सीधै नरकमा पुगेको त्यो लिफ्ट

सीधै नरकमा पुगेको त्यो लिफ्ट

कथा
पार लेगर्कभिस्ट
मिस्टर स्मिथले होटलको भव्य लिफ्ट खोल्यो र भुवादार कोटमा सजिएकी एक आकर्षक प्राणीलाई उत्तेजित पारामा आफूतिर खिच्यो। नरम सिटमा बस्दै त्यस धनाढ्य व्यापारीले सानी कदकी उक्त प्राणीलाई अंकमाल गर्‍यो। त्यसपछि लिफ्ट तल झर्न थाल्यो।

त्यो च्यान्टी महिलाको शरीरबाट पाउडर मगमगाइरहेकी थियो। उसले आधा खुलेको आफ्नो मुख माथितिर लगी र वाइनले भिजेका दुवै ओठ उसकोमा जोडी। यी दुईले तारा चम्केको खुला आकाशमुनि होटलको छतमा बसेर भर्खरै डिनर गरेका थिए। अब उनीहरू रमाइलो गर्न बाहिर निस्कँदै थिए।

‘प्रिय, त्याँ माथि कस्तो स्वर्गीय आनन्द थियो है', उसले स्मिथको कानमा खुसुक्क भनी। ‘कस्तो काव्यिक छ तिमीसँगको बसाइ। मानाँं, माथिका ती ताराहरूबीच बसेझैं। वास्तवमा यही त हो प्रेम भनेको। तिमी मलाई प्रेम गर्छौ नि, हैन ? '

जवाफमा स्मिथले लामो चुम्बन गर्‍यो। लिफ्ट तल झर्दै गयो।

‘प्रिया, राम्रो कुरो त तिमी आयौ।' उसले भन्यो। ‘नत्र मेरो कुन दुर्गति हुन्थ्यो होला !'

‘त्यो त हो। सोच त कति असह्य छ त्यो मान्छे। म यता आउन तयार हुँदै थिएँ। काँ जान ला'की भनी सोच्छ पो। मैले पनि भन्देँ— जहाँ जान मन लाग्छ त्यहीँ। म कुनै कैदी त होइन नि ! मेरो जवाफ सुनेर ऊ विस्तारै बस्यो। मैले कपडा फेरेको, नयाँ बेज लगाएको हेरिरह्यो। मलाई यो रङ सुहाएको त छ नि ? कस्तो रङ सुहाउँछजस्तो लाग्छ ? गुलाबी नै उत्तम होला, हैन ? '

‘तिमीले जे लगाए पनि अन्ततः त्यो तिमी नै बन्छ प्रिया। तर, तिमीलाई यति सुन्दर मैले पहिले कहिल्यै देखेको थिइनँ।'

तृप्त रूपले मुस्काउँदै उसले आफ्नो भुवादार कोट खोली। ती दुईले लामो चुम्बन गरे। लिफ्ट तल झर्दै थियो।

‘बाहिर निस्कँदै थिएँ। उसले मेरो हात कति जोडले समायो भने अहिलेसम्म पनि दुखिरा'छ। तर एक शब्द पनि बोलेन त्यसले। तिमीलाई के'था त्यो मान्छे कति निर्दयी छ। ल, गुडबाई भन्दै म निस्किएँ। तर ऊ भने केही बोलेन। कस्तो अविवेकी। घिनैलाग्दो। म त देख्न पनि सक्दिनँ त्यसलाई।'

‘विचरी तिमी।' स्मिथले थप्यो।

‘म चैं यसो बाहिर निस्कनै नहुनेजस्तो। यसो रमाइलो गर्नै नहुने जस्तो। तर था'छ तिमीलाई ? त्यो मान्छे कस्तो गम्भीर छ। कुनै पनि कुरा सहज र स्वाभाविक रूपमा लिनै सक्दैन। सधैं जीवन र मृत्युको दोसाँधमा उभिएजस्तो।'

‘विचरी मेरी प्रिया। कति पीडा हुन्छ होला तिमलाई !'

