कहिले भत्किएला छाउपडी गोठ ?

कहिले भत्किएला छाउपडी गोठ ?

समाज
तल्लो पेट कटक्क काटेको छ। कम्मर दुखिरहेको छ। रगत बगिरहेको छ। सफा प्याड छैन। धारोमा गएर शरीर नुहाउन मन छ। तर, धारो छुन पाइँदैन। धारो छुनमात्रै कहाँ ! घाम छउन्जेल गोठ बाहिर निस्कन पाइँदैन। साँघुरो गोठमा लगातार कुँजिएर बस्नुपर्दा तपाईलाई कस्तो पीडा होला ? यो प्रश्न अछामकी विधुत्मा रैकाको हो।

१४ वर्षको उमेर पहिलोपटक रजस्वला भएकी थिइन् उनी। रजस्वला भएको थाहा पाउनेबित्तिकै आमाले एउटा कपडाको पोको पारेर छाउपडी गोठमा हत्तपत्त पठाइन्। ‘पहिलो, दोस्रो र तेस्रो पटकसम्म महिनावारी हुँदा गोठमा लुकेर बसेँ' आज ती दिन सम्झिँदा पनि अत्यास लागेर आउँछ उनलाई। भन्छिन्,– ‘घाम देख्न नपाइने, लुगा फेर्न नपाइने अनि भनेको बेला सफा हुन पनि नपाइने एकातिर एक्लै अत्यास लाग्थ्यो। अझ रातिमा कसैले आएर नराम्रो व्यवहार गर्‍यो भने !' अत्यासै अत्यासमा उनको तेस्रो पटकसम्मको महिनावारीका समय बित्यो।

विधुत्मा रैकाले झैं सुदूरपश्चिमका धेरै महिलाले छाउपडी गोठमा धेरै अँध्यारो दिनरात काटेका छन्। भगवान् रिसाउँछन् भन्ने त्रासका कारण उनीहरूले चुपचाप छाउपडी गोठमा महिनावारीको समय बिताइरहेका छन्। ‘म त अहिले सदरमुकाममा बस्छु। महिनावारी पनि बार्दिनँ,' विधुत्मा थप्छिन्, ‘अझै पनि गाउँका महिलाहरू छाउपडी गोठमा नै रात बिताइरहेका छन्।'

सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका जिल्लाहरूमा अविवाहित महिलाहरूले पहिलो महिनावारी हुँदा ११ देखि १५ दिनसम्म, त्यसपछिका महिनावारीका बेला पाँच दिनसम्म छाउपडी गोठमा बस्नुपर्ने प्रचलन छ। विवाहिता महिलाले चाहिँ चार दिनसम्म छाउपडीमा बस्नुपर्र्ने, सार्वजनिक स्थान (धारो, बाटो, विद्यालय आदि) प्रयोग र प्रवेशमा बन्देज लगाउने तथा पोषणयुक्त खाने कुरा (दूध, दही, घिउ, आदि) खान नदिने मान्यताका अझै पनि छ।

स्याङ्जा पुतलीबजारकी जुना बराल अहिले पनि महिनावारी भएपछि कपडाको छुट्टै पोको बोकेर गोठमा सुत्न जान्छिन्। ‘पहिलेदेखि हामीलाई नछुने हुँदा बार्नुपर्छ भनेर सिकाए' जुना थप्छिन्- ‘छोइछिटो गर्न त डर लाग्छ। मन मान्दै मान्दैन।'

महिनावारी भएको समयमा प्रयोग गर्न एक जोर थोत्रा लुगा, एक थान थाल, एउटा ओच्छ्याउने र ओढ्ने थोत्रो तन्नामा बेरेर बनाएको एउटा पोको उनको घरको दलिनमा झुन्डिरहेको हुन्छ। महिनावारी हुनेबित्तिकै लगाइरहेको लुगा फेरेर त्यही थोत्रो लुगा लगाउँछिन्। महिनावारीका बेला लगाउने कपडा उनी ‘अछूत' भएको सिम्बोल हो।

‘घाँस काट्छु तर नछुने हुँदा गाईलाई घाँस हालिदिन पनि हुँदैन गाईको दूध पनि खान हुँदैन', लक्ष्मीले भोग्दै आएको अछूत अवस्था यस्तो छ।

