मधेसको एउटा शालिग्राम

मधेसको एउटा शालिग्राम

दीपक सापकोटा

सौराहाबाट हिँड्दा दिउँसोको २ बजेको छ। पर्यटक ओइरिइरहने ठाउँमा झम्झम् पानी परिरहेको छ। निधारमा भने उसैगरी पसिनाका दानाहरू उम्रिरहेका छन्। हाम्रो टोली जम्बो खालकै छ- झन्डै २५ जनाको। नारायण ढकाल-श्यामलदेखि, विनोदविक्रम केसी-गुरुङ सुशान्त-संगीत श्रोतासम्म।

‘नेपाल अध्ययन केन्द्र'को कार्यक्रमको बहानामा भेटिएका हामी कार्यक्रमपछि फर्किंदैछौं। मेरो ध्यान भने त्यो भीडकै फरक अनुहारमा बारबार ओहोरदोहोर गरिरहेको छ।

पक्का मधेसी अनुहार। धोती पहिरिएर पान उग्राउँदै साइकलमा तरकारी बेच्दै हिँड्ने हो भने काठमाडौंवासीले सजिलै भनिदिन सक्छन्- ‘बिहारी भैया।'

पुड्को कद। ठूलो टाउको। बोलीमा जुन नरमपना छ, डिबेटका बेला चर्किएर त्यो काँप्दोरैछ। ऊ मैथिली मातृभाषी, सायद ‘खस-नेपाली भाषा' नचाउन उसको जिब्रोलाई खाक्सी दल्नुपर्दो हो ! बोलीमा विवेकभन्दा आवेग बढी भएर पो हो कि ?

ऊबारे लेख्न खोजेको केही महिनै बितिसक्यो। उसले जागिरको सिलसिलामा काठमान्डु नछोड्दै, भृकुटीमण्डपमा तातात्तै उसैको पैसाले चिया खाएर वार्ता गरेको थिएँ। तर, लेख्ने साइत कहिल्यै जुरेन। केही शब्द लेख्दै÷डिलिट गर्दै महिनौं बितेका छन्।

उसको कथा-कन्टेन्टले मलाई अपहरण गरेकै हो। तर, लेख्ने मेसो मिलेको थिएन। म सायद बिब्ल्याँटो समयमा उभिएको थिएँ। अफिस जान्थेँ, घर फिर्थें। न पढ्थेँ, न लेख्थेँ। केही केही पनि गरिरहेको थिइनँ। विचार ! त्यो पनि गरिरहेको थिइनँ। तर ऊ मेरो मस्तिष्कमा जब्बर रूपमा आउँथ्यो-जान्थ्यो। त्यो मैले के गरिहेको थिएँ ? !

कथासंग्रह ‘अब्बा' छापिएपछि सहरमा श्याम साहबारे गाइँगुइँ चल्यो। विस्तारै ‘लाटीको छोरो' कथाले चर्चाको ठूलै घेरा बनायो। अहिले एउटा टिमले त्यसमाथि फिल्म बनाउने भएको छ। ६ महिनाअघि स्क्रिप्ट लेख्न श्यामले अग्रीम भुक्तानी रु. ५० हजार बुझ्यो।

लक्जरियस टुरिस्ट बसको अन्तिम सिटमा झ्यालतिर ढेपिएर मेरो ध्यान तानिरहेको ‘ऊ' श्याम साह हो। राज खानदानको मोटो ‘शाह' होइन, मधेसी गरिब परिवारमा जन्मेको ख्याउटे पातलो ‘साह'। पछिल्लो समयको चुनेगिनिएको कथाकार।

उसलाई पढ्नु कम्युनिस्ट डिप्रेसनसँगै एउटा मधेसी युवालाई पढ्नु हो। त्यसो त मेरा बा भनिरहन्छन्ः ‘जिन्दगी खराब पार्नु छ भने कम्युनिस्ट पार्टीमा लाग्नू !' उनलाई कुनै लाल दलबाट मोहभंग भएको छ, तर भोट हाल्नुपयो भने त्यही दलदलमा हाल्छन्। के मेरै पिताजीको जस्तो हाल छ त श्यामको जिन्दगी ? थाहा छैन मलाई। उसका कथाहरूमा सायद छन् जवाफ।