‘अहो, यति पीडित छु म। के भनूँ। अति। म जति पीडित त को होला र यो दुनियाँमा ! प्रेम के हो तिमीलाई भेटे पछि मात्र था'भो।'

‘प्यारी', स्मिथले उसलाई अँगालोमा बाँध्यो। लिफ्ट तल झर्दै थियो।

‘अहा, कति आनन्द !' अँगालोबाट छुटेपछि उसले लामो सास तान्दै आफ्नो खुसी व्यक्त गरी। ‘त्याँ माथि तिम्रो साथमा ताराहरू हेर्दै कल्पनामा डुबेको पल ! ओहो, कहिल्यै भुल्नेछैन। त्यो आर्भिडसँग यो सब असम्भव। सधंैको गम्भीर। त्यसलाई कविता के हो भन्ने पत्तो छैन। न त कविता नै बुझ्छ त्यसले।'

‘प्यारी, यो त अति भो।'

‘त्यै त। असह्ैय', तर मन्द मुस्काउँदै च्यान्टीले उसतर्फ अफ्नो हात बढाई, ‘भो याँ बसेर यस्ता कुरा नगरौं। रमाइलो गर्न जान लागेको बेलामा। तिमी मलाई साँच्चै नै माया गर्छौ नि, हैन ? '

‘गर्छु नि !' च्यान्टीको ढाडमा आड लाग्दै स्मिथले भन्यो। उसले लामो निश्वास लिई। लिफ्ट तल झर्दै गयो। स्मिथले उसको शरीर सुम्सुम्यायो। ऊ रातो भई।

उसले कानेखुसी गर्‍यो, ‘आज राति फरक तरिकाले सम्भोग गर्नुपर्छ, ल ? पहिले कहिल्यै नगरे जसरी। कसो ? '

स्मिथलाई उसले आफूतिर खिची र आँखा बन्द गरी। लिफ्ट तल झर्दै गयो।

तल, तल, झन् तल झर्दै गयो।

अन्ततः स्मिथ झल्याँस्स भयो। उसको अनुहार रातो भयो।

‘हैन, के भा'को छ यो लिफ्टलाई आज ? ' उसले आश्चर्य व्यक्त गर्‍यो। ‘किन रोकिँदैन यो ? हामी यहाँ बसेको त निकै पो भयो त। हैन र ? '

‘हो नि प्रिय, समय बितेको त पत्तै भएन।'

‘हे ईश्वर, हामी याँ बसेको त युगौं भइसक्यो ! हैन भा'को के हो यो ? '

उसले ग्रिलबाट बाहिर चियायो। चुक घोप्ट्याएझैँ लाग्ने अन्धकारबाहेक उसले त्यहाँ केही देखेन।

लिफ्ट एउटै रफ्तारमा तल, तल, झन् तल झरिरह्यो।

‘हे ईश्वर, के हुँदैछ यो ? ठूलो खाल्डोमा खसेझैं लागिरा'छ। अहिलेदेखि हो र ? ईश्वर नै जानोस्।'

त्यस पातालमा दुवैले आँखा गाढेर हेर्ने प्रयास गरे। तिनले केवल अँध्यारो देखे। तिनीहरू अन्धकारमा डुब्दैडुब्दै तलतल, झन् तल पुगे।

‘यो लिफ्ट नर्कतिर पो जाँदैछ कि क्या हो !' स्मिथले भन्यो।

‘हरे !' च्यान्टी उसको पाखुरा समाएर रुन थाली। ‘मलाई त कस्तो डर लागिरा'छ। इमर्जेन्सी ब्रेक खिच न।'

स्मिथले आफ्नो बल बुद्धिले भ्याएसम्म ब्रेक खिची हेर्‍यो। तर, केही उपाय लागेन। लिफ्ट सीधै पातालतिर हानियो उही रफ्तारमा।

‘कस्तो कहालीलाग्दो', च्यान्टी रुन कराउन लागी, ‘अब के गर्ने ! '

‘कसको के गर्ने अब ? ', स्मिथले भन्यो, ‘अचम्म !'

