नाटक अभ्यास गराउँदै सत्यमोहन

नाटक अभ्यास गराउँदै सत्यमोहन

भक्तपुर: राष्ट्रिय विभूति अरनिकोको चीन यात्रासँग सम्बन्धित ऐतिहासिक नाटक पहिलोपटक मञ्चन हुने भएको छ।

संस्कृतिकर्मी ज्ञानकाजी मानन्धरले नेपाल भाषा एकेडेमीका कुलपति सत्यमोहन जोशीद्वारा लिखित उपन्यास 'कलाकार अरनिको'मा आधारित एकांकी नाटक 'श्वेत चैत्य' लेखेका थिए। सो नाटक नेपाल साहित्य मन्दिर भक्तपुरले 'अरनिकोया श्वेतचैत्य' (अरनिकोको श्वेतचैत्य) नाममा मञ्चन गर्न लागेको हो।

दुई दशकअघि लेखिएको उक्त नाटक हालसम्म कसैले मञ्चन गरेको छैन। नाटकमा नेपाल-चीन सम्बन्धका सेतु राष्ट्रिय विभूति अरनिकोको योगदान तथा नेपालको कलाकृति, वास्तु तथा कलाकारकोे क्षमता उजागार गरिएको छ।

नाटकमा ऐतिहासिक पक्षमात्र छैन, तत्कालीन नेपाली समाजको चित्रणसमेत गरिएको छ। नौ भागमा विभक्त नाटकको तीन भागमा नेपालको सन्दर्भ छ भने बाँकी ६ भागमा चीनको तिब्बत, उत्तरी चीन हुँदै युआन सम्राट् कुब्लाइ खाँको सन्दर्भ उल्लेख छ।

बालमुकुन्द प्रजापतिद्वारा निर्देशित नाटकको प्रमुख पात्र अरनिकोको भूमिकामा उनी आफैं छन्। अरनिकोकी नेपाली श्रीमती जयादलक्ष्मीको भूमिकामा रोजी वज्राचार्य रहेकी छन् भने चिनियाँ श्रीमती न्याउको भूमिकामा रोशनी भेलेले अभिनय गर्दैछिन्।

नाटकमा तत्कालीन लिच्छवि राजा भीमदेवको भूमिकामा राजु मानन्धर, अरनिकोका बाबु र आमाको भूमिकामा क्रमशः हरिसुन्दर पोतामाहाँ र अस्मिता मानन्धर, सम्राट् कुब्लाइ खाँको भूमिकामा महेशप्रकाश कायस्थ, चिनियाँ राजगुरुको भूमिकामा राजेश फाँजू रहेका छन्।

 

चिनियाँ राजगुरुले सम्राट् कुब्लाइँ खाँलाई नेपाली वास्तुकलासँगै भगवान् बुद्धको नाउँमा नेपालमा बनेका चैत्य, स्तूपाको भव्यताबारे जानकारी दिए पनि नेपालमा जस्तै बुद्ध स्तूपा तथा चैत्य बनाउन अरनिकोको नेतृत्वमा नेपाली कलाकार चीनमा गएको प्रसंग नाटकमा छ।

अरनिकोले चीनमा बनाएको श्वेत चैत्यमा बृहत् अन्तर्राष्ट्रिय महोत्सवसँगै सकिने नाटकमा नेपालबाट अरनिको चीन जानुअघिसम्मको कथावस्तु समेटिएको छ। विवाह गरेको महिना दिन नहुँदै १६ वर्षीय अरनिको आफूलाई छोडेर चीन जाने निर्णयमा पुगेपछि अरनिको र जयादलक्ष्मीबीच हुने संवाद अत्यन्तै मार्मिक र हृदयविदारक रहेको निर्देशक प्रजापतिले बताए।

अरनिकोले आफू राज्यको प्रतिनिधित्व गरी विदेश जान लागेको बताउँदा जयादलक्ष्मीले यसरी जाने निर्णय गर्नुअघि आफूसँग सल्लाह नगरेकोमा आक्रोश पोख्छिन्।

चिनियाँ युवतीहरू राम्री हुनुका साथै चतुर पनि हुन्छन् भन्ने सुनेकी जयादलक्ष्मीले अरनिकोलाई चिनियाँ युवतीले फसाएर उतै बसाउनेबारे सतर्क गराउँछिन्। तर अरनिकोले आफ्नो प्राण जयादलक्ष्मी भएकाले आफूमाथि शंका नगर्न विभिन्न तर्क गर्छन्।

आफ्नो कुरा नसुनी जाने अरनिकोलाई जयादलक्ष्मीले त्यही भेटलाई अन्तिम भन्छिन्। नभन्दै नाटकअनुसार चीन गएको अरनिको नेपाल फर्कंदैनन्।

नाटक असार २२ गते काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा मञ्चन गरिने भएको छ। भक्तपुर दरबार क्षेत्रस्थित ख्वप छेंमा नाटकका लेखक ज्ञानकाजी मानन्धर, उपन्यासका सत्यमोहन जोशी, साहित्यकार तेजेश्वरबाबु ग्वंगःलगायत नेपाल भाषाको साहित्य तथा रंगमञ्चमा कार्यरत धेरै कलाकारसामु नियमित नाटक अभ्यास गरिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.