्वभावको हुनुहुन्थ्यो। डरले गर्दा कोही पनि छेउ पर्न गाह्रो मान्थे।
छायांकनमा गाउँका सबै हुन्थे। तर गीतमा कुनै स्टेप अलि भल्गर लागेकाले मलाई गर्न मन लागेन। त्यसपछि उहाँले 'कहाँबाट उठाएर ल्याएको यसलाई, यस्तोलाई कसले हिरोइन बनाएको' भन्दै रिसाउनुभयो।
पहिले काम गर्न निकै रमाइलो हुन्थ्यो। सुटिङ युनिट एक डेढ महिनाको लागि बाहिर गएपछि काम सकाएरमात्रै फकिन्थ्यो। त्यहाँ एकअर्काबीच सहयोगी भावना हुन्थ्योे, आत्मीयतापन हुन्थ्यो।
अहिले त्यस्तो अनुभूत हुन्छ जस्तो लाग्दैन। कुनै चलचित्रमा भने हिरोइनले नुहाउने, यो गर्ने त्यो गर्ने भनेर स्क्रिप्टमै नभएका अनावश्यक दृश्य थपिन्थ्यो। त्यतिबेला हामीलाई युज गर्न खोजेको पो हो कि भन्ने पनि लाग्थ्यो। सुटिङमा मात्रै होइन, डबिङमा पनि मेहनत गरिन्थ्यो। दुःख गरे अनुसार मजा पनि आउँथ्यो।
प्रस्तुति: रामकला खड्का
प्रतिक्रिया दिनुहोस !