सुक्खा पहिरोले नदी थुनिएपछि पर्यटक अलपत्र
दोलखा : दोलखाको बिगु गाउँपालिका—१ स्थित लामाबगरको देउरालीमा सुक्खा पहिरो खसेर आंशिक रूपमा थुनिएको क्यालु खोला सामान्य अवस्थामा आएको छ। त्यहाँ रहेका पर्यटक भने अझै अलपत्र अवस्थामै छन्। शुक्रबार बिहान करिब ११ बजेतिर सडक खन्ने क्रममा देउराली नजिकै खसेको सुक्खा पहिरोले तामाकोशी नदी आंशिक रूपमा थुनिएको थियो।
माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा केही माथि सुक्खा पहिरो खसेको थियो। पहिरोले सडक अवरुद्ध भएपछि चीनसँगको सिमाना लप्ची गाउँमा रहेको लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्रको उद्घाटन र दीर्घायु पूजामा सहभागी भई फर्कंदै गरेका २५ विदेशीसहित ६० जना पर्यटक देउराली क्षेत्रमा अलपत्र परेका थिए।
अहिले उनीहरू दुगड ग्रुुपको सहयोगमा वैकल्पिक मार्ग प्रयोग गरी लामाबगर आइपुगेका विगु गाउँपालिका—१ का वडाध्यक्ष मेमबहादुर तामाङले बताए।
सुक्खा पहिरो गएको ठाउँ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ड्याम रहेको लामाबगरभन्दा झन्डै तीन किलोमिटर माथि पर्ने वडाध्यक्ष तामाङले बताए। सुक्खा पहिरो गएको ठाउँमा पुग्न माथिल्लो तामाकोशी आयोजनाको ड्यामसँगैको एक किलोमिटर सुरुङ मार्ग हुँदै तीन किलोमिटर पार गर्नुपर्ने वडा अध्यक्ष तामाङको भनाइ छ।
सुक्खा पहिरोले झन्डै दुई घण्टा तामाकोशी नदी थुनिएको थियो। नदी थुनिएको खबर पाएपछि तामाकोशी आयोजनाले विद्युत् उत्पादन गरेर ड्यामको पानी घटाएको र अहिले नदी खुलेर पानी सामान्य अवस्थामा बग्न थालेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले बताए।
सुक्खा पहिरोले तामाकोशी नदी थुनिए पनि माथिल्लो तामाकोशी आयोजनालाई कुनै समस्या नभएको प्रमुख कार्यकारी अधिकृत गौतमको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !