नेपाली छाला भारत निकासीमा रोक
काठमाडौं: भारतले विभिन्न बहानामा नेपालको छाला आयातमा रोक लगाएको छ । भारतले गत चैत १९ गतेदेखि नेपाली छाला आयातमा रोक लगाएको हो । भारत निकासीमा रोक लागेपछि अहिले करिब एक अर्बको छाला थन्किएर बिग्रिने अवस्थामा पुगेको छ।
भारतको रक्सौलस्थित भारतीय भन्सारले 'नो अबजेक्सन सर्टिफिकेट' प्रणाली लागु गरेपछि नेपाली छाला निकासीमा बाधा पुगेको हो। नेपाल छाला उद्योग संघका अध्यक्ष संजय गिरीका अनुसार यसअघिसम्म नेपाल-भारत व्यापार सन्धिको दफा ५ अनुसार नेपालमा उत्पादित प्रशोधित छाला भारत निकासी गर्न पाउने व्यवस्था थियो।
'त्यही व्यवस्थाअनुसार नेपाली छाला उत्पादन विन्दुको सर्टिफिकेटको आधारमा भारत निकासी गर्दै आएका थियौं', अध्यक्ष गिरीले भने, 'तर चैतदेखि नो अबजेक्सन लेटर भनेर माग गरेपछि नेपाली छाला निकासीमा अवरोध भएको हो।'
उनका अनुसार रक्सौलस्थित भारतीय भन्सारका अधिकारीले सम्पूर्ण काम कम्प्युटर प्रणालीबाट सुरु गरिएको तथा छाला निकासी गर्न कलकत्तास्थित जनावरसम्बन्धी प्रयोगशालाबाट 'नो अबजेक्सन लेटर' आवश्यक परेको नेपाली उद्योगीलाई जानकारी गराएका थिए।
त्यसपछि नेपाली उद्योगीले नेपालका भेटेरिनरी चिकित्सकबाट छालाको परीक्षण गराई जनावर क्वारेन्टाइन सर्टिफिकेट उपलब्ध गराउने जानकारी गराएका थिए। तर, रक्सौल भन्सारका अधिकारीले उक्त सुझाव पनि नमान्दा उद्योगीले गत चैतदेखि छाला निकासी गर्न पाएका छैनन्।
भारतले विभिन्न बहानामा नेपालको छाला आयातमा रोक लगाएको छ । भारतले गत चैत १९ गतेदेखि नेपाली छाला आयातमा रोक लगाएको हो ।
निकासी गर्न नपाउँदा झन्डै दुई लाख थान वेट बफ लेदर र ब्रस्ट बफ लेदर अलपत्र परेको छ। नेपालमा छालासम्बन्धी १२ उद्योग सञ्चालनमा छन् जसको कुल उत्पादनको ८० प्रतिशत भारत निकासी र २० प्रतिशत स्वदेशमा उपयोग हुन्छ।
नारायण लेदर उद्योगका इन्चार्ज नेत्र मैनालीका अनुसार रक्सौल भन्सारले नेपालको भेटेरिनरी क्वारेन्टाइन सर्टिफिकेटलाई पनि मान्यता नदिएपछि उद्योगी थप मारमा परेका छन्। उनका अनुसार रक्सौल भन्सारका अधिकारीले विकल्पको रूपमा कलकत्तास्थित जनावरसम्बन्धी प्रयोगशालाबाट नो अबजेक्सन लेटर ल्याउन सुझाव दिएका थिए।
त्यसैअनुसार कलकत्तास्थित प्रयोगशालामा छालाको नमुना परीक्षणका लागि पठाइएको थियो। 'तर उक्त प्रयोगशालाका अधिकारीले एयरपोर्ट भन्सारमार्फत आउने वस्तुको मात्रै परीक्षण गर्ने जानकारी गराएपछि त्यहाँबाट पनि परीक्षण गराएर नो अबजेक्सन लेटर प्राप्त गर्न सकिएन', मैनालीले भने, 'अहिले निकासी गर्ने सबै बाटो नै बन्द भएको छ। यसरी नै लामो समयसम्म प्रशोधित छाला थन्किरहने हो भने केही महिनामै सडेर नष्ट हुने अवस्था आउन सक्छ।'
नेपालमा वीरगन्जस्थित नारायण लेदर उद्योग, प्रोगे्रसिभ लेदर उद्योग, मरियम लेदर उद्योग, स्ट्यान्डर्ड लेदर उद्योग, नेपाल लेदर उद्योग, ग्लोबल लेदर उद्योग, नेसनल लेदर उद्योग, नेसनल लेदर प्राइभेट लिमिटेड र एभरेस्ट लेदर उद्योग सञ्चालनमा छन् भने विराटनगरमा एसियन लेदर उद्योग, युनाइटेड लेदर उद्योग, नेपाल ट्रेनिङ लेदर उद्योग र पायोनियर लेदर उद्योग सञ्चालनमा छन्।
यस्ता उद्योगबाट राँगाभैंसीको वेट बफ ब्रान्ड र क्रस्ट बफ ब्रान्डको पाँच लाख थान छाला बर्सेनि उत्पादन हुन्छ । यस्ता उद्योगले मासिक दुईदेखि तीन हजार थानसम्म छाला भारत निकासी गर्दै आएका थिए। एक थान लेदर (३० स्वायर फिट) को बजार मूल्य ४५ रुपैयाँसम्म पर्छ।
यसैगरी बाख्रा र खसीको छाला वार्षिक १५ लाख थान उत्पादन हुन्छ। बाख्रा र खसीको एक थान लेदर (साढे तीन स्क्वायर फिट) को बजार मूल्य ३५ रुपैयाँसम्म पर्छ । यस्तो छाला ब्याग, जुत्ता, ज्याकेट, पर्स, सोफा र बसको सिटलगायतमा प्रयोग हुन्छ।
वाणिज्य विभागका निर्देशक हरिनारायण बेलवासेले भारतीय भन्सार कार्यालयले विभिन्न बहानामा नेपाली छालाको निकासीमा रोक लगाएको जानकारी दिए । उनले छाला उद्योगीको समस्याबारे मन्त्रालयलाई जानकारी गराइसकेको बताए।
यही असार २८ र २९ गते भारतको नयाँदिल्लीमा बस्ने नेपाल-भारत वाणिज्यसम्बन्धी बैठकमा छाला निकासीसम्बन्धी मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी भएको बेलवासेले जानकारी दिए । संघले छाला निकासीका लागि आवश्यक पहल गरिदिन वाणिज्य विभागमा बिहीबार ज्ञापनपत्र बुझाएको थियो ।