रोनाल्डोलाई बेलको चुनौती

रोनाल्डोलाई बेलको चुनौती

एजेन्सीः क्रिस्टियानो रोनाल्डो ३१ वर्षका भए। उनले यो उमेरसम्म तीनपटक फिफा वर्ष खेलाडीको उपाधि जितिसकेका छन्।

आफ्नो खेल जीवनमा उनले क्लब फुटबलमा सबै सफलता हात पारिसकेका छन्। तर राष्ट्रिय टोली पोर्चुगलका लागि भने उनी अहिलेसम्म उपाधिविहीन छन्।

पोर्चुगललाई उपाधि जिताउन सके उनको सफल खेल जीवनले पूर्णता पाउनेछ। यही प्रयासमा रहेका रोनाल्डोले सम्भवतः अन्तिम अवसरका रूपमा बिहीबार बिहान राष्ट्रिय टोलीको तर्फबाट युरोकपमा वेल्सको सामना गर्दैछन्।

सेमिफाइनलमा हुने यो भिडन्तमा जित हात पार्न सके पोर्चुगल उपाधि नजिक पुग्नेछ।

युरोकप त्यही प्रतियोगिता हो, जसमा १२ वर्षअघि भर्खरै खेल जीवन सुरु गरेका रोनाल्डो फाइनलसम्म पुगेका थिए तर, उपाधि भने जित्न सकेका थिएनन्।

सन् २००४ को फाइनलमा ग्रिससँग पराजित भएपछि रोनाल्डोको सिनियर अन्तर्राष्ट्रिय खेल जीवन उपाधि नजिकै पुगेर टुंगिएको थियो। त्यसयता रोनाल्डोले अन्तर्राष्ट्रिय उपाधिका लागि लगातार कुरिरहनु परेको छ।

वेल्स र पोर्चुगल दुई फरक परिचय भएका टोली हुन्। तर रोनाल्डो र बेलबीच भने धेरै समानता छन्। युरोकपमा वेल्सको पहिलो सहभागिता हो र उसले निकै राम्रो प्रदर्शन गरिरहेको छ।

क्वार्टरफाइनलमा विश्व वरीयताक्रमको दोस्रो स्थानमा रहेको बेल्जियममाथि प्राप्त ३–१ गोलको जितले वेल्सलाई उपाधि दाबेदारका रूपमा उभ्याएको छ।

वेल्सका सबैभन्दा भरपर्दा खेलाडी स्ट्राइकर गारेथ बेल हुन् तर, टोली उनमा मात्र निर्भर नरहेको पछिल्लो नतिजाले देखाइसकेको छ।

कुनै समय विश्व क्लब फुटबलका स्थानान्तरण मूल्यको कीर्तिमान बनाएका बेल पनि रोनाल्डोले व्यावसायिक फुटबल खेल्ने क्लब रियल म्याड्रिडमै आबद्ध छन्।

रोनाल्डो क्लबमै भएका बेला रियलले बेललाई कीर्तिमानी स्थानान्तरण मूल्यमा इङ्लिस क्लब टोट्टनहामबाट भित्र्याएको थियो। त्यसयता बेलले आफ्नो छुट्टै परिचय बनाएका छन्।

रोनाल्डोसँग मिलेर उनले क्लबस्तरीय प्रतियोगितामा सफलताको थुप्रै स्वाद चाखिसकेका छन्। रोनाल्डोजस्तै बेल पनि टोलीका एकमात्र ठूला स्टार हुन्, जसको मेहनतले टोलीको सफलतामा ठूलो अर्थ राख्छ।

बेलको चर्चा र मेहनतसँगै परिपक्व टिम वर्कका कारण पनि बेल्स यहाँसम्म आइपुगेको हो।

रोनाल्डोभन्दा तीन वर्षपछि अर्थात् सन् २००६ मा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका बेलले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ६६ खेल खेल्दै २२ गोल गरेका छन्।

रोनाल्डोजस्तै बेल पनि लामो दूरीबाट गोल गर्न सक्छन्। उनले समूहगत चरणका तीन खेलमा तीन गोल गरे भने अघिल्ला दुई खेलमा पनि फ्रिकिकमार्फत एकएक गोल गरेका थिए।