च्यान्टीले हरेश खाई। ऊ बलिन्द्र धारा आँसु बगाउन लागी।

‘नरोऊ मेरी प्रिया। होशले काम लिनुपर्छ। अब हामी केही गर्न सक्दैनौं। यहीँ बस। हो ठीक छ। शान्त भएर बसिराखौं। एकअर्काको नजिकमा। अनि हेरौं अगाडि के हुन्छ। कहीँ न कहीँ गएर त यो अवश्य रोकिन्छ। हैन भने कुनै अनिष्ट हुन्छ।'

तिनीहरू त्यहीँ बसिरहे।

‘ठीकै छ। सोचौं हामी रमाइलो गर्न जाँदैछौँ', आइमाईले भनी।

‘कुनै सैतानको काम हो यो', स्मिथले भन्यो।

‘तिमी मलाई माया गर्छौ नि, हैन ? ' च्यान्टीले फेरि सोधी।

‘प्रिया', स्मिथले उसलाई आफ्नो पाखुराले बेर्दै भन्यो। लिफ्ट तल जाँदै थियो।

अन्ततः लिफ्ट अकस्मात् रोकियो। चारैतिर झलमल्ल उज्यालो थियो। आँखै खाने उज्यालो। त्यो जोडी नरकमा पुगेको थियो। त्यहाँ एउटा पुच्छे« दावन प्रकटियो। विनम्र भावले लिफ्टको ग्रिल खोल्दै निकै झुकेर उसले अभिवादन गर्‍यो ‘गुड इभिनिङ'। ऊ पुच्छरहरूमा ठाँट परेर सजिएको थियो। रौंले ढाकेको उसको ढाडबाट निस्केका ती पुच्छरहरू खिया लागेको कुनै काँटीमा झुन्ड्याइएका जस्ता देखिन्थे।

आफ्नाअगाडि उदेकलाग्दो आकृति देखेर ती दुईजना तीनछक परे, ‘हे प्रभु, हामी काँ आइपुग्यौं ? !'

अलि अप्ठेरो मान्दै दानवले त्यो जोडीलाई सबै कुरा बुझाउने प्रयत्न गर्‍यो।

‘त्यस्तो केही अन्यथा सोच्न पर्दैन।' हतारमा उसले उनीहरूलाई सम्झायो, ‘यहाँहरूको समय निकै राम्ररी बित्ने छ। मलाई लाग्छ, यहाँहरू एक रातलाई मात्र हो।'

‘हो हो', स्मिथले उत्सुकतापूर्वक सहमति जनायो, ‘एक रातलाई मात्र हो। हामी यहाँ सधैं बस्ने गरी आ'को होइन।'

भयभीत त्यो च्यान्टी आइमाई स्मिथको पाखुमा झुन्डिन पुगी। त्यहाँको पहेँलो र हरियो मिश्रित प्रकाश यति चर्को थियो कि तिनका आँखाले केही भेउ पाएन। वरिपरिबाट तातो गन्ध आइरहेको थियो। तिरिमिरी कम हुँदै गएपछि बल्ल ती दुईले आफूहरू एउटा चोकमा उभिएको थाहा पाए। चोक वरिपरिका घरहरू कालो आकाशतिर चुलिएका थिए। तिनका द्वारहरू भने झलमल्ल थिए। तिनमा पर्दाहरू लगाइएका थिए। उनीहरूले पर्दाका चरहरूबाट भित्र केही बलिरहेको देखे।

पातालमा दुवैले आँखा गाढेर हेर्ने प्रयास गरे। तिनले केवल अँध्यारो देखे। तिनीहरू अन्धकारमा डुब्दैडुब्दै तलतल झन् तल पुगे। स्मिथले भन्यो, ‘लिफ्ट नर्कतिर पो जाँदैछ कि क्या हो !'

