भारतबाट आउने दस प्रतिशत वस्तु गुणस्तरहीन
काठमाडौँ: नेपाल गुणस्तर तथा नापतौल विभागले भारतबाट भित्रिने सामानमध्ये १० प्रतिशत गुणस्तरहीन रहेको जनाएको छ ।
विभागले गरेको अध्ययनअनुसार भारतबाट नेपाल भित्रिने सिमेन्ट, फलामको छड, रेगुलेटरलगायतका वस्तु कम गुणस्तर हुने गरेका छन् । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भारतबाट भित्रिएका सामान राम्रो भने पनि केही गुणस्तरहीन रहेको बताए।
विभागले यस आवमा ४० वटा उद्योगका वस्तु मापदण्ड पूरा नगरी सामान उत्पादन गरेको भेट्टाएको छ। गत आवमा ३४ वटा उद्योगले मापदण्ड पूरा नगरी सामान उत्पादन गरेका थिए।
यसरी मापदण्ड पूरा नगरी उत्पादन गरेका उद्योगका वस्तुलाई इजाजत निलम्बन, विक्रि वितरणमा रोक लगाएको पुडासैनीको भनाइ छ। सुरुमा उद्योग मन्त्रालयअन्तर्गत एक छुट्टै कार्यालयका रुपमा स्थापना भएको नापतौल कार्यालय २०४४ सालमा नापतौल तथा गुणस्तर विभागको रुपमा स्थापना भएको हो।
विभागले आफ्नो स्थापनाकालदेखि अहिलेसम्म विभिन्न १८० भन्दा बढी उद्योगबाट उत्पादित ६० वस्तुका ३०० सामानलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ। विभागले हाल मुलुकभर आफ्नो मातहतमा ९ वटा गुणस्तर तथा नापतौल कार्यालयमार्फत सेवा दिइरहेको छ।
विदेशबाट भित्रिने सामानलाई मध्यनजर राखेर नाका वरीपरिका क्षेत्रमा कार्यालय राखेर नापतौल र गुणस्तर नाप्दै आएको छ। त्यसमध्ये विराटनगर, जनकपुर, विरगञ्ज, वुटवल, पोखरा, काठमाडौँ, नेपालगञ्ज र धनगढी कार्यालयमार्फत कार्यालयले सेवा दिँदैआएको छ ।
हालसम्म विभागमा ग्यास सिलिण्डरको गुणस्तर र मापदण्ड नाप्नका लागि अत्याधुनिक मेसीन नभएकाले काम गर्न समस्या भएको छ। विभागका महानिर्देशक पुडासैनी हाल काम गर्न समस्या भएपनि चाँडै नै युरोपीयन युनियनले मेसीन सहयोग गर्न लागेकाले सहज हुने बताए। '६ महिनाभित्र मेसीन सञ्चालन गछौँ यसले गुणस्तर जाँच गर्न सजिलो हुन्छ,' उनले भने।
गुणस्तरहिन वस्तुमध्ये ग्यासको रेगुलेटर अत्यधिक पाइएकाले विभागले रेगुलेटर जाँच गर्ने अत्याधुनिक मेसिन असारभित्रै निर्माण गर्न लागेको विभागले जनाएको छ। विभागमा आवश्यक कर्मचारी सङ्ख्या ९९ जना रहेपनि हाल ७० जनाले मात्र काम गर्दै आएका छन्। कर्मचारी अभावले समेत काम गर्न समस्या भएको छ।
महानिर्देशक पुडासैनी कर्मचारी अभाव हुँदा जनताको चाहनाअनुसार काम गर्न नसकेको स्वीकार गरे। उनले गुणस्तर जाँचको क्षेत्र धेरै रहेकाले कर्मचारी अभावका कारण हर्बल, ग्यास सिलिण्डर, कस्मेटिकलगायतका वस्तुको मापदण्ड परीक्षण गर्न नसकिएको बताए।
विभागका उपमहानिर्देशक दिननाथ मिश्रले विभागले नापतौल र गुणस्तरमा नाप्न १० वटा ल्यावको प्रयोग गरिएको जानकारी दिए। गुणस्तरतर्फ केमीकल, फिजिकल, फुड, माइक्रोबाइलोजी र टेक्साइल रहेको छ भने नापतौलतर्फ मास, भलुम, टेम्प्रेचर, डाइभर्सन र प्रेसरका ल्याब रहेको छ । उक्त ल्यावले अहिले नापतौल र गुणस्तर प्रदान गर्दे आइरहेको बताइएको छ। रासस