सुशन र नरेशलाई विदेशमा अवसर

सुशन र नरेशलाई विदेशमा अवसर

काठमाडौँ: नेपाली ब्याट्सम्यान नरेश बुढाएरले क्यानडामा खेल्ने अवसर पाएका छन् । यसैगरी युवा स्पिनर सुशन भारीले इङ्ल्यान्डको क्लबमा मौका पाएका छन् ।

नरेशले क्यानडाको टोरन्टोस्थित ब्लुमफिल्ड एकेडेमीबाट खेल्ने अवसर पाएका हुन् । क्रिकेट प्लेयर्स एसोसिएसन अफ नेपाल र राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रयासमा नरेशले क्यानडामा खेल्ने अवसर पाएका हुन् ।

यसअघि दासानायकेले अन्य नेपाली क्रिकेटरलाई पनि क्यानडामा प्रशिक्षणको व्यवस्था मिलाएका थिए । नरेश आगामी अक्टुबरसम्म क्यानडामा रहने र उनको खानेबस्ने र फर्कने टिकटको व्यवस्था क्लबले गर्ने बताइएको छ ।

नरेशले २००९ मा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । यद्यपि उनले टोलीमा नियमित ठाउँ बनाउन सकेका छैनन् । नरेश बुधबार क्यानडा प्रस्थान गर्नेछन् ।

यसैगरी सुशनले इङ्ल्यान्डको कर्नवालस्थित फालमाउथ क्रिकेट क्लबबाट खेल्ने अवसर पाएका हुन् । सेप्टेम्बरसम्म त्यहाँ रहने सुशनको खानेबस्ने र फर्कने टिकट क्लबले नै मिलाएको हो । सुशनले पनि क्रिकेट प्लेयर्स एसोसिएसन अफ नेपालकै संयोजनमा उक्त अवसर पाएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा भएको अवस्थामा र नेपाली क्रिकेट विवाद समाधानमा कुनै प्रयास नभइरहेको अवस्थामा क्रिकेट प्लेयर्स एसोसिएसन अफ नेपालले आफैंले खेलाडीलाई विदेशमा अवसर खोजेको हो ।

पूर्वकप्तान पवन अग्रवालको अध्यक्षतामा रहेको एसोसिएसनको महासचिवमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का रहेका छन् । केही साताअघि मात्र पुनर्गठन भएको एसोसिएसनले त्यसपछि आफ्नो उपस्थिति र भूमिका देखाएको हो ।

पुबुदुलाई ‘टिम म्यानेजर'को जिम्मेवारी
नेपाली क्रिकेट टोलीको आसन्न इङ्ल्यान्ड र नेदरल्यान्ड्स भ्रमणका लागि टिम म्यानेजरको जिम्मेवारी पुबुदु दासानायकेले पाएका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षकसमेत रहेका पुबुदु कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारीमा पनि हुनेछन् ।

यसअघि नेपालमा केही महिनाअघि भएको नामिबियाविरुद्धको आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेलका लागि समेत पुबुदुलाई कन्सल्टेन्ट प्रशिक्षकका रूपमा ल्याइएको थियो ।

त्यसअघि नेपाली टोलीको प्रशिक्षक पदबाट राजीनामा दिएर स्वदेश फर्किएका पुबुदुले यस पटक नेपाली टोलीका कन्सलटेन्ट प्रशिक्षकसहित टिम म्यानेजरको भूमिकासमेत पाएका छन् ।

पुबुदुलाई कन्सलटेन्ट प्रशिक्षक र टिम म्यानेजरको जिम्मेवारी दिइएको बारे नेपाली क्रिकेट पदाधिकारीहरूले भने अनभिज्ञता प्रकट गरेका छन् । यद्यपि स्रोतले भन्छ, ‘नेपाल क्रिकेट संघ निलम्बित भएको अवस्थामा अहिले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नै हेरिरहेको छ।

हामीले पुबुदु कन्सलटेन्ट प्रशिक्षकसँगैं टिम म्यानेजरको जिम्मेवारीमा पनि रहेको जानकारी पाएका छौं ।' नेपालले जुलाई १९ तारिखमा इङ्ल्यान्डको मेलबर्न क्रिकेट क्लब (एमसीसी) सँग लर्डसमा खेल्दैछ । त्यसपछि अगस्ट १३ र १५ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.