अहिले त ऊ अन्तिम सिटको धमिलो विन्डस्क्रिनबाट बाहिर हेरिरहेछ। भर्खरै छिट्याउन थालेको पानीका ठुल्ठूला थोप्लाले सडकको धूलोमा उसकै अनुहारचित्र कोरिरहेछ। उचाहिँ सिसामा सुलुलु बगेर तप्किँदै गएको पानीलाई हेरेर मग्न छ।

लाग्थ्यो, ऊ बहुत थकित छ (कार्यक्रमको दुवै दिन उसले कार्यपत्रहरूमा जमेर टिप्पणी गरेको थियो, चर्केर आफ्ना केही असहमति जनाएको थियो मधेसका पक्षमा।) कुनै ऐतिहासिक थकानको छाया उसको अनुहारबाट एकमुष्ट सोहोरिएर मतिर हुत्तिएको छ।

मलाई स्वप्नील स्मृतिको कविता ‘शालिग्राम' याद आउँछ-

कालो,
मधेसीभन्दा नि का...लो...,
कालो छु म !
उहिले उहिलेको मेरो कथा सुन-
त्यतिखेरकी म रातीपिरी
बाइसी चौबीसी दरबारमा
धपधप बल्ने ज्योति थिएँ
कुनै युद्ध सरदारको तप्तप् रगत चुहिरहेको तरबारमा
चम्चमी टल्कने मोति थिएँ !...

बोलीमा जुन नरमपना छ, डिबेटका बेला चर्किएर त्यो काँप्दोरैछ। ऊ मैथिली मातृभाषी, सायद ‘खस-नेपाली भाषा' नचाउन उसको जिब्रोलाई खाक्सी दल्नुपर्दो हो ! बोलीमा विवेकभन्दा आवेग बढी भएर पो हो कि ?

पहिले ऊ काठमान्डुमा थियो। एकाध घण्टा गणितको ट्युसन पढाउँथ्यो। बाँकी समय वसन्तपुर, भृकुटीमण्डपतिर टोलाउँथ्यो। आजकल सिराहामा छ- लेखा अधिकृत अर्थात् कोष नियन्त्रकका रूपमा सरकारी जागिरेको आवरणमा। त्यो आवरणभित्रको असली मान्छे भने कथाकार श्याम साह हो। करिब दुई दर्जन कथाहरूको जन्मदाता।

कथासंग्रह ‘अब्बा' छापिएपछि सहरमा उसको बारे गाइँगुइँ चल्यो। विस्तारै ‘लाटीको छोरो' कथाले चर्चाको ठूलै घेरा बनायो। अहिले एउटा टिमले त्यसमाथि फिल्म बनाउने भएको छ।

६ महिनाअघि स्क्रिप्ट लेख्न उसले अग्रीम भुक्तानी रु. ५० हजार बुझ्यो। लेखन र जागिर, यी दुई अमिल्दा टेन्सनले समयमै स्क्रिप्ट लेख्न सके पो ! उसले भन्यो, ‘तपाईं के सोच्नुहुन्छ, फिल्मवालाले पैसा छोड्छ ? चियावालाले छोड्छ ?'

त्यसैले ऊ केही समयको सिराहा गुप्तवासपछि सौराहाबाटै सीधै काठमान्डु सोझिएको थियो। किनभने ‘लाटीको छोरो' फिल्मवालालाई बुझाउनु थियो। शीघ्र उसैको कथामा बनेको फिल्म आउनेछ।
...
कथाको यो मोडसम्म आइपुग्दा उसले जीवनका अनौठा अनेक घुम्ती पार गरिसकेको छ। उसकी आमा अझै पनि भन्छिन्, उसले नौ महिनाको हुँदादेखि नै मेवा खान थालेको थियो। निकै कमजोर थियो रे।

