ग्रेट वालबाट दक्षिण हेर्दा

 ग्रेट वालबाट दक्षिण हेर्दा

'हाम्री कुनै विशेष धर्म मान्दैनौं, किनभने हामी कम्युनिस्ट हौं। हामी माक्र्स र अध्यक्ष माओका अनुयायी हौं। हामी माक्र्सवादमा विश्वास गर्छौं। कम्युनिस्टले धर्म मान्दैनन्।'

आफ्नो अंग्रेजी नाम एन्जी राखेकी चिनियाँ विदेश मन्त्रालयमा कार्यरत २३ वर्षीया युवतीले भनिन्।मैले सोधेँ, 'तिमी चिनियाँ कम्युनिस्ट पार्टीकी कार्यकर्ता हौ ? नेताले जस्तो पो कुरा गर्यौ।'

सेतो सर्ट, चकलेट रङको टोपी र चस्मा लगाएकी ती चकलेटी युवतीले सहज जवाफ दिइन्, 'पार्टी कार्यकर्ता होइन, म परराष्ट्र मन्त्रालयकी कर्मचारी हुँ ! कम्युनिजममा विश्वास गर्छु। अध्यक्ष माओ र माक्र्सलाई मान्छौं हामी।'

चीनको कायापलट गर्ने नेता माओ त्से तुङ र कम्युनिस्ट दर्शनका प्रणेता कार्ल माक्र्सलाई विद्यालय शिक्षामा नै पढेकी रहिछन् युवतीले। माओ भन्नुअघि उनी नबिर्सी 'चेयरमेन' भन्थिन्।

'हाम्रो देश अहिलेको अवस्थामा पुर्याउन अध्यक्ष माओ र देङ सियाओ पिङको निकै ठूलो देन छ', उनले भनिन्। देशको प्रगतिमा उनी खुसी छिन्। कामप्रति प्रतिबद्ध छिन् तर अहिलेको दुनियाँका युवाजस्तै खुलस्त बोल्छिन् पनि।

उनलाई सोधेँ, 'नेपालमा पनि कम्युनिस्ट प्रधानमन्त्री छन् भन्ने थाहा छ त तिमीलाई ? माओवादी पार्टीकै समर्थनमा सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमाले अध्यक्ष प्रधानमन्त्री बनेका छन्। नेपालका माओवादीले एक दशक लामो सशस्त्र संघर्ष गरेको सुनेकी छौ ? ' 

नेपाल भन्ने छिमेकी देश छ भन्ने सुने पनि उनलाई यसबारे खासै जानकारी थिएन। नेपालमा पनि कम्युनिस्ट पार्टीकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् भन्दा उनी छक्क परिन्। उनले चिम्सा आँखालाई झन् चिम्सा पारेर जिब्रो टोकेपछि उनी छक्क परेको बुझ्न सकिन्थ्यो। सोधिन्, 'साँच्चै हो ? मलाई यस्तो कुरा थाहा हुँदैन।'

मैले भनेँ, 'प्रधानमन्त्रीचाहिँ कम्युनिस्ट पार्टीको हो, हाम्रो शासनव्यवस्थाचाहिँ कम्युनिस्ट होइन।बहुदलीय व्यवस्था छ, चुनाव जितेर भएको।' ती स्लिम युवतीले मेरो कुरा उत्तिसारो बुझिनन्, टाउकोचाहिँ हल्लाइन्। उनलाई यस्ता कुरामा त्यत्तिसारो दिलचस्पी पनि थिएन। 

चीनको ग्रेटवालमा पर्यटक । तस्बिर: माधव ढुङ्गेल

एन्जी राम्रै अंग्रेजी बोल्छिन्, जुन क्षमता उनका समकालीन युवापुस्ताले राख्दैन। उनलाई आफ्नोबारे खुल्न पनि कुनै समस्या छैन। चिनियाँबाहेक अंग्रेजी र रुसी भाषा बोल्न सक्छिन् उनी। भन्छिन्, 'अंग्रेजी यहीँ सिकेकी, रुसी सिक्नचाहिँ एक वर्ष मस्को बसेँ।'

