बालमस्तिष्कमा भारतीय लगानीको प्रभाव

बालमस्तिष्कमा भारतीय लगानीको प्रभाव

काठमाडौं: ‘...भारत छोडी अन्त नाता कहीं पनि जोड्न पाउँदैनौं
भारतसँग नाता तोडी कोही पाउँदैन जान
भारतले जे भने पनि स्वीकार गरी मान
भारतले गर्दा पायौं हामीले यत्रो ज्ञान
योभन्दा ठूलो अरू कहीं पाउँदैनौं ज्यान...'

हालै अर्घाखाँची सदरमुकाम सन्धीखर्कस्थित जनज्योति उच्चमाध्यमिक विद्यालयको भवन उद्घाटन समारोहमा विद्यार्थीले गाएको गीतको एक अंश हो यो । उक्त भवन भारतीय दूतावासको लघु वित्तीय सहयोग कार्यक्रमअन्तर्गतको लगानीमा बनेको थियो । अहिले सामाजिक सञ्जालमा यस्तो गीत गाउन लगाउनेप्रति छानबिन हुनुपर्ने मागले व्यापकता पाइरहेको छ ।

यस विषयमा सामाजिक सञ्जाल ट्विटरमार्फत धेरैले आपत्ति जनाइसकेका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताले उक्त कार्यक्रममा प्रमुख अतिथि बनेका उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि कारबाही गरिनुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । मन्त्री रायमाझीले भने, ‘बालबालिकाले गाउने गीतमा शिक्षकको प्रत्यक्ष निर्देशन हुनुपर्छ तर त्यहाँ यस्तो भएको पाइएन ।'

शिक्षक तथा विद्यार्थीको गल्तीप्रति आफूले आपत्ति जनाइसकेको पनि उनले प्रस्ट्याए । कार्यक्रममा प्रमुख अतिथि बनिसकेपछि म गीत सुन्दिन भनेर हिँड्न नमिल्ने तर्क गर्दै उनले विद्यालयले आफ्नो कमजोरी स्वीकारिसकेकाले यस विषयमा लागिरहनुनपर्ने पनि बताए । कार्यक्रममा भारतीय राजदूत रन्जित रे पनि उपस्थित थिए ।

 

बालमनोविद् डा. अनिता तामाङ बालबालिकालाई सानैदेखि जे सिकाइन्छ उनीहरूको मस्तिष्कमा त्यही बस्ने हुनाले भविष्यमा उनीहरूले लिने लाइन पनि सोहीअनुरूप हुने बताउँछिन् । ‘बालबालिकाले अहिले सही–गलत छुट्याउन नसक्ने हुनाले उनीहरूले अभिभावक र शिक्षकको मार्गनिर्देशनअनुसार नै काम गर्छन् । तर बुझ्ने भइसकेपछि यस्ता गलत सिकाइले उनीहरूको मानसिकतामा नकारात्मक असर पर्छ,' तामाङले भनिन् ।

शिक्षकले विद्यार्थीलाई राजनीतिक हतियारका रूपमा प्रयोग गरिरहेका हुनाले पनि बालमस्तिष्कमा यस्ता कुरा घुसेको विश्लेषण गर्छन् शिक्षाविद् विद्यानाथ कोइराला । एउटा शिक्षकले जे विचार दियो त्यसैमा विद्यार्थी लाग्ने उनले बताए । उनले भने, ‘हामीले विद्यार्थीलाई एउटा क्रिटिकल मास बनाउने हो भने एउटाको पक्षमा हुने सन्देश दिनु हुँदैन । भारत र चीन दुवै हाम्रा छिमेकी मित्र भएकाले यसमा यो वा त्यो भन्ने हुँदैन । दुवै हाम्रा हुन् भन्ने भावना जगाउनुपर्छ ।'

अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालका अनुसार भारतीय दूतावासले नेपाल सरकारसँग स्वीकृति मागेर साना विकास आयोजनाअन्तर्गत जिविससँग सम्झौता गरी बजेट खर्च गर्दै आएको छ । भारतीय दूतावासले करिब १९ करोड ६० लाख रुपैयाँ खर्च गरी जनज्योति उमाविको भवन निर्माण गरिदिएको हो । दूतावासले नेपालमा चाहेका जिल्लाहरूमा सिधै लगानी गर्ने अधिकार राख्छ ।

विद्यालयका प्रधानाध्यापक दिनानाथ आचार्यले भवन उद्घाटन समारोहमा गाइएको उक्त गीत कक्षा १० कै विद्यार्थी रञ्जना विकसहित तीन छात्राले लेखेको र त्यसलाई आफूहरूले हेर्न नभ्याएको बताए । ‘त्यो गीतमा नितान्त विद्यार्थीकै शब्द र संगीत भए पनि त्यसलाई नहेर्नु हाम्रो गल्ती हो', उनले भने, ‘त्यो भन्नै नहुने कुरा हो । कसैले भनेर निर्देशन गरेर लेखेको भने होइन ।' विद्यार्थी, प्रशासनलगायतले उक्त गीत राम्रो नमानेकाले आफूहरूले पत्रकार सम्मेलन नै गरी माफी मागिसकेको पनि उनले प्रस्ट्याए ।

पूर्वराजदूत दीपकुमार उपाध्यायले व्यवहारमा हेर्दा यस्ता कुराहरू त्यति राम्रो नदेखिने र यसले दुई देशबीचका सम्बन्धमा दीर्घकालीन रूपमा असर पुर्‌याउन सक्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.