तर, आज मधेसको भूगोलबाट आफ्ना मौलिक रंगहरूसहित शक्तिशाली कथा लेख्नेमा एकजना श्याम पनि हो। ऊ कथामा टाढैबाट चिनिन्छ। टाढाबाट पनि देखिने एउटा ‘कालो' थोप्लोजस्तो। नत्र त आजका धेरै कथाकारका कथा मलाई आधी रातको तेस्रो दर्जाका प्रतीक्षालयजस्तो लाग्छ, जसमा मान्छे होइन, केवल अस्तव्यस्त कतै नजोडिने भूतहरू हुन्छन्। मेरो नजर ती ‘भूत'कथाहरूमा छैन।

आज कथा विघटनको जुन मोडमा आएको छ, त्यहाँबाट यस्तो एउटा लिक सुरु हुन्छ, जुन अहिलेसम्मको राजमार्गबाट निश्चित रूपमा फरक छ।

आजभन्दा पहिलेका कथाकार जीवनको विभिषिकालाई आमने-सामने भएर लड्थे। आजका कथाकारमा अन्तर छ। उनीहरू जीवनलाई गहिरो आन्तरिक स्तरमा झेल्छन् र अभिव्यक्त गर्छन्। यो अभिव्यक्ति उसको सोख होइन, ‘दायित्व' हो। किनभने आजको कथाकार थुप्रै लडाइँमा सामेल एउटा योद्धा हो। ऊ राज्यसत्तासँग दाबी गर्छ, ‘मधेस मेरो हो।' संघीयताको पक्षमा लड्छ।

कवि श्यामलले सौराहाको कार्यक्रममा भनेझैं सहरका सडकमा झन्डा लिएर निस्किएको कुनै क्रान्तिकारीभन्दा पनि बढ्ता ऊ क्रान्तिकारी लाग्छ- सभा समारोहहरूमा, टिप्पणी र चियागफमा र कथा-कविताको कन्टेन्ट र अभिव्यक्तिमा। श्यामको पुस्ता यस्तो हो जसले सहर र सत्तासँग अनेक वैचारिक लडाइँ लड्नुप¥यो।

अभिव्यक्तिको यही विवशताले आज कथाको तमाम रुढीलाई तोडेको छ। कथानक, भाषा, पात्र, अलंकार र शिल्प जसले ‘कथा' बनाउँथ्यो, त्यसले ज्यान छोडिसकेको छ। त्यसैले श्यामहरूका अभिव्यक्तिका दबाबले कथामा नयाँ र फरकखाले शिल्प प्रयोग भइरहेको छ।

कथा भन्दाभन्दै उसका कन्पाराका रौं फुल्ने तरखरमा छ। तर, बूढो काठमा किला ठोक्दा आगोको झिल्का निक्लेझंै उसले पनि आफूभित्र भयानक आगो पालेर राखेको छ।

उसले त्यही आगो बेलाबेला खटाइखटाइ फारु गरेर ओकलिरहेको छ। अलिकति कथामा, अलिकति चियागफमा, अलिकति सभा-समारोहमा, आगोको सानातिना लप्का देखिइरहन्छन्। राज्यसत्ताको भाषा, व्यवहार र बाटोविरुद्ध ऊ आगो फाल्छ।

केही महिनाअघि तराई-मधेस आन्दोलित भयो। राज्यले तिनलाई ‘भारतीय'सम्म भन्यो। यो कुतर्कविरुद्ध श्याम खडा थियो। राज्य जहिल्यै बहुमत हो। उसले गरेका कुतर्कलाई पनि सही भन्छ बहुजन।

श्याम कथामा टाढैबाट चिनिन्छ। टाढाबाट पनि देखिने एउटा ‘कालो' थोप्लोजस्तो। नत्र त आजका धेरै कथाकारका कथा आधी रातको तेस्रो दर्जाका प्रतीक्षालयजस्तो लाग्छ- जसमा मान्छे होइन, केबल अस्तव्यस्त कतै नजोडिने भूतहरू हुन्छन्।