अन्तर्राष्ट्रिय फुटबलमा यसअघि एकपटक मात्र विश्वकप खेल्ने क्रममा क्वार्टरफाइनलसम्म पुगेको वेल्सले जारी प्रतियोगितामार्फत ऐतिहासिक उपलब्धि हात पारिसकेको छ।

यसैकारण पोर्चुगल र रोनाल्डोले नयाँ टोली भए पनि वेल्सलाई सशक्त प्रतिद्वन्द्वीका रूपमा लिनेछन्। युरोकप फुटबल पोर्चुगलका लागि विशेष तर, उपाधि जित्न नसकेको प्रतियोगिता हो।

युरोकपमा सातौंपटक सहभागी भइरहेको पोर्चुगल पाँचपटक भने कम्तीमा सेमिफाइनलसम्म पुगेको छ। पोर्चुगल सन् २००० यता चौथोपटक युरोकपको सेमिफाइनलमा पुगेको हो।

दुईपटक भने क्वार्टरफाइनलबाटै बाहिरिएको छ। सेमिफाइनलभन्दा अगाडिको यात्रा भने पोर्चुगलका लागि कठिन देखिने गरेको छ। युरोकपमा पोर्चुगल यसअघि तीनपटक सेमिफाइनलमै रोकिएको थियो।

रोनाल्डोले खेल्न थालेयता पोर्चुगल सन् २००६ को विश्वकपमा सेमिफाइनलसम्म पुगे पनि फाइनलमा भने पुग्न असफल भएको थियो। त्यसैले रोनाल्डोले राष्ट्रिय टोलीका लागि सफलता हात पार्छन् वा पार्दैनन्, धेरैका लागि प्रतीक्षाको विषय बनेको छ।

सन् २००३ मा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेयता रोनाल्डोले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा एक सय ३१ खेल खेल्दै ६० गोल गरेका छन्। उनी पोर्चुगलका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्। टोलीका कप्तान पनि अहिले रोनाल्डो नै हुन्।

युरोपियनस्तरका फुटबलमा रोनाल्डोले राष्ट्रिय टोलीलाई सफलता दिलाउन नसके पनि प्रायः सबै कीर्तिमान भने आफ्नो नाममा पारिसकेका छन्।

युरोपको सबैभन्दा ठूलो क्लब फुटबल युरोपियन च्याम्पियन्स लिगमा रोनाल्डो एकै सिजन र सदाबहार दुवैमा सर्वाधिक गोलकर्ता हुन्।

युरोकपमा समेत उनले लगातार चार संस्करणमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। यो प्रतियोगितामा सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्नबाट उनी केवल एक गोलले पछाडि छन्। उनको उत्कृष्ट प्रदर्शनमा रियल म्याड्रिड यो सिजन युरोपियन च्याम्पियन पनि बनेको थियो।

जारी युरोकपमा पोर्चुगलको यात्रा सबैभन्दा संघर्षपूर्ण देखिएको छ। समूहगत चरणमा तीनवटै खेल बराबरी खेल्नुका साथै प्रिक्वार्टरफाइनल अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै जित हात पारेको पोर्चुगल क्वार्टरफाइनलमा पोल्यान्डलाई टाइब्रेकरमा हराएर अगाडि बढेको हो।

पोर्चुगलले निर्धारित समयमा खेल नजिते पनि उत्कृष्ट पुनरागमन गर्ने गरेको छ। अन्तर्राष्ट्रिय फुटबलमा पोर्चुगल र वेल्सबीच हालसम्म तीनपटक भिडन्त भएकोमा पोर्चुगलले दुई र वेल्सले एकपटक जित हात पारेका छन्।

यी दुई टोलीबीच अन्तिम पटक सन् २००० मा प्रतिस्पर्धा भएको थियो। उक्त भिडन्तमा पोर्चुगल ३–० गोलले विजयी बनेको थियो। अन्तर्राष्ट्रिय फुटबलमा भने रोनाल्डो र बेलको यो नै पहिलो भेट हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.