नवइतिहासको खोजी

नवइतिहासको खोजी


नेपालको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रलाई ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्त सम्पन्न र महत्वपूर्ण मानिन्छ।

विसं २००५ भदौ ५ गते अछामको दर्ना गाविस पाटेखेत गाउँमा जन्मेका, सुरुमा प्रहरी सेवामा प्रवेश गरी त्यसपछि शिक्षण पेसामा संलग्न भएका र अहिले राजनीतिक क्षेत्रमा प्रवेश गरी समाजसेवा गरिरहेका आख्यानकार गगनसिंह थापाका आख्यानले हामीलाई त्यतैतिरको जनजीवनलाई छर्लंग पारेर देखाउँछन्।

त्यतैतिरको जनजीवनमा आधारित उनको पहिलो कृति 'सोह्र सौगात' (२०३५) हो। यो कर्णबहादुर थापासँग मिलेर प्रकाशित गरिएको कथासंग्रह हो। यो कृति प्रकाशित भएको पैंतीस वर्षपछि 'कर्णालीको छेउछाउ' (२०७०) उपन्यास प्रकाशित छ।

यसमा उनले कर्णाली क्षेत्रको प्रकृति र संस्कृति देखाएका छन्। त्यहाँका भुइँमान्छेले भोगेका अनन्त दु:ख, दैन्य, पीडा र यातनालाई सारै मार्मिक पारेर प्रस्तुत गरेका छन्। 'पुर्खाको चिठी' (२०७२) उनको तेस्रो कृति हो। यो उपन्यास हो। यसमा पनि भुइँमान्छेकै हृदयविदारक कथा छन्।

आछामतिर 'काला सिपाही आयो, लैजान्छ' भनेर युवाहरू किन भयभीत हुन्थे?, त्यतातिर अहिले पनि मानिस एकअर्कासित रिसाउँदा तँलाई हलानामा हाल्छु, तेरो कानमा बाती बाल्छु, तँलाई शूलीमा चढाउँछु, जिउँदै गाड्न लगाउँछु भनेर किन रिस पोख्छन्?

उनीहरूले यसरी गाली गर्न कसरी जाने ? यी गालीभित्र शासकीय बर्बरताको कस्तो इतिहास लुकेको छ ? कसैको बहादुरी बखान गर्नुपर्‍यो भने यो बाँकावीर हो भनेर किन भनिन्छ ? यी सबै कुरा थाहा पाउन पाठकले 'पुर्खाको चिठी' पढ्नुपर्छ।

 

यो ऐतिहासिक उपन्यास हो। इतिहासमा वा साहित्यमा पहिले शासितको बोली हुँदैनथ्यो, शासकको मात्र हुन्थ्यो। पुराना इतिहास साहित्यदेवता र राजामहाराजाका कुराले भरिएका थिए। तिनमा सानाका कुरा हुँदैनथे, भए पनि नगण्य हुन्थे। तिनमा ठूलाबडाका कुराले साना मान्छेका कुरा छेलिएका वा ओझेलमा पारिएका हुन्थे।

शासकहरूको जीवनी र उनीहरूका कार्यलाई मात्र इतिहास मानिन्थ्यो तर अहिले साना मान्छेको पनि इतिहास लेखिनुपर्छ भन्ने मान्यता विकसित भएको छ। यो उपन्यास यही मान्यतामा आधारित छ। त्यसैले यो पुरानो होइन नवइतिहास हो। यसमा शासितहरूको अलिखित इतिहास छ।

यसमा नेपालको समग्र इतिहास छैन, प्रादेशिक वा खण्डइतिहास छ। यसमा नेपालको मध्यपश्चिमको र खासगरी अछामको इतिहास छ। शासकका इतिहासले शासितका कुरा कहिल्यै लेखेन। त्यसले उनीहरूको इतिहास छोपेर राख्न खोज्यो, नामेट पार्न खोज्यो, तर उनीहरूको इतिहास लोकसाहित्य, उखानटुक्का, जन श्रुति र किंवदन्तीले सुरक्षित राखेका थिए।

