ऐतिहासिक सफलताको खोजी

ऐतिहासिक सफलताको खोजी

एजेन्सीः युरोकप फुटबल प्रतियोगिता २०१६ को उपाधिका लागि सोमबार बिहान आयोजक फ्रान्स र पोर्चुगल आमनेसामने हुँदैछन् ।

फ्रान्स तेस्रोपटक युरोकपको च्याम्पियन बन्ने प्रयास गर्दैछ भने पोर्चुगल अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पार्ने योजनामा छ ।

तीनपटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो पोर्चुगललाई पहिलो सिनियर अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि दिलाएर आफ्नो १३ वर्ष लामो खेलाडी जीवनलाई नयाँ उचाइमा पुर्‍याउने योजनामा छन् ।

घरेलु मैदानमा युरोकप जित्ने तेस्रो तथा अन्तिम टोली रहेको फ्रान्स यसपटक पनि इतिहास दोहोर्‍याउने प्रयासमा छ । पोर्चुगललाई हराउन सके फ्रान्स आयोजकका रूपमा युरोकप दुईपटक जित्ने पहिलो टोली बन्नेछ ।

फ्रान्सले अन्तिम उपाधिका रूपमा पनि १६ वर्षअघि यही प्रतियोगिता जितेको थियो । घरेलु मैदानमै आयोजना भएको सन् १९९८ को विश्वकप जितेको फ्रान्सले सन् २००६ को विश्वकपमा पनि फाइनल पुगे पनि उपाधि जित्न भने सकेन ।

पछिल्लो १० वर्षयताकै उत्कृष्ट प्रदर्शन गरिरहेको फ्रान्स पुरानो साख फर्काउने योजनामा छ । त्यसैले पनि फ्रान्सको राष्ट्रिय रंगशाला स्टेड डी फ्रान्समा युरोपका यी दुई सशक्त टोलीबीच हुने प्रतिस्पर्धा लाखौं फुटबलप्रेमीका लागि बहुप्रतीक्षित बनेको छ ।

जारी युरोकपमा फ्रान्स र पोर्चुगल सुरुआतबाटै मध्यम प्रदर्शन गर्दै फाइनलमा पुगेका टोली हुन् । फ्रान्स दुई जित र एक बराबरीको नतिजासहित समूह ‘ए’को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । पोर्चुगलले भने पहिलो चरणका तीनवटै खेलमा संघर्षपूर्ण बराबरी खेलेको थियो ।

अन्तिम खेलमा हंगेरीसँग ३–३ गोलको बराबरी खेलेपछि पोर्चुगल समूहको तेस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट चारभित्र रहँदै प्रिक्वार्टरफाइनल पुगेको हो । यी दुवै टोलीले नकआउट चरणदेखी आफ्नो प्रदर्शनमा व्यापक सुधार ल्याएका छन् ।

फ्रान्स सेमिफाइनलमा विश्व च्याम्पियन जर्मनीलाई २–० ले स्तब्ध तुल्याउँदै फाइनलमा पुगेको हो । पोर्चुगलले पनि सेमिफाइनलमा विश्व वरीयताकै दोस्रो स्थानमा रहेको बेल्जियमलाई पराजित गर्दै अघि बढेको वेल्सलाई २–० कै अन्तरमा पराजित गरेको थियो ।

त्यसैले पनि यी दुई टोलीको पछिल्लो प्रदर्शनले फाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । फाइनल खेलमा नतिजाका लागि भने दुवै टोलीले यसअघिका प्रतिस्पर्धामा झैं आफ्ना स्टार खेलाडीको प्रेरणा खोजेका छन् ।

फ्रान्स युवा स्टार खेलाडी एन्टोइन ग्रिजम्यानको प्रेरणामा फाइनलसम्म आइपुगेको हो । पोर्चुगललाई रोनाल्डोकै बलियो साथ रहँदै आइरहेको छ ।

जारी युरोकपमा ग्रिजम्यानले सर्वाधिक ६ गोल गर्दै दुई गोलको अवसर सिर्जना गर्दा रोनाल्डोले पनि आफ्नो टोलीका लागि तीन गोल गर्दै तीन गोलकै लागि अवसर सिर्जना गरिदिएका छन् । त्यसैले ग्रिजम्यान र रोनाल्डोको प्रदर्शनमै फ्रान्स र पोर्चुगलको भाग्य निर्धारण हुने पक्का छ ।

तर फाइनल खेलअघि फ्रान्सलाई घरेलु मैदान, दर्शक र एकअर्काविरुद्धको यसअघिको प्रतिदर्शनको नतिजाको बलियो साथ हुनेछ ।

आफ्नै मैदानमा उपाधिका लागि उत्रँदा फ्रान्सलाई घरेलु दर्शकको पनि भव्य साथ रहनेछ । साथै यसअघि यी दुई टोलीबीच एकअर्काविरुद्ध भएका प्रतिस्पर्धाको नतिजा पनि फ्रान्सकै पक्षमा छ ।

फ्रान्स र पोर्चुगलबीच यसअघि भएका २४ भिडन्तमध्ये फ्रान्स १८ खेलमा विजयी भएको छ भने पोर्चुगल मात्र पाँच खेलमा विजयी बनेको छ । एक खेल बराबरी भएको छ । यी खेलमा फ्रान्सले ४९ गोल गर्दा पोर्चुगलले मात्र २८ गोल फर्काएको छ । अझ महत्वपूर्ण तथ्य त फ्रान्सले पोर्चुगलविरुद्धको पछिल्लो १० खेलमा आफूलाई अपराजित राखेको छ ।

यद्यपि १२ वर्षपछि युरोकप फुटबलको फाइनलमा प्रतिस्पर्धा गर्न लागेको पोर्चुगलले अन्तर्राष्ट्रिय प्रतियोगितामा पछिल्लो समय आफूले बेहोर्दै आइरहेको असफलतालाई प्रेरणामा बदल्न पनि सक्नेछ ।

सन् २००४ मा आफ्नै देशमा भएको युरोकपको फाइनलमा पोर्चुगल ग्रिससँग अप्रत्याशित रूपमा पराजित हुन पुगेको थियो । यसपटक कप्तान रोनाल्डोलाई अन्तर्राष्ट्रिय उपाधि जित्ने सम्भवत अन्तिम अवसर रहेको छ।

त्यसैले उनीसामु फ्रान्सविरुद्धको पछिल्लो १० खेलको अपराजित यात्राको ‘जिङ्स’ तोड्ने चुनौतीमात्रै हैन, आफ्नो नेतृत्वमा देशलाई पहिलो उपाधि दिलाउने अवसरसमेत रहेको छ । फाइनल खेलअघि फ्रान्सका सबै खेलाडी उपलब्ध छन् ।

पोर्चुगललाई भने आफ्ना महत्वपूर्ण रक्षक पेपेको चोटले अझै समस्या दिइरहेको छ । क्वार्टरफाइनल खेलकै क्रममा चोटग्रस्त बनेका उनी अभ्यासमा त फर्किएका छन्, तर उनी अझै पूर्ण रूपमा फिट भइसकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.