एन्जीजस्तो प्रतिबद्ध र उत्साही छ नयाँ पुस्ता। चिनियाँहरू अहिले चीनका तीन राजधानी भनी व्याख्या गर्छन्। यात्रामा हामीलाई सघाइरहेका गाइडले भने, 'आधुनिक चीनका तीन राजधानी छन्।

राजनीतिक राजधानी बेइजिङ हो, सांस्कृतिक राजधानी हाङ्जाउ हो र आर्थिक (वित्तीय) राजधानीचाहिँ सांघाई।' हामी १८ देशका सञ्चारकर्मी सहभागी अन्तर्राष्ट्रिय मिडिया डेलिगसनलाई यी 'तीनै राजधानी' पुग्ने अवसर थियो।

चीन भूभागका हिसाबले रुस, क्यानडा र अमेरिकाभन्दा सानो छ तर जनसंख्याका हिसाबले भने यो विश्वकै सबैभन्दा ठूलो देश हो। अर्थतन्त्रका हिसाबले यो अमेरिकापछि दोस्रो। चीन भ्रमणपछि लाग्यो-व्यवस्थापन र अनुशासनका हिसाबले पनि यो देश अब्बल रहेछ।

चीनको सबैभन्दा ठूलो सहर सांघाई, दोस्रो बेइजिङ र तेस्रो हाङ्जाउ हुन्। इतिहासका हिसाबले सांघाई सबैभन्दा कान्छो र हाङ्जाउ सबैभन्दा जेठो हो। राजनीतिक शक्तिका हिसाबले चाहिँ बेइजिङ पहिलो। अहिले यीमध्ये कान्छो सहर सांघाईलाई विश्वको एक नम्बर सहर बनाउने रफ्तारमा काम गरिरहेको छ चीन।

मुख्य यी तीनै सहरका सडक चौडा छन्। नयाँ भवन गगनचुम्बी छन्। वर्तमान राष्ट्रपति सी जिङपिङ यसअघि जेजियाङ प्रान्तका गभर्नर थिए। जेजियाङको राजधानी हो हाङजाउ। १२औं शताब्दीमा सङ साम्राज्यको राजधानी रहेको यो ऐतिहासिक सहरलाई देखाउने सहरका रूपमा विकास गर्दैछ चीन।

आगामी सेप्टेम्बरमा जी-२० को बैठक र सन् २०२२ मा एसियाली खेलकुद यहीँ आयोजना गर्ने तयारी भइरहेको छ। सी जिङपिङ राष्ट्रपति भएपछि यसले अझै महत्व पाएको पनि अनुमान गर्न सकिन्छ।

 

चीनका सबै चिज ठूला छन्। १२ औ शताब्दीमा मिङ साम्राज्यका पालामा ८८९५ किलोमिटर थप बनाइएको ग्रेट वाल त सात आशचर्यमध्ये एक भनेर कहलिएको थियो। अहिले त्यहाँ टिकेट काटेर जाने पर्यटकहरुको भीड छ।

केही समयअघि एउटा समाचार आएको थियो-चिनियाँहरूको उचाइ बढेको छ। त्यहाँ मान्छेको भन्दा घरको उचाइ बढेको छ। तीनै सहरका सडक चौडा छन्। नयाँ घर गगनचुम्बी छन्। हाङजाउ सङ साम्राज्यको राजधानी हुँदाका घरहरूलाई त्यही रूपमा संरक्षण गरिएको छ।

त्यसमा आन्तरिक र बाह्य पर्यटकको भीड छ। बाटोबिनाका छरपस्ट साना घरहरू त्यहाँ देखिएनन्। कि ठूला गगनचुम्बी महल छन् नत्र खाली ठाउँ छ। किसानका लागि उस्तै डिजाइनका घरहरू भएको बेग्लै 'कोलोनी' छ।