ऊ ती बहुजनविरुद्ध खडा थियो। आन्दोलन काठमान्डु सर्‍यो। त्यसको राप सिंहदरबारका चार ढोकामा देखियो। तर, कुनै सुनुवाइ भएन। बरु सरकारको ‘गाली-मेनु'मा तराईवासी मधेसीउपर अरू दुई÷चार थान शब्द थपिए, जुन पहिल्यैको पुग्दो थियो।

यही काठमाडौं हो, जहाँ केही महिनाअगाडि प्रगतिशील लेखकहरूको सम्मेलनमा पहिलोपटक उम्मेदवार हुने अभ्यासमा थिए स्वप्नील स्मृति, विनोदविक्रम केसी, रमन पौडेल, गुरुङ सुशान्तलगायत युवा लेखकहरू।

सम्मेलनले नयाँ अनुहार खोजिरहेको थियो। तर, ‘जनवादी केन्द्रीयता' भनिरहने आफ्नै कम्युनिस्ट पार्टीले श्यामलाई उम्मेदवार बन्न बन्देज ग¥यो। एक लेखक (जो नेता पनि हो) ले श्यामको ‘स्टाटस'को आपत्ति जनायो, ‘तपाईंले फेसबुकमा मधेस आन्दोलनका पक्षमा लेख्नुभो। पार्टीको विचार होइन त्यो। तपाईंलाई किन ‘प्रलेस'मा लैजाने ? मिल्दैन।'

स्वतन्त्रताका धेरै परिभाषा होलान्। मानिस कहाँ, कुन परिवेश वा समाजमा बसेको छ ? यसले पनि प्रभाव पार्नेरहेछ। श्याम साहका यस्ता चुनौती थुप्रै छन्। ‘श्याम'को स्वतन्त्रतामा (र नदिनेमा) आफ्नै समाजको जमिनदारदेखि प्रलेस सम्मेलनमा भेटिएका ‘नेता'सम्मको भूमिका छ।
...
मधेसको औसत परिवारबाट आएको हो ऊ। सम्झिन्छ, उनीहरूको सामान्य खालको होटेल थियो। जान्नेभएदेखि नै होटेलमा काम गथ्र्यो ऊ।

प्लेट-गिलास धुने, टेबल सफा गर्ने सबै-सबै। बिहान÷बेलुका ग्राहक थुप्रिन्थे। दिउँसो उनीहरूले स्कुल जाने छुट्टी पाउँथे।

शनिबार र मंगलबार दिदी र आमा हाट जाँदा पसल कुर्ने जिम्मा श्यामकै हुन्थ्यो। पाँच कक्षा पढ्दै गर्दा त्यतिबेला आठ कक्षा पढ्दै गरेकी दिदीको बिहे भयो। मंगलबार हाट जाने काम उसको टाउकोमा आइपुग्यो। भन्छ, ‘त्यसपछि आठ कक्षासम्म म मंगलबारको दिन कहिल्यै स्कुल गइनँ।'

त्यसो त श्याम आफ्नो ‘उमेर' नसम्झिने उमेरमा गाउँबाट हराएको थियो। उसको गाउँका पुराना मान्छेहरू ‘हराएकै केटा' भन्छन् अझै पनि। तर, कथा लेखनको दुनियाँमा छिरेपछि ऊ हराएको छैन।

यहाँनेर श्याममाथि आख्यानकार नारायण ढकालले लेखेको टिप्पणी सापटी लिनु सान्दर्भिक हुन्छ- ‘अब्बामा संकलित श्याम साहका अधिकांश कथाको आविष्कार, स्थापत्य र प्राप्तिचाहिँ कथालाई चुट्किला बन्नबाट जोगाउने दायित्वबाट निर्देशित छ। खासगरी ‘लाटीको छोरो', ‘चोर' र ‘अब्बा'जस्ता शक्तिशाली कथा पढेपछि मैले ठहर गरेको स्थापना हो यो। यी कथाहरूले उनलाई नवोदित तर परिपक्व प्रौढ कथाकार भएको प्रमाणपत्र दिन्छन्।'

