चक्लेट दिएर ६५ बर्षीय वृद्धबाट सात बर्षीया बालिका बलात्कृत
वीरगन्जः पर्सामा शुक्रबार विद्यालयबाट घर फर्कदै गरेकी सात वर्षीया बालिका बलात्कृत भएकी छन् । शुक्रबार दिउँसो शंकरसैरया गाविस ३ हरैयामा कक्षा तीनमा अध्ययनरत सात वर्षीया बालिका बलात्कृत भएकी हुन् ।
स्थानीय अनिल साह गोल्दारको गोठमा बस्दै आएका शंकरसरैया ४ सखुवनीयाका ६५ बर्षीय वृद्ध मेघनाथ महत्तो कम्कडले बालिकालाई चकलेट दिन्छु भन्दै फकाएर बलात्कार गरेका हुन् ।
महत्तोले शारदा प्राथमिक विद्यालयबाट भाइसँगै घर फर्कदै गरेकी बालिकालाई बिहान १० बजे तिर चकलेट दिन्छु भन्दै गोठमा लगेर बलात्कार गरेका हुन् ।
वृद्धले गोठमा लगेर बलत्कार गरेपछि रुदै घर फर्किएकी बालिकाले आमालाई घटना बारेमा बताएपछि गाँउलेले प्रहरी चौकी शंकर सरैयामा खबर गरेका थिए ।
खबर पाएलगत्तै प्रहरी चौकी शंकरसरैया र इलाका प्रहरी कार्यालय सेढवाबाट गएको प्रहरीको टोलीले आरोपित वृद्ध महत्तोलाई पक्राउ गरेको छ ।
बलात्कार पछि गोठ छाडेर भागेका महत्तोलाई सखुवनीया स्थित उनको घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक टलकराज भण्डारीले बताए ।
पीडित बालिका र आरोपित वृद्ध महत्तो दुवैको शुक्रबार साँझ नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको पर्साका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
स्वास्थ्य परीक्षण पछि पीडित बालिकालाई अभिभावको जिम्मा लगाइएको छ भने आरोपित महत्तोलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आरोपित महत्तोले अपराध स्वीकार गरिसकेको प्रहरी श्रोतले जनाएको छ । तर, स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि मात्र घटनाका बारेमा यकिन हुने बोगटीले बताए ।
यसअघि गत असार १० गते पर्साकै जगरनाथपुरमा रहेको हनुमान मन्दिरका ७२ बर्षीय पुजारीले एक १५ बर्षीय बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।