तिनै इतिहासलाई उपन्यासकारले नवइतिहासका स्रोत सामग्री बनाएका छन्, औपन्यासिक सामग्री बनाएका छन्। यसमा शासितहरूको सिँजा राज्यको पतनकालीन, पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणकालीन र राणाकालीन आछामको अलिखित इतिहास छ। यतिमात्र होइन, यसमा बाइसे चौबीसे राज्यको पतनकालीन र ब्रिटिस उपनिवेशको कालो इतिहास पनि छ।

यो उपन्यास अहिले यति बेला किन लेखियो ? अहिले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आइसकेपछि उपन्यासकारले आछामका त्यति पुराना, छोपिँदै र नगन्य ठानिँदै आएका वर्गका कुरा किन उधिने ? अहिलेका समसामयिक र जल्दाबल्दा कुरा किन लेखेनन् ?

यस्ता प्रश्न हाम्रा अगाडि बारम्बार आइरहन्छन् तर उपन्यासले शासकले छोपेका भुइँमान्छेका अलिखित इतिहासकै कारण अहिलेका जल्दाबल्दा समस्या देखिएका हुन् भनेर व्यञ्जित गरेको छ।

उपन्यासमा वर्णन गरेअनुसार सबभन्दा ठूलो शक्ति ब्रिटिस शासन थियो। यसबाट शासित थिए नेपाली शासक। नेपालका शासकले ब्रिटिसको युद्ध लड्न आफ्ना जनतालाई पठाउनुपथ्र्यो। त्यसबापत ब्रिटिस शासकले नेपाली शासकलाई पैसा दिन्थे।

वास्तवमा यो शासकहरूले शासितलाई किनबेच गरेको नै हो। त्यसरी नै नेपाली शासकहरू स्थानीय शासकमाथि शासन गर्थे भने स्थानीय शासकहरूचाहिँ निरीह, शक्तिहीन जनताको चरम शोषण गर्थे।

उपन्यासको नायक हिमांशु ब्रिटिस लाहुरेको प्रतिनिधि पात्र हो। उसका माध्यमबाट लाहुर जान नमान्ने नेपाली युवामाथि के कस्तो अत्याचार हुन्थ्यो, उसका परिवारले के कस्ता दु:ख भोग्नुपथ्र्यो भन्ने कुरा देखाइएको छ।

त्यसरी नै नेपालका गोर्खाली शासकहरूले बाइसे चौबीसे राजाहरूलाई कसरी खतम गरे, एकीकरणकालीन नेपालमा पृथ्वीनारायण शाह र उनका भाइभारदारले र स्थानीय बाइसे चौबीसे राजाबाट जनताले कसरी शोषित र उत्पीडित हुनुपर्यो भन्ने कुरा देखाइएको छ।

खासगरी बहादुर शाह र अमरसिंहले राज्यविस्तार (१७८६-१७९०) गर्दा गरेको राजनीतिक हत्या, हिंसा र बर्बरताको चित्रण प्राथमिकताका साथ गरिएको छ। यसबाट नेपालको इतिहासमा अहिलेसम्म नलेखिएको शासक वर्गको क्रूर र अमानवीय कार्यको वास्तविक इतिहास प्रकट भएको छ।

यस इतिहासले जर्मनी क्रूर शासक हिटलरको क्रूरता र नृशंसताको झल्को दिन्छ। यसै गरेर यसमा जनतामाथि राज्यले गरेको आतंक र विदेशी शक्तिको हेपाहा प्रवृत्ति पनि देखाइएको छ। विदेशीले नेपाली जमिन कसरी लिए, नेपालको सिमाना कसरी मिचिँदै गयो भनेर पनि देखाइएको छ।

उपन्यासमा सामाजिक विभेद र शोषणलाई पनि महत्वका साथ प्रस्तुत गरिएको छ। नेपाली समाजमा सबभन्दा ठूलो लंैगिक र जातीय विभेद छ। पुरुषप्रधान समाजमा पुरुष शासक वर्गबाट नारीहरू कसरी उत्पीडित, बलात्कृत र बहिष्कृत हुन्थे भन्ने कुरालाई मार्मिक रूपमा चित्रण गरिएको छ।

