जीवनभर संगीत साधना

जीवनभर संगीत साधना

संगीत

सिरीमा सिरी नि कान्छा बतासै चल्यो
बाबरी फूलको वासना सुन मेरो निर्माया
मायालु आयो नि कान्छा फालै र हान्दै
नबोले पनि हाँस न सुन मेरो निर्माया

ज्ञानु राणा र नारायणगोपालले गाएको यो गीत कुनै समयमा नेपाली जनजनको मुखमा झुन्डिएको थियो। अझै पनि यो गीतका श्रोता घटेका छैनन्। मीठो स्वरका कारण ज्ञानुका गीत मन पराइए। ‘संगीतमा पीएचडी, मास्टर जे गरे पनि स्वर मीठो नभए श्रोताको मन छुन सक्दैन', यो उनको विचार हो, ‘भोकल टोन मीठो हुनुपर्‍यो, गड गिफ्ट चाहिन्छ, त्यसलाई गुरुले मलजल गरेर सिकाए भने सुपरहिट हुन्छ।'

जनकविकेशरी धर्मराज थापाकी छोरी, जन्मेदेखि संगीतको माहोल भेटिन्। बुवाकै पथमा १२ वर्षको उमेरदेखि लोकगीतबाटै संगीतयात्रा थालनी गरिन्। स्वरको जग बलियो बनाउन ६ वर्ष शास्त्रीय संगीतको शिक्षा लिइन्। अहिले उमेरले ६० नाघिसक्दा उनका गीत पनि चार हजार नाघिसके। राजधानीको कमलादीस्थित एक रेस्टुरेन्टमा भेटिएकी ज्ञानु नयाँ पुस्ताकी संगीत विद्यार्थी गीता पाण्डेलाई आफ्ना अनुभव सुनाउँदै थिइन्।

शास्त्रीय संगीतकी विद्यार्थी गीतालाई संगीतको व्यावहारिक ज्ञान दिइरहेकी उनी भन्दै थिइन्— शास्त्रीय सिक्यो भने स्वर बलियो हुन्छ तर शास्त्रीयमात्र गायन हो भन्ने म मान्दिनँ, अलंकार नै प्राक्टिस गर्नुपर्छ। अहिलेको शास्त्रीय संगीत सिकाइ प्रायः भारतको नक्कलमा छ।

बज्रयोगिनी, आर्यताराजस्ता नेपाली शास्त्रीय संगीत हराएर गइसके। भनिन्, ‘आफ्नो देशको संगीतलाई किन हेला गरिँदैछ। विदेशमै गएर गाउनुपरे पनि आफ्नो परिचय के हो त ? विदेशमा गएर विदेशी संगीत नै सुनाउँदा सूर्यको अगाडि बत्ती बालेजस्तो।'

नेपालीलाई चिनाउन लोकगीत नै गाउनुपर्छ। अहिले लोकगीत गाएर थुप्रै गायकगायिका चर्चित भएका छन्। देशविदेशमा कार्यक्रम गर्दै हिँडेका छन् तर ती गीतलाई उनी गीत नै मान्दिनन्। ‘ती कोठे म्युजिक हुन्, वाहियात। म यस्तालाई लोकगीत भन्दिनँ' उनले भनिन्। पीडित महिलाको व्यथा, तीज, उत्सव, दाउराघाँस गर्दा पोखेका गीतलाई लोकगीत मान्छिन् उनी। आफ्नो बुवाले जति लोकगीतमा अरू कसैले योगदान गर्न नसकेको उनी बताउँछिन्।

यहाँ मौका मिल्दा सबै गीत गाउन तयार हुन्छन् तर ज्ञानुको सुझाव, जस्तो गीत गाउने हो आफूलाई त्यही बाटोमा मात्र ढाल्दा बेस। नयाँ पुस्तामा संगीतप्रतिको आकर्षण उनलाई चित्तै बुझेको छैन। धेरै कमर्सियल भएका छन्। राम्रो गीत गाउनेहरू पनि सेलिब्रेटी बन्ने होडमा कुद्दैछन्। आफूचाहिँ सधैं संगीत साधनामै लीन रहिन्। ‘रेडियोमा गाएर घर आएर सुन्दा डिप्रेसन हुन्थ्यो, कमजोरीमात्र देख्थेँ, त्यसलाई सुधार्ने ध्यानमात्र हुन्थ्यो, कहिल्यै सन्तुष्ट भइनँ', आफ्नो गायनको विगत सम्झँदै उनले भनिन्।

धेरै स्वर मीठो भएका कलाकारहरू परिचय नै नपाई हराएर गएका छन्। आफ्नै समयका सुशील कंसाकार, बाबा राणालाई सम्झिइन्। जीवन नै संगीतमा समर्पण गरिसकेर उत्तराद्र्धमा आइपुग्दा केही गुनासो जन्मिएछन्। कलाकारलाई राज्यले वास्तै गर्दैन। राज्यले मौका दिएको भए सुशील, बाबाजस्ता कलाकार हराउँदैनथे। कति कलाकारलाई बिहान बेलुकाको छाक टार्नै धौधौ छ। कलाकारलाई देशको गहना भन्छन् तर गहनाको सुरक्षा राज्यको प्राथमिकतामा कहिल्यै परेन।