नारायण दाइ वास्तवमा नेपाली कथा चुट्किला बनिरहेकोमा चिन्तित छन्, ‘यहाँ कथाकारहरू किन गम्भीर नभएका होलान् ? ' सायद उनले गरेको चिन्ताको थोरै सम्बोधन श्याम साहले गर्न सक्छ। मधेसको सांस्कृतिक-सामाजिक-आर्थिक समाज, त्यसमा घटित स्थानीयस्तरको राजनीति र त्यसले निम्त्याएको परिणतिमा श्याम खरो उत्रिएको छ।

उसै त नेपाली कथामा मधेसलाई मूल विषय बनाएर थोरै मात्र कथा लेखिएको छ। बीपीको ‘नरेन्द्रदाइ', ‘मधेसतिर', ‘श्वेतभैरवी' कथाहरू मानिसका दमित सेक्स र आइमाईका निरीहताबारे लेखियो। कथामा ‘अरू थोक' लेखिनुपथ्र्यो, लेखिएन। त्यो अरू थोकमा धेरै थोक पर्लान्- मधेसको भित्री राजनीति, आर्थिक-सामाजिक सम्बन्ध आदि आदि।

‘नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सबैभन्दा बढी मधेसले सघाएको थियो। तर, अझै पनि कथामा नायकचाहिँ पहाडे मूलकै हुनुपर्ने ?मधेसकै मान्छे खोइ कथामा ? ', श्याम भन्छ।

सुरुमा मधेसबारे लेखिएका कथा वर्गविशेषमा फनफनी घुम्यो। तर, विविधतामूलक कथा लेखिएनन्। उसलाई लाग्छ- राज्यकै नीतिको कारण मधेसको विविधता आउने कथा लेखिएनन्। कथा त लेखिए तर, कसले कसरी लेख्यो भन्ने कुरा अहम् हुन्छ।

कथामा मधेसी आयो- हजाम ‘भैया' भएर आयो, रिक्सावाल ‘काले' भएर आयो। त्यसैले श्यामले कथा लेखेको हो। ऊ एउटा कुरामा ढुक्क छ- मधेसी पात्रलाई कथामा कोरस गाउने किसिमले मात्र ल्याइयो।

 बीपीले कथा लेखे- ‘एक रात'मा दुर्गानन्द झा प्रमुखपात्र भएर आए। नत्र उनले पनि मधेसी पात्रलाई साइड रोलमा मात्रै ल्याए। भवानी भिक्षुले मधेसको कथा लेखे- कताकति गरिबका कुरा लेखे, नत्र सम्भ्रान्त वर्गकै परिक्रमा गरे। श्याम सोच्छ- गरिबका कथाचाहिँ नलेखिएकै हो।

श्याम कथा सुनेरै÷पढेरै हुर्किएको हो। कुनै कथामा स्वैरकल्पना हाबी हुन्थे, कुनै सामाजिक यथार्थवादी हुन्थे। सुनाइकै परम्परामा मधेसमा मिथिला साहित्य टिकेको हो। मिथिला भाषा बोलिन्छ, सुनिन्छ। तर, श्यामले कुनै सरकारी कोर्समा आफ्नो भाषा पढ्न, लेख्न पाएन।

२०५१ सालमा स्थानीय तहसम्म मैथली भाषा पढ्न दिने भनियो। पछि मुद्दा पर्यो र रोकियो। कतिसम्म भने मैथिल महाकवि विद्यापतिको सालिक बनाउन पहिले राज्यले रोक लगायो। नेपाली भाषामा विद्यापतिका रचना छापिएपछि मात्र सालिक बन्यो। त्यसैले राज्यलाई सुनाउनकै लागि पनि श्याम नेपाली भाषामा कथा लेखिरहेको छ- कथामा राज्यकै विकृतिहरू।

कथालेखनमा डो¥याउने काम भने उसका बुवाले घरमा ल्याउने कमिक्स, हिन्दी पाकेट बुक्स, उपन्यासहरूले गरेका हुन्। बिजुली नपुगिसकेको गाउँमा समय बिताउने मेसो तास खेल्ने वा किताब पढ्ने हुन्थ्यो। उसका बा दुईवटै गर्थे। उसले भने बाले ल्याएका किताबहरू पढ्थ्यो। त्यहीँबाट ऊ कथासँग जोडियो।