‘एकअर्कालाई प्रेम गर्ने यहाँहरू नै हो ? ' दानवले जान्न चाह्यो।

‘अँ, हो', आफ्ना सुन्दर आँखाले ऊतर्फ पुलुक्क हेर्दै महिला जवाफमा बोली।

‘त्यसो हो भने यताबाट', उसले उनीहरूलाई आफ्नो पछिपछि आउन संकेत गर्‍यो। तिनीहरू चोकबाट बाहिरिने एउटा घुर्मैलो गल्लीमा हराए। फोहोर र ग्रिज लतपतिएको द्वारको बाहिरपट्टि चर्किएको एउटा पुरानो लालटिन झुन्डिएको थियो।

‘लौ आइपुगियो', दानवले उनीहरूका लागि ढोका खोलिदियो र निकै संयमित हुँदै त्यहाँबाट फर्कियो।

त्यो जोडी भित्र पस्यो। स्वागतमा उनीहरूले त्यहाँ अर्को दानवी उभिएको देखे। बडेमानका पहेँले–खैरो स्तन भएकी त्यस दानवीले आफ्नो जुँगामा प्याजी रङको पाउडर दलेकी थिई। स्वाँस्वाँ गर्दै ऊ ती दुवैलाई हेरेर मुस्कुराई। निकै स्याहारसुसार गरेका त्यसका बलढ्यांग्रे आँखा परिचितझैं लाग्दथे। उसको निधारमा सिङहरू उम्रेका थिए। तिनमा उसले रेसमका ससाना नीला रिबनले कपाल गुजुल्टा पारेर बाँधेकी थिई।

‘ए, यहाँ चैँ स्मिथ जी। उहाँ तपाईंकी प्रेमिका ? ' उसले निक्र्योल गर्न चाही, ‘त्यसो हो भने आठ नम्बर।'

स्मिथको हातमा बढेमानको चाबी थमाई।

तिनीहरू बोसो लतपतिएको चिप्लो भर्‍याङ चढ्न थाले। प्रकाश मधुरो थियो। केही क्षणपश्चात् तिनीहरू दुई तलामाथि पुगे। स्मिथले आठ नम्बर देख्यो र च्यान्टीलार्ई लिएर भित्र छिर्‍यो। ढुसी लागेको त्यो कोठा निकै ठूलो थियो। कोठाको बीचमा एउटा टेबल थियो। त्यसमा कीराले काटेको कपडा ओछ्याइएको थियो। उनीहरूले भित्तासँग जोडिएको एउटा ओछ्यान देखे। त्यसमा तनक्क तन्काएर तन्ना बिछ्याइएको थियो। दुवैले यो सब निकै मन पराए।

आआफ्ना कोट खोले र लामो चुम्बन गरे।

एउटा मान्छे चाल मारेर अर्को ढोकाबाट कोठाभित्र छिर्‍यो। उसको पहिरन वेटरको झैं देखिन्थ्यो। उसले चिटिक्क मिलेको डिनर ज्याकेट र निकै सफा कमिज पनि लगाएकोे थियो। कमिजको सेतो अग्र भागले गर्दा घुर्मैलो उज्यालोमा ऊ सेतो भूतझंै टलक्क टल्केको थियो। कुनै पदचापबिना ऊ कोठामा यताउति गर्न थाल्यो। उसको चाल यान्त्रिक र झन्डै अचेत भन्न मिल्ने खालको थियो। उसका आँखा सीधा अगाडि केन्द्रित थिए। निकै गम्भीर उसको अनुहार डरलाग्दो किसिमले पहेँलिएको थियो। एकापट्टिको कन्चटमा गोली लागेको घाउ प्रस्ट देखिन्थ्यो। उसले कोठा मिलाइवरि तयार पार्‍यो। टेबल पुछ्यो। कोपरा र मलमूत्र हाल्ने बाल्टी ल्याएर राख्यो।

ती दुईले उसलाई त्यति ध्यान दिएका थिएनन्। ऊ बाहिरिन लाग्दा स्मिथले भन्यो, ‘केही वाइन छ होला ? आधा बोतल मडैरा लिएर आऊ।'

त्यस मान्छेले झुकेर अभिवादन गर्‍यो र त्यहाँबाट अलपियो।

स्मिथ कपडा खोल्न थाल्यो। आइमाई भने हिचकिचाई।

‘ऊ फेरि आउँछ', उसले भनी।

‘हरे, यस्तो ठाउँमा पनि केको अफ्ठेरो मान्नु ? खोल कपडा', स्मिथले भन्यो।

त्यसपछि आइमाईले कामुक पाराले आफ्ना सबै भित्री वस्त्र खोली र उसको घुँडामा गएर बसी। त्यहाँको दृश्य निकै रोमाञ्चक देखिन्थ्यो।

