पुराना सन्धिको ‘समीक्षा आवश्यक'

पुराना सन्धिको ‘समीक्षा आवश्यक'

काठमाडौं: नेपाल र भारतबीच विगतमा भएका सन्धिसम्झौताको संशोधन र एकआपसका चासोको सम्मान गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‌याउने प्रतिबद्धतासहित नेपाल-भारत प्रबुद्ध समूहको पहिलो बैठक सोमबार काठमाडौंमा सुरु भएको छ ।

अघिल्लो वर्ष संविधान जारी भएयता भारतले पाँच महिना नाकाबन्दी लगाएपछि दुई देशबीचको सम्बन्धमा विभिन्न संकट उत्पन्न भएको परिस्थितिबाट माथि उठ्दै सम्बन्धलाई नयाँ रूपमा अघि बढाउन दुवैतर्फबाट पहल अघि बढेका बेला प्रबुद्ध समूहको बैठक आयोजना भएको हो ।

प्रधानमन्त्री केपी ओलीको गत फागुनमा सम्पन्न भारत भ्रमणमा औपचारिक रूपमा गठनको घोषणा गरिएको प्रबुद्ध समूहको पहिलो बैठक नेपालमा बसेको हो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले होटेल अन्नपूर्णमा आयोजित बैठकको उद्घाटन गरे । नेपालले सन् १९५० को नेपाल—भारत शान्ति तथा मैत्री सन्धि संशोधन चाहेको प्रस्ट संकेत गर्दै थापाले विगतमा भएका द्विपक्षीय सन्धि, सम्झौता बदलिँदो सन्दर्भअनुसार परिवर्तन हुनुपर्ने धारणा राखे ।

‘परिवर्तित विश्व व्यवस्थाअनुसार नेपाल र भारत सम्बन्धको अवस्था पनि बदलिएको छ । अब यो सम्बन्ध सन् १९५० को अवस्थासँग तुलना गर्न मिल्दैन । परिस्थिति त्यसभन्दा भिन्न छ', थापाले भने । उनले नेपाल-भारत सम्बन्धमा विगतमा यदाकदा समस्या आउने गरे पनि सम्बन्ध सधैं सुमधुर रहेको बताए । ‘बहुआयामिक सम्बन्ध भएका मुलुकहरूबीच यदाकदा असहज अवस्था आउनु अस्वाभाविक होइन', उनले भने ।

भारतले गत वर्ष नेपालमा नयाँ संविधान जारी भएलगत्तै लगाएको नाकाबन्दीका कारण सर्वसाधारण जनताको दैनिक जीवनस्तरमा गम्भीर असर परेकोतर्फ इंगित गर्दै मन्त्री थापाले नेपाल र भारतबीत यदाकदा उत्पन्न हुने शंका र असमझदारीका कारण जनताको दैनिक जीवनस्तरमा अनावश्यक रूपमा असर पार्न नहुने धारणा राखे । ‘मित्रतापूर्ण र स्वस्थ सम्बन्ध भएका देशबीच समान सार्वभौमिकता र पारस्परिक लाभको सिद्धान्तको सम्मान हुनु जरुरी हुन्छ', उनले भने ।

प्रबुद्ध समूहको बैठक सुरु भएसँगै नेपाल र भारतबीचको सम्बन्ध सुदृढ, गतिशील र अग्रगामी बनाउन नयाँ अध्याय सुरु भएको थापाले बताए । दुई देशबीच जनस्तरमा रहेको सम्बन्ध परापूर्वकालदेखि सुमधुर रहँदै आएको पनि उनले बताए । नेपाल र भारतबीचका मतभेद, आशंका र असमझदारीलाई हटाउँदै सम्बन्ध नयाँ रूपमा अघि बढाउन समूहले महत्त्वपूर्ण काम गर्ने उनको अपेक्षा थियो ।

 

उद्घाटन सत्रमा नेपालतर्फबाट समूहका संयोजक रहेका डा. भेषबहादुर थापाले समूह नेपाल—भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‌याउन केन्द्रित रहने बताए । ‘यो सम्बन्धलाई अद्यावधिक गर्नु र माथि उठाउनु हाम्रो उद्देश्य हो । समूहमा रहेका हामी आठैजना सहकर्मी हौं । एकअर्काका समकक्षी होइनौं । हामी साझा उद्देश्य र गन्तव्यका लागि काम गरिरहेका छौं', उनले भने ।

