बलियो जर्मनीलाई आयोजक फ्रान्सको चुनौती

बलियो जर्मनीलाई आयोजक फ्रान्सको चुनौती

पेरिसः युरोकपको दोस्रो सेमिफाइनलमा शुक्रबार बिहान जर्मनी र फ्रान्स भिड्दैछन्।

आयोजक फ्रान्सले जर्मनीलाई हराउन आफ्नो टोलीले हरेक हिसाबले तयार रहेको दाबी गरेको छ। फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पसले आफ्नो टोली युरोकपको फाइनलमा पुग्ने दाबी पनि गर्दै आएका छन्।

‘हामी कुनै पनि हालतमा राम्रो खेल खेल्ने छौं। मेरा खेलाडीले जर्मनीलाई हराउन सम्पूर्ण प्रयास गर्नेछन्', उनी भन्छन्।

डेसच्याम्पसले विश्वकप विजेता जर्मनी पनि उत्कृष्ट टोली भएको बताए। ‘जर्मनी विश्वकै राम्रो टोली हो तर, मेरा खेलाडी पनि जर्मनीको सबै पक्षलाई सामना गर्न तयार छन्। सेमिफाइनल खेल निकै महत्वपूर्ण हुनेमा दुईमत छैन।

हामी हाम्रो सम्पूर्ण बल लगाउनेछौं', उनले थपे। जर्मनीलाई हराएर उपाधि घरमै राख्ने आफ्नो टोलीको योजनाले मूर्तरूप लिने उनले बताए।

यसैगरी जर्मनीका प्रशिक्षक जोचिम लोयले घरेलु टोलीसँगको सेमिफाइनल खेल जर्मनका लागि निकै महत्वपूर्ण रहेको बताए।

‘घरेलु मैदान र दर्शकको साथ फ्रान्सलाई छ। फ्रान्सलाई हामीले बलियो प्रतिद्वन्द्वीका रूपमा लिएका छौं।

बलियो इटालीलाई पेनाल्टी सुटआउटमा हराएपछि टोलीको मनोबल पनि बढेको छ। फ्रान्ससँग मेरा खेलाडीले वास्तविक खेल खेल्नेछन्। सेमिफाइनलमा हामी थप सुदृढ प्रदर्शन गर्नेछौं', जोचिमले भने।

दुई प्रशिक्षकले सेमिफाइनल जित्ने दाबी गरिरहँदा तथ्यांकमा भने फ्रान्स बलियो देखिएको छ। फ्रान्सले जर्मनीसँग सन् १९३१ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो।

अहिलेसम्म यी दुई टोलीबीच २७ वटा भिडन्त भएका छन्, जसमध्ये १२ खेलमा फ्रान्सले जित हात पारेको छ। जर्मनी १० खेलमा विजयी भएको छ। पाँच खेल भने बराबरीमा सकिएको छ।

जर्मनी र फ्रान्स पछिल्लो पटक सन् २०१५ नोभेम्बरमा आमनेसामने भएका थिए। मैत्रीपूर्ण उक्त खेलमा फ्रान्सले जर्मनीलाई २-० गोलले पराजित गरेको थियो।

विश्व फुटबलमा दबदबा जमाएका यी दुई टोलीबीचको सेमिफाइनल खेल निकै रोचक हुने अनुमान गरिएको छ। यतिबेला विश्व फुटबलमा चर्चाको शिखरमा रहेको जर्मनी युरोकपको उपाधि जित्दै छुट्टै कीर्तिमान बनाउने तयारीमा छ।

स्पेनसँगै तीनपटक युरोकपको उपाधि चुमेको जर्मनी चारपटक उपाधि जित्ने एकमात्र टोली बन्न चाहन्छ। जर्मनी हालसम्म तीनपटक उपविजेता बनेको छ।

यसैगरी सर्वाधिक युरोकप खेल्ने टोली पनि जर्मनी नै हो। सुरुआती तीन संस्करणमा सहभागी नभएको जर्मनीले सन् १९७२ देखि लगातार युरोकप खेलिरहेको छ।

