युरोकपको फाइनल क्लाटेनबर्गले खेलाउने

युरोकपको फाइनल क्लाटेनबर्गले खेलाउने

एजेन्सीः युरोपेली फुटबल महासंघ (यूईएफए) ले जारी युरोकप फुटबल प्रतियोगिताको फाइनलका लागि रेफ्रीको चयन गरेको छ ।

पोर्चुगल र आयोजक राष्ट्र फ्रान्सबीच आगामी सोमबार बिहान हुने फाइनल खेल खेलाउने जिम्मेवारी यूईएफएले इङ्ल्यान्डका रेफ्री मार्क क्लाटेनबर्गलाई दिएको छ ।

क्लाटेनबर्ग निकै अनुभवी रेफ्री मानिन्छन् । ४१ वर्षीय क्लाटेनबर्गसँग यसअघि पनि ठूला प्रतियोगिताको फाइनल खेलाएको अनुभव छ ।

क्लाटेनबर्गले युरोपियन च्याम्पियन्स लिगको रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीचको फाइनल खेल पनि खेलाएका थिए ।

उक्त खेलमा रियल म्याड्रिड विजयी भएको थियो । यसैगरी गत मेमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसबीच भएको एफएकपको फाइनल खेल पनि उनले नै खेलाएका थिए । उक्त खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको थियो ।

यसअघि सन् २०१२ को युरोकपको फाइनल खेल पोर्चुगलका रेफ्री पेड्रो प्रोएन्काले खेलाएका थिए । क्लाटेनबर्गले जारी युरोकपमा यसअघि पनि तीनवटा खेल खेलाएका थिए ।

सन् १९६४ पछि युरोकपको फाइनल खेलाउने उनी पहिलो इङ्लिस रेफ्री बन्नेछन् । सन् १९६४ मा इङ्ल्यान्डका रेफ्री अर्थर होल्यान्डले युरोकपको फाइनल खेलाएका थिए । त्यति बेला फाइनलमा स्पेनले तात्कालीन सोभियत संघलाई २—१ ले हराएको थियो ।

युरोकप फुटबलको त्यो केवल दोस्रो संस्करण थियो । सन् १९६० मा भएको युरोकपको पहिलो संस्करणको फाइनल खेल पनि इङ्लिस रेफ्री आर्थर एलिसले खेलाएका थिए । पहिलो संस्करणको फाइनलमा सोभियत संघले युगोस्लाभियालाई हराएको थियो ।

जारी युरोकपको फाइनल क्लाटेनबर्गले खेलाउने अनुमान यसअघि नै गरिएको थियो । तर वेल्स प्रतियोगिताको सेमिफाइनलमा पुगेकाले यी इङ्लिस रेफ्रीको फाइनल खेलाउने सम्भावना अन्योलमा परेको थियो । तर, सेमिफाइनलमा पोर्चुगलले वेल्सलाई हराएकाले क्लाटेनबर्गको फाइनल खेलाउने बाटो पुनः खुलेको थियो ।

जारी युरोकपमा उनले यसअघि स्विट्जरल्यान्ड र पोल्यान्डबीचको प्रिक्वार्टरफाइनल खेल पनि खेलाएका थिए । उक्त खेलमा पेनाल्टी सुटआउटमा पोल्यान्ड विजयी भएको थियो ।

यसैगरी उनले समूहगत चरणमा बेल्यिम र इटाली तथा क्रोएसिया र चेक गणतन्त्रबीचको खेलमा पनि रेफ्रीको भूमिका निर्वाह गरेका थिए । फाइनलमा क्लाटेनबर्गलाई सहायक रेफ्रीका रूपमा सिमोन बेक, ज्याक कोलिन, आन्द्रे मारिनर र एन्थोनी टेलरले सघाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.