महिला साँच्चै अछूत हुन्छन् ?
महिनावारीका बेला महिला साँच्चिकै अछूत नै हुन्छन् त ? यही विषय प्रमाणित गर्न केही महिलाले परीक्षण नै गरेका छन्। पोखराकी अधिकारकर्मी बिना सिलवालले १५ वर्षअघि एउटा परीक्षण गरिन्। बिना सामाजिक कार्यकर्ता बनेर बागलुङ जिल्लाको रायडाँडा पुगेकी थिइन्। रायडाँडाको स्थानीय झाँक्रीको घरमा बस्दै आएकी उनले खाना उनीहरूसँगै खाने गर्थिन्।

महिनावारीका बेला भोगेको एउटा कथा सुनाउँदै उनले आफूले गरेको परीक्षणबारे यसरी बताइन्- ‘म बसेको घरको दाइ झाँक्री हुनुहुन्थ्यो। महिनावारी भएको मान्छेसँग छोइदा उहाँ काँप्नुहुन्छ भनेर भाउजूले सुनाएकी थिइन्। एक दिन खाना पकाउँदा पकाउँदै म महिनावारी भएँ। पुसको जाडो थियो। एकसरो ओढ्ने र ओच्याउनेमा रात कसरी काट्ने साह्रै चिन्ता भयो। मैले उहाँलाई केही भनिनँ। चुपचाप खाना बनाएँ। खान दिएँ। भाउजूसँगै सुतेँ। तर रातभर निद्रा लागेन।' बिना थप्छिन्, ‘मलाई दाजु कतिबेला काँप्छन् भन्ने चिन्ता थियो। तर, उहाँलाई केही भएन। न त काँप्नुभयो। न म महिनावारी भएको थाहा नै पाउनुभयो।' अहिले बिनालाई महिनावारीमा गोठ पुग्नु बकवासमात्रै लाग्छ।

‘पहिलो, दोस्रो र तेस्रो पटकसम्म महिनावारी हुँदा गोठमा लुकेर बसेँ। घाम देख्न नपाइने, लुगा फेर्न नपाइने अनि भनेको बेला सफा हुन पनि नपाइने एकातिर एक्लै अत्यास लाग्थ्यो। अझ रातिमा कसैले आएर नराम्रो व्यवहार गर्‍यो भने !'

काठमाडौंकी गायत्री सिग्देलले पनि छाउपडी गोठकै अनुभव नगरे पनि महिनावारी नबारेकोमा धेरै आरोप खेप्नुपर्‍यो। यतिसम्म कि श्रीमान् बिरामी हुँदा ‘महिनावारी नबारेर लोग्नेलाई बिरामी पारिस्' भन्ने आरोपसमेत परिवारबाटै बेहोरिन्। एउटी नेपाली महिलालाई आफ्नै लोग्नेको स्वास्थ्य स्थिति आफ्नो महिनावारीसँग जोडेर तुलना गर्दा कति पीडाबोध होला ! यो व्यथा सायदै कुनै पुरुषले अनुमान लगाउँलान्।

गायत्रीलाई महिनावारीमा महिला अछूत हुँदैन भन्ने आफ्नै घरमा प्रष्ट्याउन निकै कसरत नै गर्नुपर्‍यो। ‘ श्रीमान् बिरामी भएको मैले महिनावारी नबारेर हो भनेपछि मैले पनि हो कि होइन भनेर परीक्षण नै गरें।' उनी भन्छिन्, ‘ श्रीमान् सञ्चो भए पनि मैले महिनावारीका बेला पनि उहाँलाई छुन थालें। तर, त्यतिबेला अहँ उहाँलाई केही भएन। त्यसपछि महिनावारीमा आफू अछूत हो भन्ने सबै भ्रममात्रै हो भन्ने प्रष्ट भयो। उनी महिनावारी भएकै बेलामा आफ्नै करेसाबारीमा १५-२० थरीका तरकारी र फलफूल पनि लगाइन्। सबै फलफूल लटरम्म फलेका छन्।

के भन्छन् धर्मका व्याख्याता ?