‘अहा', उसले खुसुक्क भनी, ‘यस्तो अनौठो, रोमाञ्चक स्थानमा केवल तिमी र म ! कति काव्यिक ! जीवनमा म कहिल्यै भुल्नेछैन यो पल।'

‘प्रिया', ऊ जवाफमा बोल्यो। त्यसपछि तिनीहरूले लामो चुम्बन गरे।

अघिको मान्छे फेरि आयो। कुनै आवाजबेगर। उसले टेबलमा गिलास राख्यो, वाइन खन्यायो। विस्तारै। यान्त्रिक चालमा।

टेबल ल्याम्पबाट निस्केको प्रकाश उसको अनुहारमा पर्‍यो।

लासको झैं फुंग उडेको पहेँलो अनुहार र कन्चटको घाउबाहेक ऊ सामान्य मान्छेझैं देखिन्थ्यो।

आइमाई चिच्याउँदै उफ्रिई, ‘हे भगवान् ! आर्भिड, तिमी ? तिमी याँ ? हे भगवान्, ऊ त मरेछ। आफैंलाई गोली ठोकेछ !'

त्यो मान्छे टोलाइरह्यो। उसको अनुहारमा पीडाको कुनै भाव थिएन। ऊ कठोर देखिन्थ्यो। स्थिर र निकै गम्भीर।

‘तिमीले यो के गरेको, आर्भिड ? के गरेको यो ? कसरी यस्तो गर्न सकेको ! प्रिय, तिमीले यस्तो गर्छौ भन्ने कुनै शंकामात्रै भएको भए पनि म घरै बस्थेँ। तर, तिमीले कहिल्यै त्यस्तो केही भनेनौ। एक शब्द पनि बोलेनौ यस्तोबारेमा। तिमीले नभनेपछि मैले कसरी जान्नु यस्ता कुरा ! हे भगवान् ...।'

ऊ थरथर काप्न थाली। त्यो मान्छेले उसलाई कुनै अपरिचितलाई झैँ हेरिरह्यो। उसको हेराइ उदास र मलिन थियो। उसको हेराइले अगाडिका हरेक वस्तु भेदन गरेझैं लाग्दथ्यो। उसको पहेँलो अनुहार चम्कियो। कन्चटको घाउबाट रगत बगेको थिएन। केवल त्यहाँ एउटा प्वाल टक्रक्क देखिन्थ्यो।

‘उफ, कस्तो डरलाग्दो !' ऊ फेरि चिच्याई, ‘म यहाँ बस्न सक्दिनँ। गइहालौं यहाँबाट। म यो हेर्न सक्दिनँ।'

आफ्नो लुगाफाटो चरप्प समाएर ऊ बाहिर दौडी। स्मिथ उसको पछिपछि दौडियो। हतारहतारमा उनीहरू भर्‍याङबाट तल झरे। तल आएर ऊ थचक्क बसी। त्यहाँ अघिकी जुँगे आइमाई उभिरहेकी थिई। उसले ती जोडीलाई आफ्ना सिङ हल्लाउँदै मन्द र परिचित मुस्कान दिई।

बाहिर गल्लीमा आएपछि तिनीहरू केही शान्त देखिए। आइमाईले कपडा लगाई। एकपटक जीउ तन्काई। नाकको वरिपरि पाउडर दली। सुरक्षाको आभास दिन स्मिथले उसको कम्मरलाई एक हातले बेर्‍यो। उसका आँखामा टिलपिल टिलपिल भइरहेको आँसुलाई चुम्बन गर्‍यो। उसले आइमाईप्रति प्रेमभाव राम्ररी झल्कायो। त्यसपछि ती दुवै चोकतिर लागे।

आइमाईले कामुक पाराले आफ्ना सबै भित्री वस्त्र खोली र उसको घुँडामा गएर बसी। त्यहाँको दृश्य निकै रोमाञ्चक देखिन्थ्यो। ‘अहा', आइमाईले खुसुक्क भनी, ‘यस्तो अनौठो, रोमाञ्चक स्थानमा केवल तिमी र म ! कति काव्यिक ! जीवनमा म कहिल्यै भुल्नेछैन यो पल।'