त्यसो त मान्छेको जीवनमा धेरै मान्छे जोडिएर आउँछन्। कक्षा एकदेखि आठसम्म लगातार ट्युसन पढाएका ‘ श्रीदेव साह' नामधारी शिक्षकले साहित्य र राजनीतिमा रुचि जगाइदिएको बारम्बार उल्लेख गरिरहन्छ श्याम। मुसुक्क हाँस्दै भन्छ, ‘मैले लेखेको पहिलो कथा पनि त्यही सरकै विषयमा हो।' ‘सहिदको मनको जुलुस' शीर्षकको उसको पहिलो कथा छापिएको थियो- २०६३ सालमा आरआर क्याम्पसको स्ववियु मुखपत्र ‘विचार'मा।

श्यामलाई धेरैले चिनेकै छैनन्। एउटा कथासंग्रह निकालेको, साना मान्छेको कथा लेखेको र बल्लबल्ल हजार थान किताब बिकेको लेखकलाई धेरैले कसरी चिन्नु ?

ऊ आफूलाई कतिले चिन्लान् भन्नेप्रति पनि सचेत होला। उसको लागि लेखन रामरमाइलो र आत्मसन्तुष्टिको बाटोमात्र होइन। ‘यो त, समाज रूपान्तरणको एउटा फराकिलो र दीर्घकालीन बाटो हो।

उग्रबजारीकरणका कारण समाजलाई सकारात्मक बाटोतर्फ डोर्‍याउने साहित्यको ठाउँमा विकृत कुराहरूले प्रश्रय पाइरहेको अवस्थाले गर्दा मेरो उद्देश्य धेरै होइन, सचेत पाठक वर्गको निर्माण गर्नु हो।'

उसले मधेसको ‘गन्ध' बोकेको ‘अब्बा' दियो पाठकलाई। माफ गर्नुस, मैले यसलाई ‘बास्ना' भन्नुपर्ने। उसको कथाको रगतमा नवीनता दौडिएको छ। त्यसलाई श्याममार्ग भन्दा पनि हुन्छ।

तन्द्रामा हो कि सपनामा, श्यामको ‘लाटीको छोरो'की ‘लाटी' आफूमाथि नेताहरूबाट, भद्रभलाद्मीबाट भएको पटकपटकको बलात्कारविरुद्ध न्याय माग्न छोरो काखमा बोकेर गानिएको स्तन देखाउँदै सिंहदरबारको गेटमा आइपुगेकी छे। हिजो उसैलाई भोग्ने नेताहरू, भलाद्मीहरू निर्लज्ज बत्तीसी देखाउँदै लाटीको काखमा आफ्नै प्रतिबिम्ब देखेर लाज मान्दै भागिरहेका छन्।

मधेसको मनोदशा, दुःख नियाल्न पनि ‘अब्बा' सहायक हुनेछ।
...
बस काठमान्डुतिर कुदिरहेछ। म उसलाई हेरिरहेछु। मनमा विचारका तरंग दौडिरहेछन्। सहरमा चर्चा छ-
१ श्यामजीको लाटीको छोरो यो समयकै खतरा कथा हो।
२ श्यामजी तपाईं कति मेहनती ? बा...बा...लोकसेवा आयोगमा एकैपटक अधिकृत निकाल्नुभो।
३ तपाईंले कथामा मधेस लेखेर मधेसलाई नयाँ गति दिनुभो श्यामजी।

... म श्यामलाई माथि चर्चा गरिएजस्तो ‘महान्' भन्न सक्दिनँ। तर, ऊ राम्रो कथाकार हो। ऊ राम्रो कथाकारभन्दा पनि राम्रो हृदय भएको मानिस हो। ऊ समाजप्रति उत्तरदायित्व बोकेको, सामान्य र संघर्षशील कम्युनिस्ट हो। ऊ कथाकार हो, म उसलाई पढिरहेको छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.