करोडौंको सरकारी जग्गा व्यक्तिले हडपेपछि...

करोडौंको सरकारी जग्गा व्यक्तिले हडपेपछि...

अमरदह (मोरङ): मोरङको अमरदहमा करिब २ करोड रुपैयाँ पर्ने सरकारी जग्गा व्यक्तिले हड्प्दासमेत प्रशासन रमिते बनेको छ ।

भोगचलनको बहानामा सरकारी जग्गा व्यक्तिले हडपेर पक्की संरचना निर्माण गर्दासमेत त्यसलाई रोक्न पहल हुनसकेको छैन । सरकारी सम्पत्तिमा अमरदह ३ का शिवाबढाई शर्माले जबर्जस्ती पक्की घर निर्माण गरेका छन् । उनले सरकारी जमिनमै पोखरीसमेत खनाएका छन् । टिनले घेराबारा गरेर सार्वजनिक सम्पत्ति रोकेर राखेका छन् । जग्गा अतिक्रमण भएपछि स्थानीय सर्वदलीय संयन्त्रले निजी घर बनाउने शर्मालाई काम रोक्न पटकपटक ताकेता गर्दा पनि उनले घर बनाउन छाडेका छैनन् ।

सीमान्तकृत ऋषिदेव जातिको दिनाभद्री मन्दिर रहेको ७ कट्ठा जमिन घेरेर शर्माले पक्की संरचना बनाएका हुन् । उनले एउटा पक्की घर बनाएर जस्ताको पाताले छाइसकेका छन् । पिलरसहितको अर्को पक्की र काठको घर धमाधम बनाउँदैछन् । सरकारी जमिनभरि निर्माण सामग्री र काठ थुपारिएको छ । जमिन जोतेर हिलो बनाई रोपाइँ गर्न ठिक्क पारिएको छ ।

अमरदह गाविस वडा नम्बर ३ को १ घ १९५ कित्तामा पर्ने ७ कट्ठा महल खाली जमिन अर्थात् सरकारी स्वामित्वको हो । मालपोत कार्यालय बेलबारीका अनुसार यो कित्ताको जमिन मोठ श्रेस्ता २८/१/१ बाट पनि सरकारको स्वामित्वमा रहेको छ । यसको जानकारी मालपोतले गाविस कार्यालय अमरदहलाई पनि गराइसकेको छ ।

 

संरचना निर्माण रोक्न जिल्ला तहमा माग गरिएको तर खासै ध्यान नदिइएको बताउँदै दिनाभद्री मन्दिरका अध्यक्ष तथा ऋषिदेव समुदायका अगुवा हरिलाल ऋषिदेवले भने, ‘जिल्ला प्रशासन कार्यालयमा एक साताअघि नै गाउँलेले हस्ताक्षर गरेर लिखित निवेदन दियौं ।

उताबाट काम रोक्ने बेहोराको चिठी आएको भनियो तर घर बनेको बन्यै छ । यहाँको प्रहरीले रोक्न चासो दिएको छैन । बरु प्रहरीले नै चाँडोचाँडो निर्माण सक्न सहयोग गरिरहेको छ ।' पूर्वगाविस अध्यक्ष महेश्वरप्रसाद राजवंशीले पनि प्रशासनले कडा कदम चाल्न नसक्दा हेपेर निर्माण जारी राखिएको बताए ।

२० औं वर्षदेखि आफूले भोगचलन गरेको दाबी गर्दै शर्माले पक्की घर बनाएपछि स्थानीयले असार तेस्रो साता नै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका थिए । संरचना निर्माण रोक्न आग्रह गरेको तर इलाका प्रहरी कार्यालयका सई कुमारराज पौडेल र कांग्रेसका क्षेत्रीय सभापति गणेश खड्काले शर्मालाई सघाएको स्थानीय युवक प्रताप तामाङले बताए ।

उनले भने, ‘घर निर्माण हुँदाहुँदै लिखित रूपमा प्रशासन र प्रहरीलाई जानकारी गराएका थियौं तर यसलाई रोक्न गरिएका प्रयास विफल भएका छन् । प्रहरीले नै चाँडो घर बनाऊ भन्दै शर्मालाई संरक्षण गरिहको छ ।' तामाङले सरकारी निकायले समस्या नबुझेजस्तो गरेकाले करोडौं मूल्य पर्ने सम्पत्ति व्यक्तिले दुरुपयोग गरेको बताए ।

इलाका प्रहरी कार्यालय अमरदहका सई कुमारराज पौडेलले माथिल्लो निकायबाट आएको आदेश मान्न आफू तयार रहेको तर गाउँलेले आरोप लगाएजस्तो शर्माबाट लेनदेन नगरेको बताए । ‘सम्मानित सरकारी अड्डा वा न्यायालयबाट आदेश आए संरचनासमेत भत्काउन तयार छु', पौडेलले भने, ‘मैले इलाका प्रशासन कार्यालय रंगेलीको निर्देशनअनुसार पटकपटक निर्माण रोक्न शर्मालाई आग्रह गरिसकेको छु ।' शर्माकी पत्नी बिन्दुदेवीले आफ्ना ससुराको पालादेखि नै जग्गा भोगचलन गर्दै आएको दाबी गर्दै भनिन्, ‘साँधमा जोडिएको अढाइ कट्ठा जमिन पनि हाम्रै हो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.