अमेरिकाको न्युयोर्क सहरलाई उछिन्ने गरी विकसित हुँदैछ सांघाई। हाम्रा गाइड बताउँदै थिए, 'यो सडक र बस्ती न्युयोर्कको ढाँचामा बनाइएको हो।' सांघाईमा भर्खरै संसारको सबैभन्दा ठूलो बन्दरगाह बनाइएको छ। विमानस्थल, रेल्वेको विस्तार भावी पुस्तालाई समेत धान्ने गरी भइरहेको छ।

चीनका घर, चोक र सरकारी कार्यालयमा माओका फोटा खासै देखिएनन्। बेइजिङमा चाहिँ केही सालिक देखिए। एन्जीले भनिन्, 'जताततै फोटो टाँस्नुको के अर्थ, चेयरमेन माओ र देङले आधुनिक र विकसित चीन बनाउनुभो। हामी अत्यन्त श्रद्धा गर्छौं। मनमा भए भैगो नि !'

मान्छे अनुशासित छन्। सहर सफा छ। विल्कुलै धुलो छैन। विमानस्थलमा विमान जाम, सडकमा ट्राफिक जाम चीनको पनि समस्या रहेछ। तर, त्यहाँ हर्नका आवाज सुनिँदैन। चौडा सडकमा जथाभावी पार्किङ गरिएको छैनन्, न हाम्रोमा जस्तो चोकचोकमा ट्राफिक प्रहरीको भीड छ। प्रणालीमा चलेको छ चीन। कसैले पनि ट्राफिक नियम मिच्दैन। मिच्यो भने परिहाल्दो रहेछ, कारबाहीमा।

सहरमा हरियाली
बेइजिङका सडक यति चौडा छन् कि कति लेनको होला भनेर गन्ने मन पनि हुँदैन। सडकसँगै बगैंचा र हरियाली छ। विमानस्थलबाट गाडीमा सहर पस्नै लाग्दा आश्चर्य देखियो— बेइजिङको सडक त जंगलभित्र पो छ। यो हरियाली सांघाई र हाङ्जाउमा पनि छ।

दिल्लीबाट गएका प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकार सकुर भन्दै थिए, 'बेइजिङ दिल्लीभन्दा सय वर्षअगाडि हैन, पाँच सय वर्ष अगाडि छ भन्न मलाई कुनै अप्ठ्यारो छैन।' सहरमा एकरत्ति धुलो र प्रदूषण छैन। फोक्सो फुलाएर सास फेर्न पाइन्छ।

ठूल्ठूला डिपार्टमेन्टल स्टोर छन्। बारहरू रातिसम्म चल्छन्। म्युजिक र डान्स पनि चल्छ तर त्यसको असर त्यसबाहिरको सडकमा छैन। घरहरू सडकभन्दा पर छन्।

पसलबाट निस्कनेबित्तिकै गाडीमा ठोक्किने अवस्था छैन। सडकमा पैदल हिँड्नेका लागि रूखभित्रबाट छुट्टै लेन छ। साइकल चढ्ने चलन त्यत्तिको देखिएन तर साइकल यात्रीलाई बेग्लै लेन बनाइएको छ। 

सन् १९८५ मा चीनले देङ सियाओ पिङले अघि सारेको खुला अर्थनीति अँगाल्यो। सात वर्षपछि १९९२ मा मात्र सांघाईलाई आर्थिक केन्द्र बनाउने निर्णय गरेको हो। ठीक त्यही वर्ष नेपालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए। यो २५ वर्षमा सांघाईले गरेको प्रगति पत्याउनै मुस्किल पर्छ। 

