कृष्णभूषण बलको अप्रकाशित अन्तर्वार्ता
कवि कृष्णभूषण बलसँग २६ वर्षअगाडि बद्री भिखारीले लिएको लिखित, अप्रकाशित अन्तर्वार्ता यहाँ प्रस्तुत छ। बलका 'दाजु तिम्रो हात चाहिन्छ', 'भोलि बास्ने बिहान' आदि कवितासंग्रह प्रकाशित छन्। आज बलको पाँचौं स्मृति दिवस हो।
सम्झनामा प्रेम गरेका कुराहरू छन्। असफल दुईमध्ये को भयौं कुन्नि। यौवनको उषाकालका ती नीलिमा, अरुणिमाहरूलाई अझै भेटौंभेटौं लाग्छ।
भूषण दाइ तपाईं लेखन क्षेत्रमा किन र कसरी आकृष्ट हुनुभयो?
म जन्मेको ठाउ“को भौगोलिक वातावरण र आमाको ममताबाट टाढिएपछि भावुक भएँ कि ? सानैदेखि कविता लेख्थेँ।
कवितामात्रै रोज्नुको कारण ? गद्यले किन तानेन?
मानिस चारैतिर लाग्न थाल्यो भने उसको नाम त होला तर कुनै एउटा विधामा उसको छुट्टै किसिमको दखल भने सायद हुँदैन, मैले कविता नै लेख्न सकेको छैन, लेखिसकेँ या लेखेर चित्त बुझ्ने पनि सायद छैन होला, गद्य त शंकर लामिछानेले लेखेका छन्।
गद्य कविता गेयगुणरहित, कलाशून्य, निरस र रूखो हुन्छ। केही छन्दवादी कविको गर्जाइ छ। 'मल कविता' विशेषण उपयुक्त छ ?
-त्यसो हैन। कविता स्वयं नै साहित्यको नरम पक्ष हो, मीठो हुन्छ। कुद्नुपर्छ कविता, चाहे त्यो पद्यमा होस् या गद्यमा। पूर्वाग्रहीहरूमा थप केही कुरा घुसाउन सकिन्नँ।
समकालीन नेपाली कविताले आत्मसात् गरेका चेतनाहरू- भावगत दिशा, निशाना?
-सामाजिक दर्शन, यसको मूल्य र मान्यता। कुण्ठा र आक्रोश कविता होइन मेरो विचारमा, समसामयिक विषयलाई पनि अमर बनाउन सकिन्छ, प्रतीक प्रयोग त्यसरी हुनुपर्ला। यसको निशाना समाज उठाउने एकलव्य हुनुपर्छ।
समकालीन नेपाली कविताको शिल्प-सम्पदाका प्राप्ति, अप्राप्ति र यसका दिशाहरू?
-निराश छु। चिन्तनको अत्यन्त कमी छ। नक्कल प्रणाली थुप्रै बढ्यो। साधनालाई रत्तिभर ख्याल गरिएन। मसँग त थुप्रै कमी छन्, रातदिन नाउँ कमाउनेहरूले यस दिशातर्फ सोच्नुपर्ने हो।
तपाईंको ठहरमा लेखन क्षेत्रका विशिष्ट विश्वप्रतिभाहरू?
-सबै विशिष्ट भएर नै विश्वप्रतिभा भए के भनौं ? पूर्वमा कालीदास विशेष रुचाउँछु।
लेखन र प्रकाशनका क्षेत्रमा राजधानी र मोफसल— तपाईंका दृष्टिमा अन्तरहरू?
- राजधानी— सबै अड्डाको केन्द्रीय कार्यालय रहने ठाउ“ हो। केन्द्रबाट जे तोक लाग्छ, नरुचे पनि पचाउनुपर्छ। मोफसल बाहिरको अड्डा हो।
मैले थोरै लेखेँ वा त्यति राम्रो लेख्न सकेको छैन वा अलि बढी सक्रिय रहन पाए हुन्थ्यो भन्ने के सोच्नुहुन्छ?
-शतप्रतिशत सहमत छु, मैले भन्ने कुरा सबै यहाँले नै भनिदिनुभएकोमा धन्यवाद।
तपार्इंका भित्री कवि-साथीहरू तपाईंलाई कस्ता लाग्छन् ? विशाल गुटबन्दी छ अरे नि हो ?
- म त सबैलाई भित्री नै ठान्छु तर बीसौं वर्ष एकै ठाउँमा सुतेर पनि साथीले घुरेकोसम्म थाहा नपाउने म हुस्सु हु“। मेरा हितैषीहरू मलाई माया गर्छन्।
सुरापान र कविता लेखन-सम्बन्ध छ ?-कविता लेखनको सुरापानसँग सम्बन्ध छैन- मेरो निजी विचार। लेख्नुपर्दा सचेतताको आवश्यकता त्यति नै छ, जति एउटा बौद्धिक समूहले एउटा कविसँग आशा राख्छ।
पूर्वाञ्चलको सबैभन्दा ठूलो कवि अरे तपाईं हो?
-छी, कसले भन्यो तपाईंलाई ? 'आहारिसेहरूले गरी खानु' जान्नु पर्यो। तपाईंमार्फत यो सन्देश।
भूषण त एक नम्बरको घमण्डी पो छ त— कसैको यो टिप्पणीलाई तपाईं ठाडै बदर गर्नुहोला...?
- कैयौं अर्थमा स्वाभिमानी छु। यसलाई घमण्डीको संज्ञा दिन मिल्ला र... कसैको यस्तै टिप्पणी आए ठाडै बदर गर्न सक्छु। मसँग भेट्ने जोसुकै मेरो मिजाससँग परिचित छन्... घमण्डी भन्दा होलान् भन्ने शंका त मलाई पनि थियो।
खाँदाखाँदै वा लेख्दालेख्दै कुनै मान्छे आए भने तपाईं कुन बेला बढी रिसाउनुहुन्छ ?
- आजकाल रिस नै हरायो। किन हरायो ? के उमेरले यस्तो सजाय पनि दिन्छ र... छक्क पर्छु। दुवैपटक दुवै बेलामा प्रसन्न हुने बानी त छैन। त्यति हुँदाहुँदै पनि।
जीवन कस्तो बित्दैछ?
- जीवनजस्तै छ, जे आफूसँग छ त्यसैमा मानिस रमायो र महत्वाकांक्षी भएन भने जोसुकैको जीवन सजिलै गुड्किन्छ।
अब, नढाँटी भन्नुस् त...
- सम्झनामा प्रेम गरेका कुराहरू छन्, असफल दुईमध्ये को भयौं कुन्नि। यौवनको उषाकालका ती नीलिमा, अरुणिमाहरूलाई अझै भेटौंभेटौं लाग्छ।
माथिका केही टर्रा प्रश्नका निम्ति मलाई कवितामै माफी दिन राजी हुनुहुन्छ ?
- थाकेको छु यस्तो ज्वलन्त यथार्थ
दुखेको छु कताकता कस्तो यथार्थ
अभाव र अँगेनो दुखेन मलाई
जसरी एउटा स्वाभिमानी देशभक्त भन्छ
गोलीले कहिल्यै दुखाउँदैन एउटा युद्ध नायकलाई
जति उसलाई देशको सिमाना दुख्छ
यस्तै यथार्थ ढाँट्दैछु तपाईंलाई
यस्तै वास्तविकता ढाँट्दैछु तपाईंलाई