सर्वनाममा सिँढी

काठमाडौं: सबैले जीवनमा सपना देख्छन्। ती सपना पूरा गर्न अनेक पेसा गर्छन्। प्रायः सामान्य परिवारको जीवन सपना र त्यसलाई पूरा गर्ने प्रयत्नमै बितेको हुन्छ।
सामान्य परिवारको कथा हो नाटक सिँढी। भारतको ओडिसाका नाटककार सुबोध पटनायकको लेखन तथा निर्देशनमा राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक सिँढी मञ्चन भइरहेको छ।
भारतमा आफ्नै शैलीको नाटकबाट छुट्टै पहिचान बनाएका पटनायक नाट्य चेतना नाट्य संस्थासँग आबद्ध छन्। उनको संस्थाले नाट्यग्राम नामक नाट्य प्रशिक्षण केन्द्रसमेत चलाएको छ। सामान्य सेट र कलाकारकै शारीरिक बनावटबाट एउटै लाइटमा मञ्चन गर्ने गरी तयार हुने नाटक उनको पटनायकको पहिचान हो।
श्रीमान्को मृत्युपछि एकल जीवन बाँचिरहेकी महिलाले बालबच्चाको पढाइ र पालनपोषणका लागि गरेको संघर्ष सिँढीमा देखाइएको छ। मकै पोल्ने व्यवसाय गरेर परिवार चलाउने आमा तिनै छोराछोरी जसका निम्ति मरिमेट्छिन्, उनीहरूले नै धोका दिएपछि सुरु हुने अन्तद्र्वन्द्वको कथा हो सिँढी।
सर्वनामको निम्तोमा नेपाल आएका पटनायकले करिब तीन साताको नाट्य प्रशिक्षण कार्यशालापछि नाटक तयार गरेका हुन्।सामान्य मानिसको गरिबीका कारण पर्ने असर र उथलपुथललाई मुख्य विषय बनाइएको नाटक नेपाली भाषामा नेपालको भूगोल सुहाउँदो छ।
बाँसको प्रयोगले सबै सेटिङ बनाइएको छ। एउटै प्रकाशमा ननिभाई अरू रङ प्रयोग नगरी सबै कलाकारलाई मञ्चमै राखेर रोचक ढंगले प्रस्तुत गरिएको छ।
नेपाली रंगमञ्चमा भइरहेको प्रयोगभन्दा भिन्न स्वादको नाटकमा मीना खड्का, सबिना गोपाली, स्नेहा न्याछ्योँ, आत्मा एमएम, आदित्य शर्मा, विम्ब अधिकारी, अर्जुन न्यौपाने, माधव बन्जारे, प्रवीण अधिकारी, सुशील गैरे, जोन योञ्जन, दीपेन्द्र कडरिया, विवेक आचार्य र राजन आचार्यको अभिनय छ।
प्रतिक्रिया दिनुहोस !