 यति खुला फुटपाथ भए पनि कसैले त्यहाँ पसल राखेको छैन, न त फुटपाथसँग जोडिएको पसलेले नै टाँड बनाएर त्यहाँ सामान फिँजाएको छ। वास्तवमै बेइजिङ अनुशासनको जगमा अडिएको छ। चुस्त व्यवस्थापनले बाँचेको छ यो घना आवादी।

बेइजिङमा जेठ ३१ गते ठूलो पानी पर्यो। त्यत्तिको पानी पर्दा धमिलो पानीमा बढेको खोलाजस्तै हुने पुतलीसडक वा जमल सोच्दै थिएँ, तर बेइजिङमा कतै पानी जमेन। साँझ घुम्न निस्कँदा सकुर भन्दै थिए, 'दिल्लीमा भएको भए अहिले पनि घुँडासम्म पाइन्ट सारेर हिँड्नुपथ्र्यो।' तर, बेइजिङमा एक थेग्लो पानी जमेको भेटिएन।

बेइजिङका सडकमा ठाउँठाउँमा भूमिगत मेट्रो रेल्वे स्टेसनमा जाने सब-वे छन्। बाटो काट्न पनि सब-वे बनाइएका छन्। तर, सडक र सब-वे अत्यन्त सफा छन्। त्यहाँ कसैले चुरोटका ठूटा, पान र खैनी खाएर थुकेको दाग छैन। दिसापिसाब त धेरै परको कुरा। 'हाम्रोमा भएको भए गीत गाउँदै हातमा माग्ने झुन्डिन आउँथे, यहाँ त कतै माग्ने नै देखिँदैन', सकुर भन्दै थिए।

दिल्लीको प्लेटफर्ममा हिँड्दै गर्दा एकजना माग्ने पहिले खुट्टामा झुन्डिएको र त्यसपछि हातमा झुन्डिँदा आफ्नो मोबाइल फोन नै उछिट्टिएर फुटेको भोगाइ सुनाए सकुरले। त्यहाँ कतै पनि 'पकेटमारदेखि होसियार' भनेर लेखिएको छैन। पुराना म्युजियम पनि अग्ला छन्, त्यसैले 'माइन्ड योर हेड' पनि लेखिएको पाइएन। बरु म्युजियममा लेखिएको छ, 'खुट्टा अल्झिएला, होश गर्नुहोला !'

बेइजिङको समाज निकै खुला छ। त्यहाँका वयस्क महिला र युवतीलाई चिन्न सहज छैन। सबै एकनास फिट छन्। हाम्रो मध्य र सुदूरपश्चिमको पहाडका महिला को २२-२५, को ५५-६० वर्षे भनेर छुट्याउन गाह्रो परेभन्दा ठीक विपरीत। राति खानापछि पतिपत्नी सडकमा 'एरोबिक' नाच्ने निकै रमाइलो चलन छ- विशेष गरी सांघाईमा।

युवापुस्ता अत्याधुनिक छ। सडकपेटीमै 'चुम्बन' गर्ने पनि छन्। कुनै छेकबार छैन। डान्स, स्पा, मसाज पार्लरजस्ता मनोरञ्जनात्मक व्यवसाय पनि देखिन्छ तर यहाँजत्तिको छाडा छैन, मर्यादित छ।

सकुर भन्दै थिए, 'हिजो राति घुम्न हिँडेको थिएँ, एउटी हिलाले नजिकै ल्याएर कार रोकी। चिनियाँ भाषामा केही भनी, मैले बुझिनँ। हिन्दीमा भनिदिएँ— मै नही जाउंगा, तुम चले जाओ। त्यसपछि ऊ गई।'

कामकाजीले अलिअलि बोले पनि अंग्रेजी जान्दैनन् चिनियाँ। विमानस्थलबाहिर हामी चढेको गाडी लगातार रोकेपछि मैले ड्राइभरलाई अंग्रेजीमा सोधेँ, 'किन रोकिराखेको ? ' चुरोट खाइरहेका उनले जवाफ फर्काए, 'नो इंग्लिस !' त्यसपछि मौन भएर कुर्यौं।

