साझा घर
चरीकोटमा केही दुःखी चरीहरूको भेला थियो। भेलामा ठाउँठाउँबाट भँगेरी, गौंथली, जुरेली र परेवी चरी आएका थिए। तिनीहरू आआफ्ना समस्याका बारेमा छलफल गर्दै थिए र आआफ्ना बिलौना पनि सुनाउँदै थिए।
छलफलको सुरुमै भँगेरीले बिलौना गरी, ‘सँगी हो, हाम्रो त उठिबासै भो। मान्छेका घरका बाहिरी भित्तामा बनाइएका ससाना प्वालहरूमा हामी सुखले बस्दै आएका थियौं। अचेल भने मानिसले घर बनाउँदा पहिलाजस्तो घरको बाहिरी भित्तामा त्यस्ता प्वालहरू बनाउनै छाडे।
मानिसले पुराना घर भत्काएर ढलान र प्लास्टर गरेर घर बनाउन थालेपछि हाम्रो त उठिबासै भयो। बस्ने सुरक्षित ठाउँ पनि नपाएर खुला ठाउँमा बस्नुपर्ने भयो। यसरी खुला ठाउँमा बस्दा सर्प, बिरालो र कागले हाम्रा बचेरालाई खाइदिएर साह्रै हैरान पारे। अब त हामी सुकुमवासीमात्रै होइन, सन्तानविहीन पनि हुनुपर्ने स्थिति आयो।' यसो भन्दै बिचरी भँगेरी सुँक्कसुँक्क गर्दै रुन थाली।
रुँदै गरेकी भँगेरीलाई सान्त्वना दिँदै गौंथलीले पनि आफ्नो बिलौना पोख्दै भनी, ‘भँगेरी बहिनीको जस्तै हाम्रो पनि उस्तै हालत छ। पहिलापहिला मानिसले काठाका थाम, निदाल र दलिन हालेर घर बनाउँथे। अचेल भने ढलान गरेर एक ढिक्का पारेर घर बनाउँछन्।
हामीले मान्छेका घरभित्र आफ्ना लागि गुँड बनाउने कतै ठाउँ पाएनौं। हाम्रो त अरूको जस्तो रूखमा बस्ने बानी पनि छैन। मान्छेका चिप्लो पारेर प्लास्टर गरिएका घरका भित्तामा जसोतसो गुँड बनाउन खोज्दा कुचोले हानेर लखेट्न थाले हामीलाई। हाम्रो पनि उठिबास भयो। सहरबाट बसाइँ नै सर्नुपर्ने अवस्था आयो।' यसो भन्दै गौंथलीले पनि आफ्नो आँसु पुछी।
आफ्नो सुन्दर जुरो हल्लाउँदै भँगेरी र गौंथलीको कुरा सुनिरहेकी जुरेलीले पनि आफ्नो बह नपोखी रहन सकिन। जुरेलीले एक छिनसम्म टिंकुलीट्याँक.. टिंकुलीट्याँक गर्दै बनका रूखरूखमा डुल्दै र रमाउँदै हिँडेको विगतका दिनहरूलाई सम्झी।
अनि अलिकति उदास भएर भनी, ‘सँगीहरू, आफू त रूखका हाँगाहाँगामा हाम्फाल्दै रमाउँदै हिँड्नुपर्ने जाति परियो। तर अचेलका मान्छेहरूले घर वरिपरिका सबै रूखहरू सर्लक्कै काटेर घरमात्रै होइन बस्तीलाई नै उजाड बनाए। रूखको हाँगामा बसेर आनन्दले चिरबिर गर्न पनि पाइएन।
सधैं मान्छेका घरका उजाड छतमा घामले सेकिएर बस्नुपर्दा साह्रै नियास्रो लाग्छ। अचेल यो सहरमा न चिसो हावा बहन्छ, न झुरुप्प पातले ढाकिएका रूखका हाँगामा बसेर शीतल अनुभव गर्न पाइन्छ। यो सहरको बसाइ त मरुभूमिको बसाइजस्तै लाग्न थाल्यो। अब त यो सहर छोडेर टाढा गाउँतिरै बसाइ सर्नुपर्ला जस्तो छ। हाम्रा धेरै साथीहरू त उतै बसाइ सरिनै सके।'
भँगेरी, गौंथली र जुरेलीको कुरा सुनिसकेपछि परेवी पनि आफ्नो दुःखेसो पोख्न अघि सरी। उसले दुई चोटि घुर्रघुर्र गरेर घाँटी सफा गर्दै भनी, ‘हामी त मन्दिरको छत र टुँडालहरूमा बस्छौं। बस्नका लागि समस्या छैन। तर खानेकुराको अभावले भने हामीलाई पनि सताउन थालेको छ।
पहिलापहिला मान्छेहरूले प्रशस्त अन्न उब्जाउँथे। अन्न भित्र्याउँदा अलिअलि अन्न खेतबारीमा झरेका अथवा पोखिएका हुन्थे। हामी खेतबारीमै गएर पेटभरि अन्न खान्थ्यौं र बचेराहरूका लागि पनि ल्याइदिन्थ्यौं।
