ओठमा हाँसो, मनमा पीर

ओठमा हाँसो, मनमा पीर

काँकडा (मकवानपुर): हसिँलो मुहारकी धनी असारीमाया चेपाङ झट्ट हेर्दा कुनै चलचित्रकी नायिकाभन्दा कम राम्री छैनन् । काँकडा–८ दाराङकी असारीमायाको ओठमा जति हाँसो देखिन्छ, उत्तिकै उनको मनमा पीर गाँठो परेर बसेको छ ।

२५ वर्षमा पाइला टेक्दै गर्दा उनी तीन सन्तानकी आमा भइसकेकी थिइन् । डेढ वर्षअघि श्रीमान् बितेपछि कोखमा रहेको छोरा आइतले बाबुको मुख हेर्न पाएनन् । उनका २१ वर्षीय श्रीमान् बुद्धरामको २०७१ भदौमा उपचार गर्न नसकेर मुत्यु भएको थियो ।

पेट सुन्निने रोगका कारण एक वर्ष थल्लिएका बुद्धरामलाई भरतपुर अस्पताल पुर्‌याइए पनि आर्थिक अभावका कारण उपचार गर्न नसक्दा मृत्यु भएको हो । मूल घरबाट छुट्टिएर बस्न थालेसँगै बिरामी परेका श्रीमान्को मृत्यु भएपछि उनका दुःखका दिन सुरु भए । ‘ श्रीमान्को उपचार गर्न लिएको २० हजार रुपैयाँ ऋण, भोकाइरहेका दुई बच्चा र आफैं गर्भवती', उनले बिगत् सम्झँदै भनिन्, ‘केही महिना त अचेत जस्तै भएँ, केही सोँच्नै सकिनँ ।' ‘जीवनमा यस्तो बज्रपात पर्ला भनेर सोचेकी पनि थिइन तर अहिले भोग्दैछु', उनले भनिन् ।

कान्छो छोरा जन्मिँदा उनी केही समय माइतीमै बसिन् । ‘तर बिहे भएकी छोरी सधैँ माइती बस्ने कुरा आएन', असारीमायाले भनिन्, ‘छोरो पाँच महिनाको भएपछि गाउँमै फर्केर ज्याला मजदुरी गर्न थालें, ज्याला मजदुरी गरेरै बालबच्चा हुर्काइरहेकी छु ।'

 

श्रीमान् बितेपछि खरले छाएको घरमा उनले नयाँ छानो छाउन सकेकी छैनन् । वर्षा सुरु भएसँगै उनको झुप्रो घरमा पानी चुहिने गरेको छ । ‘पानी परेपछि बच्चालाई ओभानो ठाउँमा राख्न पनि समस्या छ', उनले भनिन् । बुद्धरामको खरको छानो हटाएर जस्ताले छाउने योजना थियो । ‘तर छानोको खर पनि फेर्न नसक्दा पानी चुहिने घरमा नै वर्षा कटाइरहेकी छु', उनले दुखेसो पोखिन् ।

श्रीमान् बितेसँगै एक हल खोरिया बारीको उब्जनी पनि उनले खान पाएकी छैनन् । श्रीमान्को उपचार गर्दा लिएको २० हजार रुपैयाँ ऋणको ब्याजबापत साहुले बर्सनि उत्पादन भएको कोदो र मकै लैजाने गरेको छ । ‘आफूले राख्न पाए ३/४ महिना खान पुग्थ्यो', उनले भनिन्, ‘साहुले उत्पादन भएको सबै अन्न लिएर जान्छ ।'

साहुको ऋणसँगै यस वर्षदेखि उनको काँधमा दुईवटा छोरा पढाउने जिम्मेवारी पनि थपिएको छ । जेठा र माहिलो छोरो छिमेकी गाउँ धिराङस्थित धिराङ निमाविमा कक्षा एकमा भर्ना भएर पढ्न जान थालेका छन् ।

ज्याला मजदुरी गरेरै भए पनि छोरालाई राम्ररी पढाउने उनको धोको छ । असारीमायाका ससुरा दीपबहादुरले भने, ‘पैसा नभएर छोरा बचाउन सकिनँ, साहुको ऋणसम्म तिरिदिन पाए बुहारीलाई नाति पाल्न सजिलो हुने थियो ।' दुई छोराका बाबु दीपबहादुर कान्छा छोरासँग बस्दै आएका छन् । जेठो छोरालाई औषधि उपचार गर्न नसकेर गुमाउनु पर्दा उनलाई गरिबीले सधैँ पिरोलिरहन्छ । ‘दुई हल खोरिया बारी छ, त्यसको पनि लालपुर्जा छैन', उनले भने, ‘बारीको उब्जनीले परिवार पाल्ने दिन कहिल्यै आएन ।'

एक महिनाअघि गाउँमा आएको सरकारी घुम्ती शिविरमा असारीमायाले नागरिकता बनाएकी छन् । १३ वर्षको कलिलो उमेरमा बिहे गरेकी उनी मनभरि पीर भए पनि हाँसेर हिँड्छिन् । ‘अरूलाई दुःख देखाएर के गर्नु, भाग्यमा लेखेको भोग्नैपर्ने रहेछ', उनले भनिन्, ‘छोराहरू हेरेर पीडा भुलाउँछु, अब त पीडा लुकाएर हाँस्ने बानी परिसक्यो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.