भारततर्फबाट समूहका संयोजक रहेका भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीले भने, ‘नेपाल र भारतको एउटै रगत समूह छ । हाम्रो गोत्र पनि एउटै छ ।' कोसियारीले भारतमा जुनसुकै दलको शासन भए पनि नेपालमा शान्ति, स्थिरता र प्रगति चाहँदै आएको बताए ।

भारतको नेपाललाई सुरक्षाका दृष्टिले हेर्ने परम्परागत मानसिकतालाई प्रतिनिधित्व गर्ने गरी कोसियारीले भुटान र नेपाललाई भारतले एकै किसिमले हेर्दै आएको भान हुने अभिव्यक्तिसमेत दिए । ‘हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीजी र हामी चाहन्छौं, नेपाल भारतभन्दा पनि पहिला खुसी होस् । ग्रस न्यासनल ह्याप्पिनेसमा नेपाल भारतभन्दा प्रथम होस् । भुटान दुनियाँमा खुसी प्राप्त गर्ने पहिलो मुलुक बनेको छ । हामी भुटानजस्तै नेपाल पनि खुसी होस् भन्ने चाहन्छौं', उनले भने ।

भारतीय कर्मचारीतन्त्र र राजनीतिक नेताभन्दा आफूले नेपाललाई केही पृथक रूपमा हेर्ने गरेको छनक दिँदै कोसियारीले आफूले नेपालसँग रोटीबेटीको सम्बन्धका बारे चर्चा गर्न आवश्यक नठानेको बताए । ‘म नेपाल र भारतबीचको दीर्घकालीन सम्बन्धबारे चर्चा गर्न चाहन्छु', नेपालतर्फबाट प्रबुद्ध समूहमा सदस्य रहेका पूर्वराजदूत निलाम्बर आचार्यतर्फ देखाउँदै कोसियारीले भने, ‘मेरो अधिकार पशुपतिनाथतिर जति छ, निलाम्बरको केदारनाथमा त्यत्तिकै अधिकार छ ।'

नेपाल र भारतका आफ्ना आन्तरिक मामिलामा हुने हस्तक्षेपतर्फ लक्षित गर्दै उनले भने, ‘तर जब भारतीय पक्षबाट सिंहदरबारमा त्यही खालको अधिकार खोजिन्छ वा नेपाली पक्षले दिल्लीस्थित राइसिना हिलमा पनि आफ्नो समान अधिकार खोज्न थाल्छ अनि गड्बडी सुरु हुन्छ ।'

बैठक ३ घन्टामात्र
सोमबार सुरु भएको समूहको बैठकमा नेपाल-भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकनलगायत अन्य सबै सन्धिसम्झौताको संशोधन, अद्यावधिक र आवश्यक परे खारेजीलगायत विषयमा सरकारलाई आवश्यक सुझाव दिने विषयले प्रवेश पाएको अधिकारीहरूले बताए । त्यस्तै आगामी दिनमा समूहले आफ्ना कामकारबाही कसरी अघि बढाउने र कुन कोर्समा जाने भन्नेबारे छलफल भएको थियो ।

नेपाल र भारतका आर्थिक, सुरक्षा, सामाजिक, राजनीतिक मुद्दामा विगतमा भएका सन्धि र सम्झौतालाई समयानुकूल रूपमा परिमार्जन गर्दै लैजान कुन ढंगले अघि बढ्ने भन्नेबारेमा छलफल भएको थियो । समूहको औपचारिक बैठक सोमबार ११:३० देखि १ बजेसम्म र दिवाभोजपछि डेढ घन्टा बसेर टुंगिएको थियो । बैठक मंगलबार बिहान ११ देखि एक बजेसम्म बस्ने बताइएको छ ।

नेपाल-भारत शान्ति तथा मैत्री सन्धि (सन् १९५०) लगायतका अन्य द्विपक्षीय सहमति र सन्धिबारे समूहले दुवै सरकारलाई दुई वर्षभित्र प्रतिवेदन दिनेछ । समूहमा नेपालका तर्फबाट पूर्वराजदूत डा. थापा, एमाले सांसद राजन भट्टराई, कानुनविद् सूर्यनाथ उपाध्याय र पूर्वमन्त्री निलाम्बर आचार्य सदस्य छन् । भारतका तर्फबाट नेपालका लागि पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती तथा कोसियारी सदस्य छन् ।

सन् २०१४ जुलाईमा काठमाडौंमा सम्पन्न विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले नेपाल भारत प्रबुद्ध समूह गठन गर्ने निर्णय लिएको थियो । प्रधानमन्त्री ओलीको फागुनमा सम्पन्न भारत भ्रमणमा समूहको औपचारिक घोषणा भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.