खाइलाग्दा छन्, सुकिला छन् चिनियाँ। काम गर्छन्, मजाले खान्छन्। राजनीतिका गफ गरेर बेकार समय फाल्ने बेरोजगार युवापुस्ता छैन त्यहाँ। साँझ बेलैमा सुत्दा रहेछन् र बेलैमा उठ्दा रहेछन् चिनियाँ।

भरपूर उपयोग
चीनका सबै चिज ठूला छन्। १२औं शताब्दीमा मिङ साम्राज्यका पालामा ८८५२ किलोमिटर थप बनाइएको ग्रेट-वाल त सात आश्चर्यमध्ये एक भनेर कहलिएको थियो। अहिले त्यहाँ टिकट काटेर जाने पर्यटकको भीड छ।

बेइजिङबाट पौने घन्टा गाडी चढेर ग्रेटवाल पुग्दा पानी परिरहेको थियो। एकजना चिनियाँ वर्षादी बेच्दै थिए। हुस्सु लागेको ग्रेटवालमा भिज्दै, रम्दै थिए— विदेशी-स्वदेशी। त्यहाँसम्म पुग्न केबलकार चलाइएको छ।

तेनमियान चोकबारे गाइड भन्दै थिए, 'यहाँ नेसनल डेमा १० लाख मान्छे भेला हुन्छन्।' ४० वर्षअघि निधन भएका माओको शव पनि त्यहीँ संरक्षण गरेर राखिएको रहेछ। बेलायतले चार सय वर्षअघि बनाएको रेललाई अहिले म्युजियम बनाएर राखिएको छ।

हान साम्राज्यको दरबारको भत्किएको पर्खाल पनि संरक्षित छ। चीनले सम्भव भएसम्म प्रत्येक वस्तुलाई अर्थोपार्जनमा लगाएको छ। विश्वबजार कब्जा गर्न अघि बढेको चीनका सहायक विदेशमन्त्री ली हुइलाईले भने, 'हामी अहिले २३० वस्तुका सबैभन्दा ठूला उत्पादक हौं।' उनले 'वन रोड, वन बेल्ट' (एकै बाटो, एकै पाटो) नीतिअनुसार 'सिल्क रोड' आर्थिक क्षेत्र बनाउन लागिपरेको बताए।

ऐतिहासिक सांस्कृतिक सहर हाङजाउलाई 'पृथ्वीकै सुन्दर सहर' भन्छन् चिनियाँहरू। यहाँको दुई टर्मिनल भएको विमानस्थललाई तीन टर्मिनलको बनाइँदै गरेकाले पनि प्रस्ट हुन्छ-चिनियाँहरूले यो सहरलाई दिएको महत्व। यहाँबाट हङकङ, कोरिया, जापान, युरोपेली देश र आन्तरिक उडान पनि हुने गरेका छन्।

सङ साम्राज्य (सन् ९६०-१२७९) मा यो हाङजाउ चीनको राजधानी थियो। अहिले त्यस बेलाका घरहरू संरक्षण गरेर राखिएको छ। यसलाई पर्यटकीय सहर बनाएका रहेछन् उनीहरूले। सहायक विदेशमन्त्रीले भने, 'हामीले सेप्टेम्बरमा हुने जी-२० बैठक हाङजाउमा गर्दैछौं, यो चीनमा हुन लागेको पहिलो बैठक हो।'

सन् २०२२ मा एसियाली खेलकुदको आयोजना यही गर्दैछ चीन। त्यसबाहेक गत वर्षजस्तै यो वर्ष पनि हाङजाउमा इन्टरनेट कम्फरेन्स हुँदै रहेछ— सेप्टेम्बरमा।