त्यसरी नै शासक वर्गका स्थानीय प्रतिनिधिहरू काजी, मुखिया, जिम्वाल र शासकले सामान्य जनताको चरम आर्थिक शोषण कसरी गर्थे, उनीहरू के कस्ता उर्दीपत्र, आदेशपत्र जारी गर्थे, त्यसको आतंकबाट जनता कतिसम्म त्रस्त र भयभीत थिए भन्नेजस्ता जिज्ञासाको उत्तर पनि यस उपन्यासले राम्ररी दिएको छ।

उपन्यासमा शोषित वा सीमान्तीकृत वर्ग दुई प्रकारका देखिन्छन्। एउटा बोल्नसक्ने वा प्रतिरोध गर्नसक्ने र अर्को बोल्न नसक्ने वा प्रतिरोध गर्न नसक्ने। यस्ता बोल्न र प्रतिरोध गर्नसक्ने वा नसक्ने नारी र पुरुष दुवै छन्। यस उपन्यासकी नायिका हिमानी क्रान्तिकारी छ। उसले बलात्कारीलाई हत्या गरेकी छ।

उपन्यासमा शासक र शासित दुवै वर्गको मनोविश्लेषण पनि विश्वसनीय ढंगमा गरिएको छ। कतै उत्पीडित वर्गको हीन मनोभावना र उत्पीडक वर्गको उच्च मनोभावनाको चित्रण छ भने कतै उत्पीडित वर्गको उच्च मनोभावना र उत्पीडक वर्गको हीन मनोभावनाको चित्रण पनि गरिएको छ।

उपन्यासले शासक वर्गमा मात्र होइन, सीमान्तीकृत वर्गमा पनि शक्ति हुन्छ, त्यो शक्ति विध्वंसात्मक मात्र हुँदैन, सिर्जनात्मक पनि हुन्छ, सीमान्तीकृत वर्गमा रहेको त्यही सिर्जनात्मक शक्तिले क्रूरतम शासकको अपरिवर्तनीय ठानिएको अधिनायकवादी सत्ता उल्टाउन सक्छ भन्ने विचार पनि प्रस्तुत गरेको छ।

यस्तो विचार बुझेर अहिलेका शासकले उदार लोकतान्त्रिक शासन व्यवस्था सञ्चालन गर्नुपर्छ, नत्र सीमान्तीकृत वर्गमा रहेको शक्तिले उनीहरूलाई जति बेला पनि सत्ताच्यूत गराइदिन सक्छ भन्ने आशय पनि व्यक्त गरेको छ। त्यसैले यो उपन्यास समसामयिक भएको छ।

सीमान्तीकृत वर्गको मर्म शासक वर्गले बुझ्दैनन्, त्यस वर्गको मर्म त्यही वर्गका व्यक्तिले बुझेका हुन्छन्। यो शासित, उत्पीडित वर्गको मर्म देखाउने उपन्यास हो। उपन्यासकार राजनीतिक रूपमा शासित वर्गका व्यक्ति हुन्। त्यसकारण यो उपन्यास उपन्यासकारकै कथा हो जस्तो लाग्छ र औपन्यासिक शैली पनि आत्मसंस्मरणपरक, जीवनीमूलक जस्तो देखिन्छ।

उपन्यासले उत्पीडित वर्गलाई देवत्वकरण पनि गरेको छ। उनीहरूकै नाममा मठमन्दिर बनाइएको, देवीदेवताको नाम राखिएको र उनीहरू लोक-देवीदेवताका रूपमा पूजित भएको देखाइएको छ।

उनीहरूकै नामका आधारमा स्थान नाम, उखान, गीत रचना, गाथा रचना भएको प्रमाण प्रस्तुत गरिएको छ। उपन्यासमा स्वप्नको प्रयोग पनि कलात्मक रूपमा गरिएको छ। यसको औपन्यासिक संरचना विचारणीय भए पनि बेजोड किताब नेपाली साहित्यमा आएको छ।

किताब : पुर्खाको चिठी (उपन्यास)
लेखक : गगनसिंह थापा
प्रकाशक : हिक्मत थापा
पृष्ठ : १९७
मूल्य : २००/-


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.