कोइलीदेवी सात दिन थला पर्दासम्म राज्यले थाहा पाएन। कतिपयको त मर्दाखेरि लाससम्म उठाउन सकेनन्। ‘लालबहादुर खाती र रामशरण नेपालीको लास उठाउन हामीले गीत गाएर पैसा उठायौं', अलि जोशिएर भनिन्, ‘जिन्दगीभर संगीत साधना गर्नेको हाल यही हो त।' अहिलेका संगीतकर्मीको अवस्था केही राम्रो भएको सुनेकी छन् तर उनले देखेकी छैनन्।

धेरैजसो कलाकारको अन्तिम अवस्था नाजुक तरिकाले बितेको छ। भन्छिन्, ‘सांसद नेता भएको भए वास्ता हुन्थ्यो होला, हामी कलाकारलाई कसले वास्ता गर्ने ? ' राज्यले मरेपछि पुरस्कार दिएजस्तो भने गर्न जानेको छ। मरेपछि होइन, बाँचेकै अवस्थामा गुनगान गाइयोस्— राज्यसँग यही आग्रह छ उनको।

चर्या गीत गाउनका लागि पाकिस्तान, बंगलादेश, जापान, सिंगापुर, रुसलगायतका देश पुगिन्। दर्जनभन्दा बढी लाइभ पर्फरमेन्स गरेकी ज्ञानुलाई फेरि एकल साँझ गर्ने चाहना छ तर सजिलै प्रायोजक भेटिँदैनन्।

ललितकला क्याम्पसमा संगीत परीक्षा लिन बेलाबेलामा पुग्छिन्। पुराना लोकगीतहरू मरेर जान लागे भनेर खुब चिन्ता छ उनलाई। त्यसैले संगीत कलेजहरूमा गेस्ट टिचरकै रूपमा भए पनि गएर आफ्नो समयका केही गीत सिकाउन चाहन्छिन्।

अहिले उनको बिहान पूजापाठ र रियाजमा बित्छ। अरू समय आध्यात्मिक पुस्तक पढेर बिताउँछिन्। खप्तड बाबाको पुस्तक, धर्मविज्ञान, शिवपुरी बाबाको स्वधर्मलगायतका आध्यात्मिक पुस्तक पढ्न रुचाउँछिन्।

गीतभन्दा कम मीठो छैन उनको गफै पनि। यो मिठासमा उनको सकारात्मक सोच झल्किन्छ। ‘समय खेर फाल्नु हुँदैन, पहिले यो बुद्धि आएन', उनले भनिन्, ‘काम त गर्थें तर केयरलेस गरेँ, मेरो समय चिप्लिसक्यो, अहिले पनि मोतीको दानाजस्तो समयलाई कसरी सदुपयोग गरौंजस्तो हुन्छ।'

जतिसुकै सकारात्मक भए पनि मानवीय संवेदना हो, रिस त उठ्छ नै। रिस उठ्दा बोल्दै बोल्दिनन्। आफैं चित्त बुझाउँछिन् अनि आफैं ठीक हुन्छिन्, अर्को मान्छेप्रति सिम्प्याथी आउँछ। उनको खुसी पनि संगीत नै हो। जहिले रेकर्डिङको दिन एकदम खुसी हुन्छिन्। गीतबाहेक अरू सपना पनि छैन। राम्रो लगाउने, मीठो खाने, विदेश जानेभन्दा गीत गाउने कुरामा बढी रमाउँछिन्। सांगीतिक कार्यक्रममा जाँदा खुशी हुन्छिन्। संगीत सिक्ने धोको अर्को जुनीमा पनि यस्तै होस् भन्ने चाहन्छिन्।

नेपालका धेरै जिल्लामा गीत गाउन गइन्। जहाँ पुगे पनि श्रोताले उनको नामले नै चिनिदिन्थे। अब उनलाई हिमाली भेगतिर जान मन छ। गीत गाउनकै लागि गएका ठाउँमध्ये सिक्किमको अनुभव कहिल्यै बिर्सन नसकिने रहेछ। ३५ वर्षअगाडि सिक्किममा, आज पानी परेन किन बोलको गीत गाउनेबित्तिकै दर्शक श्रोता तितरबितर हुनेगरी बेस्सरी असिनापानी परेछ। धेरैले उनलाई स्वरमा जादु रहेछ भनेका थिए रे।

मीरा राणा, तीर्थ कुमारी, तारा थापा उनका मिल्ने साथी हुन्। तीर्थ कुमारीका छोरा सुरज र उनका छोरा विकास राणा पनि गीत गाउँछन्। छोराहरूले गीत गाएको देख्दा आफू धेरै टाढा पुगेजस्तो लाग्छ रे। उनलाई नारायणगोपालसँग गीत गाउन सजिलो लाग्थ्यो। आफ्नै गीतमा उनलाई ‘मान्छेको माया यहाँ' र ‘कसैले बुझेन मेरो मनको बहलाई' अलि बढी गुन्गुनाउन मन लाग्छ। अरुणा लामाको ‘हेर न हेर कान्छा' साह्रै राम्रो लाग्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.