पहाडी प्रदेश हाङजाउ हरित चियाका लागि पनि प्रख्यात छ। यहाँका किसानका साना घर छन् तर सँगै विशाल गगनचुम्बी महल पनि बनेका छन्। बाटो उत्तिकै चौडा छ, फ्लाइओभर र रेल्वे लाइन पनि छन्।

हाङ्जाउकै डा. सन् यात्सेनको नेतृत्वमा सन् १९१२ मा चीन गणतन्त्र भएको थियो। उनी समाजवादी थिए। अहिले हाङजाउमा उनको सालिक बनाइएको रहेछ। त्यहाँको ताल 'वेस्ट लेक' (सी-हु ताल) निकै प्रख्यात रहेछ।

'च्याङ काइसेकले विवाहपछि यसै ताल क्षेत्रमा हनिमुन मनाएका थिए रे', सन् १९४९ मा माओको सेनाले पराजित गरेपछि ताइवानमा भागेर छुट्टै राज्य घोषणा गर्ने अर्का कम्युनिस्ट नेताबारे गाइड भन्दै थिए।

च्याङ काइसेक पनि हाङजाउकै रहेछन्। बेइजिङबाट दुई घन्टा ४० मिनेटको उडानपछि त्यहाँ पुगिन्छ। चीनको सबैभन्दा लामो नदी याङ्त्जे नदी पनि यही स्थान भएर बग्छ।

६ वर्ग किलोमिटर चौडा तालबारे गाइडले भने, 'सी सुन चीनको इतिहासमा अहिलेसम्मकी सबैभन्दा सुन्दरी मानिन्छिन्। यो ताल सी सुनजस्तै सुन्दर छ। एक हजार वर्षअघि नै यहाँ एक साता बसेर कविहरूले कविता लेखेका थिए। सी सुन कस्ती भन्ने तस्बिर कहीँ छैन तर अहिलेसम्मकै अति सुन्दरी भन्ने विश्वास छ।'

पौने घन्टाको डुंगा सयरमा म सोच्दै थिएँ, 'चिनियाँहरूले हाम्रो रारा तालजस्तो सुन्दर ताल यहाँ पाउने हो भने के भन्थे होलान् ? ' हाङ्जाउसँगैको अर्को सहर वुहेनमा ११ सय वर्ष पुराना घरहरूबीच डुंगा चलाइएको छ, त्यहाँ आन्तरिक र विदेशी पर्यटकको धुइरो छ। चीनको 'हाई स्पिड' रेलको स्टेसन पनि छ त्यहाँ। हामी रेलबाटै सांघाई गयौं।

सांघाईको सान
सन् १९८५ मा चीनले खुला अर्थनीति अँगाल्यो- देङ सियाओ पिङले अघि सारेको। त्यसको सात वर्षपछि १९९२ मा मात्र सांघाईलाई आर्थिक केन्द्र बनाउने निर्णय गरेको हो चीनले।

ठीक त्यही वर्ष नेपालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए। तर, यो २५ वर्षमा सांघाईले गरेको प्रगति पत्याउनै मुस्किल पर्छ।अत्यन्त अग्ला घरहरू। औसत अपार्टमेन्ट २५ तले। संसारकै सबैभन्दा ठूलो बन्दरगाह। यो सांघाईको पछिल्लो अपडेट हो।

सांघाईको अत्याधुनिक निर्माण बीचबाट बग्ने याङ्त्जे नदी छ। साँझ मजाले हावा चल्ने उक्त नदीमा पर्यटकका लागि साँझमा जहाज चलाइएको रहेछ। जहाज चढ्नेको भीड हुने गर्छ। सांघाईको त्यो दृश्य साँच्चै मनमोहक छ।

विदेश मन्त्रालयकी कर्मचारी एन्जीले भनिन्, 'यो सबै देन हाम्रा दुई नेताको हो— चेयरमेन माओ र देङ सियाओ पिङको। संसारको एक नम्बर देश बनाउनु नै हाम्रो लक्ष्य हो।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.