त्यहाँ नरक प्रमुख टहलिरहेको थियो। नरक प्रमुखसँग उनीहरूको जम्काभेट भयो।

‘छिटै पो फर्किनुभयो त !' उसले भन्यो, ‘सबै राम्रै भयो होला भन्ने लाग्छ।'

‘उफ्, कस्तो डरलाग्दो', आइमाईले भनी।

‘हैन, त्यसो नभन्नुस्। त्यस्तो केही होइन। तपाईंहरू पहिले पनि आउनुभाथ्यो होला। उनताका अर्कै थियो यहाँको माहोल। तर, अहिले नरकमा कुनै कुराको कमी छैन। हामीले सक्नेजति गरेका छौं। सबै कुरा उदांगो पार्नुभन्दा पनि कसरी यसलाई आरामदायी बनाउन सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ।'

‘त्यो त हो', स्मिथले सहमति जनायो, ‘यति त मैले भन्नैपर्छ, यस स्थानलाई अलि मानवोचित बनाउनुभएछ। जे होस् ठीक छ।'

‘ठीक भन्नुभो', दानव बोल्यो, ‘हामीले हरेक चिजलाई आधुनिकीकरण गरेका छौं। पूर्ण रूपमा सबै बलदेका छौं। यो सब आवश्यक थियो।'

‘वास्तवमै। समयसँग त चल्नैपर्‍यो नि।'

‘आखिर आजकल दुःख पाउने भनेको आत्माले मात्र त हो।'

‘यसका लागि ईश्वरलाई धन्यवाद', आइमाई बोली।

दानवले ती दुईलाई शिष्टतापूर्वक लिफ्ट चढायो। ‘हस् त, गुड इभिनिङ', उसले निकै झुकेर बिदाइ गर्‍यो, ‘फेरि फेरिका लागि पनि स्वागत छ।'

त्यसपछि उसले ग्रिल लगायो। लिफ्ट माथितिर जान थाल्यो।

‘धन्य भगवान्, सबै कुरा सकियो', लिफ्टको सिटमा बस्दै ती दुईले आनन्दको सास फेरे। अनि एकअर्काको अँगालोमा बेरिए।

‘तिमी नभएको भए यी सब कुरा म कसरी पार लाउन सक्थेँ होला र ? ' च्यान्टीले स्मिथको कानैमा मुख जोडेर भनी। स्मिथले उसलाई अझ नजिक तान्यो। तिनीहरूले फेरि एकपटक लामो चुम्बन गरे। अँगालोबाट छुटेपछि च्यान्टीले लामो सास खिच्दै भनी, ‘उदेकलाग्दो। उफ् ! उसले त्यस्तो काम गर्‍यो। तर, ऊ यस्तै सन्की विचारहरू मनमा खेलाइरहन्थ्यो। कहिल्यै पनि कुनै कुरालाई स्वाभाविक र सहज रूपले लिन जानेन त्यसले। सधैं जीवन र मृत्युको दोसाँधमा उभिएझैं गथ्र्यो।'

‘कस्तो हास्यास्पद !' स्मिथले थप्यो।

‘त्यसले मलाई भन्नुपथ्र्यो। म घरै बस्न सक्थेँ नि। हामी दुई अर्को कुनै साँझ बाहिर जान सक्थ्यौ। हैन ? '

‘हो त नि', स्मिथले सहमति जनायो, ‘कुनै पनि साँझ मिलाउन सक्थौं।'

‘तर, प्रिया, भो छाड्दिऊँ यस्ता कुरा।'

स्मिथको घाँटीमा पाखुरीले बेर्दै उसले साउती मारी, ‘सबै कुरा सकियो अब।'

‘हो मेरी च्यान्टी प्रिया, सबै कुरा सकियो अब', उसलाई अँगालोमा बेर्दै स्मिथले भन्यो।

लिफ्ट माथि गइरहेको थियो। अनुवादक: बलराम अधिकारी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.