दाहालको दौडधूपमा जुटेन समर्थन

दाहालको दौडधूपमा जुटेन समर्थन

काठमाडौं: केपी ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिई आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतीय सरकारको सम्भावना खोजिरहेका माओवादी केन्द्रका नेता पुष्पकमल दाहालले सकारात्मक संकेत पाउन सकेका छैनन् । दाहालले सोमबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई अलगअलग भेटी आफ्नो प्रस्ताव राखे पनि दुवैबाट सकारात्मक प्रतिक्रिया नआएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटमा केन्द्रका अध्यक्ष दाहालले आफूहरूबीच भएको भद्र सहमतिअनुसार पद त्याग गर्न अनुरोध गरेका थिए । दाहालले राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधान कार्यान्वयन, शान्तिप्रक्रियालाई पूर्णता, भूकम्पपीडितको राहत र उद्धारका लागि वर्तमान सरकारले पद त्याग गरी सहज वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

गत वैशाख २३ गते आफूहरूबीच भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमतिअनुसार बजेट पारित भएपछि सत्ता हस्तान्तरणका लागि भएको भद्र सहमतिको पालना हुनुपर्ने निर्णय माओवादी केन्द्रको सोमबार बिहान बसेको बैठकले गरेको जानकारी पनि दाहालले ओलीलाई गराएका थिए । ओलीले वर्तमान सरकारले नौबुँदे सहमतिअनुसार काम अघि बढाइरहेको अवस्थामा केही समय सरकारको नेतृत्वका लागि कुर्न आग्रह गरेका थिए ।

ओलीले केही समय सत्ता लम्ब्याउने संकेत दिएपछि दाहालले भद्र सहमतिमा प्रधानमन्त्री प्रतिबद्ध नरहेकाले आगामी दिनमा सँगै हिँड्न गाह्रो हुने चेतावनी दिएका थिए । माओवादी केन्द्रका सचिव देवप्रसाद गुरुङले प्रधानमन्त्रीले भद्र सहमतिको पालना गर्नुपर्ने आफूहरूको अडान कायमै रहेको बताए । उनले यसै विषयमा ओली र दाहालबीच वार्ता भएको जानकारी पनि दिए ।

स्रोतका अनुसार साँझ ५ बजेदेखि अढाइ घन्टासम्म भएको गोप्य वार्तामा प्रधानमन्त्री ओलीले दाहालसँग भनेका थिए, ‘प्रचण्डजी, अहिले सरकार परिवर्तनको कुरा नगर्नुस् । स्थानीय निकायको निर्वाचनसम्म मेरो नेतृत्वमा जाऊँ । त्यसपछि तपाईंको पालो छँदैछ । वर्तमान गठबन्धनको नेतृत्व तपाईंले नै गर्ने हो ।' दाहालले आफू प्रधानमन्त्रीका लागि भन्दा पनि संविधान कार्यान्वयन, शान्तिसम्झौताअन्तर्गत द्वन्द्वकालीन मुद्दाको निरूपण र भूकम्पपीडितलाई राहतमा केन्द्रित रहेको बताएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले ओली र दाहालबीच अढाइ घन्टाको वार्ता सकारात्मक भएको जानकारी दिए । ओलीले बारम्बार सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रचार गर्दा धेरै काम प्रभावित हुनसक्ने भन्दै त्यसो नगर्न दाहाललाई आग्रह गरेका थिए । दाहालले आफू पनि पार्टीभित्र यस विषयमा दबाबमा रहेको भन्दै अप्ठ्यारो बुझिदिन आग्रह गरेका थिए ।

 

केन्द्रका अध्यक्ष दाहाल, महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन, नेता जनार्दन शर्मा, प्रमुख सचेतक हितराज पाण्डे तथा कांग्रेस सांसद अमरेशकुमार सिंहबीच सोमबार अपराह्न सभामुख ओनसरी घर्तीको कार्यकक्षमा करिब दुई घन्टा गोप्य वार्ता भएको थियो । वार्तामा सहभागी एक नेताले अन्नपूर्णसँग भने, ‘हामी यो महिना भन्नाले आगामी शुक्रबारसम्म ओलीलाई कुर्छौं । त्यो समयसम्म भद्र सहमतिको कार्यान्वयन नभएमा सरकारबाट आफ्ना मन्त्री फिर्ता गर्छौं ।'

माओवादी केन्द्रका मन्त्री फिर्ता हुने

माओवादी केन्द्रले प्रमुख दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने विषयलाई प्राथमिकता दिँदै प्रधानमन्त्री ओलीले तीनबुँदे भद्र सहमति पालना नगरेमा आफ्ना मन्त्री फिर्ता गर्ने निष्कर्ष निकालेको छ ।

केन्द्रका अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले सहमतिको सरकार नै मुलुकको पहिलो आवश्यकता भएको निष्कर्ष निकालेको हो । एमालेसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमतिका विषयमा एमालेसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार विगतमा भएका सहमति एवं समझदारीलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने र पूर्वसहमतिलाई अक्षरशः कार्यान्वयन गराउने विषयमा एमालेसँग छलफल गर्ने निर्णय भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.