संस्कृतिविद् आमोधवर्दन कौडिन्यायनका अनुसार, हिन्दु धर्मशास्त्र वेदले ब्रम्हाहत्याको पापमा चार भागको एक भागअन्तर्गत महिनावारी हो। महिनावारी हुँदा तीन दिनसम्म छुट्टै बस्ने स्पष्ट निर्देशन वेदमा भएको उनले बताए। महिनावारीको बेला तीन दिनसम्म सहवास नगर्नु भने पनि छाउपडी गोठमा पर छुट्टै लगेर महिलालाई राख्नुपर्छ भनेर कतै व्याख्या भएको छैन। न त त्यतिबेला अलच्छिनी हुने जस्ता कुतर्क धर्मशास्त्रले गरेको छ।

शिख धर्मले ‘महिला र पुरुषलाई हरेक अवस्थामा समान' मानेको छ। यस धर्मका प्रवर्तक गुरु नानकले त महिनावारीका बेला महिलालाई अपवित्र ठान्ने अभ्यासको भत्सर्ना नै गरेका छन्।

तर, हिन्दु धर्ममा चाहिँ महिनावारीलाई अछूत मानिएको छ। भागवतवाचक पण्डित कमलनयन गौतम धर्मका व्याख्याताले नै गलत व्याख्या गरेका कारण महिनावारीको अवस्थालाई अछूतका रूपमा हेरिएको बताउँछन्। धर्मका नाममा महिनावारीका बेला गरिने विभेद उपयुक्त नहुने बताउँछन्। उनी आफैं धर्म व्याख्याता हुन्।

आफ्नो घरमा आमा, भाउजूलाई कहिल्यै गोठमा नपठाएको बताउँदै उनले थपे, ‘शास्त्रले राम्रा कुरामा बन्देज गरेको छैन। महिनावारी हुँदा स्वस्थानी सुन्न नहुने भनेको छैन। न त खाने कुरामा नै बन्देज छ। हाम्रा पूर्वजले व्याख्या गरेका कारण महिनावारीलाई अछूत बनाइएको हो।'

के भन्छ कानुन ?
महिनावारीका बेला छाउपडी गोठमा बस्नुपर्नेजस्ता अन्धविश्वास तथा रुढिमा आधारित कुसंस्कारयुक्त सामाजिक परम्परालाई हटाउने सर्वोच्च अदालतबाट कानुन बनाउन सर्वोच्च अदालतको मिति २०६२ साल वैशाख १९ गते आदेश दिएको थियो।

सर्वोच्चको आदेश आएको दुई वर्षपछि सरकारले निर्देशिका बनायो। अहिले महिलाले महिनावारीको समय गोठमा बस्नुपर्ने बाध्यताको उन्मूलन गर्न छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६४ बनेको छ। निर्देशिकाले छाउपडी प्रथाका कारण महिला तथा बालिकाविरुद्ध हुने भेदभावपूर्ण व्यवहार, महिलाविरुद्धको हिंसा र निजहरूको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकोले यस्तो कुप्रथाको उन्मूलन गरी समतामूलक समाजको स्थापना गर्ने जनाएको छ। यसका लागि जिल्ला र गाउँस्तरमा समिति गठन गर्ने पनि निर्देशिकामै उल्लेख छ।

नेपालको संविधान २०७२ को धारा १८ (२), समानताको हकले शारीरिक अवस्थाको आधारमा भेदभाव गरिने छैन पनि भनेको छ। संविधान, कानुन, निर्देशिकाले महिलाको छुवाछूतविरुद्धको अधिकार स्थापित गरेको भए पनि कार्यान्वयन किन भएन ?

अधिवक्ता सीमा धामी भन्छिन्, ‘कुप्रथाको अन्त्य गर्न कानुन घरभित्र पस्न सक्ने अवस्था भएन। महिनावारी हुँदा अछूत मानिएको कारण एउटी छोरीले आफ्नै बाबुआमाविरुद्ध उजुरी गर्न सक्छे ? ' उनी थप्छिन्, ‘हरेक व्यक्तिको घरसम्म पस्न सक्ने कडा कानुन बन्नुपर्ने पहिलो सर्त हो अनि सामाजिक चेतना चाहिन्छ त्यसपछि मात्रै महिनावारीको नाममा महिलाले हरेक महिना छाउपडी गोठमा बिताउनुपर्ने नारकीय अवस्थाको परिवर्तन सम्भव छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.