पहिलो सहभागितामै युरोकप च्याम्पियन बनेको जर्मनी (तात्कालीन पश्चिम जर्मनी) सन् १९८० र सन् १९९६ को संस्करणमा च्याम्पियन बनेको थियो। जर्मनीले जारी युुरोकपको प्रिक्वार्टरफाइनलसम्म कुनै पनि गोल खाएको थिएन।

जर्मनीले क्वार्टरफाइनलमा इटालीलाई पेनाल्टी सुटआउटमा ६-५ गोलले हराएर सेमिफाइनलमा स्थान बनाएको हो। युरोकपमा जर्मनीको नवौं पटक सेमिफाइनलमा पुगेको हो।

समूहगत चरणको खेलमा जर्मनीले युक्रेन र उत्तरी आयरल्यान्डलाई समान २-० गोलले पराजित गरेको थियो। पोल्यान्डसँग भने जर्मनीले गोलहित बराबरी खेलेको थियो।

जर्मनीले प्रिक्वार्टरफाइनलमा स्लोभाकियालाई ३-० गोलले पराजित गरेको थियो। ब्राजिलमा विश्वकप जित्दा टोलीमा रहेका दर्जन खेलाडी अहिले पनि जर्मन टोलीमा सहभागी छन्।

जर्मनी बल पोसेसन, पासिङ, रक्षापंक्ति, मिडफिल्ड र स्ट्राइकिङ सबै पक्षमा राम्रो छ। टोलीका मुख्य स्ट्राइकर मारियो गोमजेन ह्यामस्ट्रिङ समस्याका कारण खेल्न नसक्ने भएकाले जर्मनीलाई केही अफ्ठ्यारो भने पर्न सक्छ।

यसैगरी घरेलु मैदानमा जर्मनीसँग सेमिफाइनल भिड्न लागेको फ्रान्सको मनोबल पनि उच्च छ। फ्रान्सलाई यसअघि पनि ठूला प्रतियोगितामा घरेलु मैदान निकै फापेको देखिन्छ।

तेस्रो पटक युरोकप आयोजना गरिरहेको फ्रान्सले सन् १९६० को पहिलो संस्करण आयोजना गरेको थियो। त्यतिबेला फ्रान्स चौथो भएको थियो। फ्रान्सले सन् १९८४ मा दोस्रो पटक युरोकप आयोजना गर्दा उपाधि जितेको थियो। फ्रान्सले सन् १९९८ मा विश्वकप आयोजना गर्दै घरेलु मैदानमा उपाधि जितेको थियो।

यसैगरी सन् २००० को युरोकप उपाधि जितेको फ्रान्स त्यसपछि सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो।

समूहगत चरणका खेलमा औसत प्रदर्शन गरेको फ्रान्सले प्रिक्वार्टरफाइनलपछि सशक्त खेल खेलिरहेको छ। समूहगत चरणको पहिलो खेलमा फ्रान्सले रोमानियालाई २-१ गोलले हराएको थियो।

दोस्रो खेलमा अल्बानियालाई २-० गोलले हराएको फ्रान्स समूहगत चरणको अन्तिम खेलमा भने स्विट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको थियो।

प्रिक्वार्टरफाइनलमा फ्रान्सले आयरल्यान्डलाई २-१ गोलले हराएको थियो। क्वार्टरफाइनल खेलमा फ्रान्सले आइसल्यान्डलाई ५—२ गोलले पाखा लगाएको थियो।

फ्रान्सले सेमिफाइनलमा टोलीका जुझारु खेलाडी पल पोग्वासँग ठूलो आस गरेको छ। उनी अघिल्ला खेलमा भने त्यति जम्न सकेका थिएनन्। तर जारी युरोकपमा फ्रान्सका लागि एन्टोइन ग्रिजम्यान मुख्य हतियार सावित हुँदै आएका छन्।

ग्रिजम्यानले हालसम्म चार गोल गरिसकेका छन्। आयोजकको नाताले छनोट चरण नै नखेली सीधै युरोकपमा सहभागी भएको फ्रान्स घरेलु मैदानमा युरोकपको उपाधि जित्दै गत नोभेम्बरमा भएको पेरिस घटनाले पु¥याएको घाउमा मल्हम लगाउने योजनामा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.