मन्दिरमा पनि भक्तजनहरूले अन्न छरिदिन्थे र हामी त्यही अन्न खाएर पेट भर्थ्यौ। तर अचेल मानिसले अन्न उब्जाउनै छाडे। अन्न उब्जाउने खेतबारीमा ठूल्ठूला घरहरू बन्न थाले। सबैले विदेशबाट आयात गरिएको अन्न किनेर खान थाले।
पहिलाजस्तो मन्दिर आउने भक्तजनहरूले पनि मन्दिर परिसरमा अन्न छरेर हामीलाई खुवाउनै छाडे। अब त हामी पनि भोकै मर्ने स्थिति आयो। धन्न कोहीकोही दयालु मानिसले आफ्ना कौसीमा केही बासी भात र अन्न छरिदिने गरेका छन् र हामीले खान पाएका छौं। जय होस् ती दयालु मानिसको।'
परेवीको कुरा टुंगिनासाथ भँगेरीले आँसु पुछ्दै भनी, ‘हो त, हामी पनि खेतबारीमा गएर पेटभरि अन्न खाएर भोक मेट्थ्यौं र बचेराहरूलाई पनि ल्याइदिन्थ्यौं। अचेल त खेतबारी नै बाँकी छैन। जताततै घरैघरमात्रै बनेका छन्।
अलिअलि भएका खेतबारी पनि बाँझै छन्। अन्न फलाउने खेतबारीलाई व्यापारीहरूले प्लटिङ गरेर त्यसै बाँझो छोडेका छन्। चारा खोज्न पनि अब सहरदेखि निकै टाढा गाउँसम्म जानुपर्ने भयो। यो सहर त हाम्रा लागि रहेन अब।' यसो भन्दै भँगेरीले लामो सुस्केरा हाली।
भँगेरी र परेवीको कुरा सुनिरहेकी गौंथलीले आफ्नो थप दुःख बिसाउँदै भनी, ‘खान त जसोतसो खोजेर खाऊँला, तर हाम्रो त बासै उठ्यो। बस्नका लागि एउटा गुँड पनि बनाउन नसक्ने भयौं।
एक त गुँड बनाउने ठाउँ नै बाँकी रहेन, अर्को गुँड बनाउनका लागि माटो लिने ठाउँ नै बाँकी राखेनन् मानिसले। सबैतिर सिनित्तै ढलान गरिदिएर मानिसले पहिलाको सुन्दर सहरलाई कंक्रिटको जंगल बनाए। अब त हाम्रा लागि यहाँ न बस्ने ठाउँ रहने भो, न त खानेकुरा नै पाइने भो।' यसो भन्दै गौंथलीले फेरि आफ्नो आँखामा रसाएको आँसु पुछी।
दुःखी चरीहरूको यस्तो बिलौना भगवान्ले माथि आकाशबाट सुनिरहनुभएको थियो। भगवान्लाई चरीहरूको बिलौना सुनेर निकै दुःख लाग्यो र चरीहरूप्रति दया पनि लाग्यो। त्यसपछि भगवान्ले ती चरीहरूको समस्या समाधान गर्ने उपाय सोच्दै आकाशवाणी पठाउनुभयो, ‘हे दुःखी चरीहरू, म सबैको भगवान हुँ।
म मन्दिरमा बस्छु। भगवान् सबैको साझा हो भने मन्दिर पनि सबैको साझा घर हो। त्यसैले तिमीहरू मन्दिरमा आएर बस। यहाँ तिमीहरूलाई खान र बस्नको कुनै समस्या हुने छैन।'
चरीहरूले यो आकाशवाणी सुने। त्यसपछि भँगेरी, गौंथली र परेवीले भगवान्को मन्दिरमै गएर बस्ने निधो गरे। तर जुरेलीलाई चाहिँ मन्दिरमा गएर बस्ने इच्छा लागेन। वनका रूखरूखमा डुल्दै हिँड्ने बानी परेको जुरेलीलाई मन्दिरमा बस्नै मन लागेन।
बरु उसले सहरभन्दा टाढाको गाउँमै गएर बस्ने निधो गरेर भनी, ‘सँगीहरू, आफ्नो त रूखहरूमा डुल्दै हिँड्ने बानी छ। यो मन्दिरको एकै ठाउँमा कसरी कुँजिएर बस्नु ? बरु म त परिवारसहित सहरभन्दा टाढा गाउँतिरै बसाइँ सर्छु। लौ त सँगी हो, अब म जान्छु।' यसो भनेर जुरेली भुर्र उडेर गई।
'यसो कहिलेकाहीँ सहरतिर पनि आउँदै गर्नू है।' उड्दै गरेको जुरेलीलाई हेर्दै भँगेरी, गौंथली र परेवीले एकै स्वरमा भने। त्यसपछि उनीहरू आआफ्नो परिवारसहित मन्दिरमा बस्न गए। उनीहरूले भगवान्को मन्दिरलाई साझा घर मानेर बसे। एकै ठाउँमा मिलेर बस्दा उनीहरूले धेरै सुख र आनन्दको अनुभूति गरे।