पहिचान खोज्दै हरिओम

पहिचान खोज्दै हरिओम

काठमाडौं: धोती कुर्ता र जोडी खुकुरीसहितको भादगाउँले टोपीमा हरिओम मेहता आफ्नो पहिचान खोजिरहेका छन्।

राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा उनले चित्रकलामार्फत आफ्नो पहिचान प्रस्तुत गरेका छन् । आइतबारदेखि सुरू भएको चित्रकला प्रदशनीमा उनले आफ्नै पहिरनबाट देशको चिनारी दिन खोजेका छन् ।

काउन्सिलको भुइँतलामा रहेको प्रदर्शनी हलभित्र पसेपछि धेरैको आँखा अडिन्छ, नागरिकता सहितको हरिओमको चित्रमा । जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको नागरिकतासँगैको चित्रमा टाउकोमा फेटा बाँधेको हरिओमको चित्र छ।

'कसैले पनि कुन ठाउँबाट आउनुभएको भन्दैन, सीधै 'भारत हो भनेर सोध्छन्', उनले दुखेसो गरे, 'कम्तीमा तिम्रो घर कहाँ हो भनिदिएको भए मन भाँचिने थिएन होला।' कालो वर्णको हुँदैमा र मैथिली, भोजपुरी बोल्दैमा भारतीय भनिदिँदा उनको चित्त दुख्छ।

देशले जनक, सीता र बुद्धलाई समेत नचिनेकोमा उनको चित्त दुखाइ हो। 'मेरो मन रोएर आयो खोइ त मानवता? , राष्ट्रियताको नाम लिई जनतालाई सास्ती किन? ', उनले भने, 'देशभित्र हराइरहेको मानवअधिकारले मलाई पिरोलेको छ। यो पीडा सहन नसकी रुँदारुँदै, भोकभोकै तयार गरेको चित्र प्रदर्शनीमा राखेको हुँ।'

 

दबिएका आवाजहरू रंगमार्फत प्रस्तुत गर्दै प्रदर्शनीको शीर्षक 'द ब्ल्याक भ्वाइस' राखेका हुन्। चित्रमा विद्रोह, द्वन्द्व, अशान्ति, अव्यवस्था देखिन्छ । बुद्धको दुई आँखाबीच बलिरहेको मसाल, रगतमा डुबुल्की मार्दै गरेका डुंगाहरूले दाजुभाइबीचको द्वन्द्व र त्यसको परिणाम देखाइरहेको छ।

गरिब शीर्षकको चित्रले भर्खरै अफगानिस्तानमा मारिएका नेपालीको वियोगमा पीडा खेपिरहेको हाम्रो मन चसक्क बनाउँछ। उर्दु भाषामा चार शब्द लेखिएको बाकसले ताजै रहेको त्यो घटनाको पीडा झन् गाढा बनाइदिन्छ।

हरेक दिन यसरी नै विदेशबाट आफूसँगै आफ्ना परिवारका सपना मारेर फर्किरहेका छन्, थुप्रै नेपाली देशको फरकफरक क्षेत्रको समस्यालाई हरिओमले आफ्नो चित्रमा समेटेका छन्।

सन्देश शीर्षकको अर्को चित्रमा डोलीमा पैसाका बिटाहरू राखेको देखाएका छन्। विशेषगरी मधेसमा विकराल देखिएको दाइजोको समस्यालाई यस चित्रले देखाएको छ। समस्यामा फसिरहेका नेपालीले एकअर्कालाई विश्वास गरेर आत्मीय वातावरण बनाउने सन्देश उनले दिन खोजेका छन्।

सबै नागरिकले आफूलाई गर्वले नेपाली भनेर चिनाउन पाउने वातावरण मिलोस्। समस्याको समाधान युद्धबाट होइन, सद्भावबाट खोज्नुपर्ने उनको भनाइ छ।
मिथिला येँ आर्ट ग्यालरीले आयोजना गरेको प्रदर्शनीमा २७ वटा चित्र छन्। एक सातासम्म चल्ने प्रदर्शनीमा राखिएका चित्रहरूको मूल्य १० हजारदेखि २५ हजार रुपैयाँसम्म छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.