‘करिश्मासँग बाजी पर्थ्यो'

‘करिश्मासँग बाजी पर्थ्यो'

सेलिब्रेटी सम्झना
रितु राना, हेयर ड्रेसरम १४ वर्षकै उमेरमा हेयर ड्रेसरको तालिम लिनको लागि कोलकाता गएको थिएँ। फर्केर नेपाल आएपछि यहाँ एउटा पत्रिकामा चलचित्रमा लागि कलाकार चाहियो भन्ने विज्ञापन देखें।

सुभास गजुरेलले निर्देशन गरेका उक्त चलचित्रका लागि कलाकारको अन्र्तवार्ता लिने काम एनबी महर्जनले गरेका थिए। त्यतिबेला म र सारंगा श्रेष्ठ एकैपटक अन्तरवार्ताका लागि गएका थियौं।

हामी दुवैले मुख्य भूमिका नपाए पनि साथीको भूमिकामा अभिनय गरेका थियौं। चलचित्र ‘चिनो' देखि मैले हेयर ड्रेसरको काम शुरु गरेको हुँ। त्यतिबेला चलचित्रको लागि हेयर ड्रेसरको काम गर्ने उर्मिला दिदीले नभ्याउने भएपछि मैले गरेकी हुँ।

अहिले त नायिकाहरुले आफै पनि मेक अप र डेयर ड्रेसिङ गरेर आउँछन्। तर त्यतिबेला हेयर ड्रेसर र मेकअप आर्टिष्टको निकै महत्व हुन्थ्यो। हरेक चलचित्रमा अनिवार्य रुपमा हेयर ड्रेसरलाई राख्ने गरिन्थ्यो। त्यो बेलामा चलचित्रमा गरेका हेयर स्टायलहरु नै अहिले दोहोरिएर आउन थालेका छन्।

त्यतिबेला धेरै बफ उठाउने चलन थियो, जुन हिजोआज पनि धेरैले गरेको देखिन्छ।त्यतिबेला अहिलेको जस्तो आधुनिक प्रविधी थिएन। कपाललाई कर्ली बनाउनु पर्‍यो भने पनि रडसम्म पनि थिएन।

त्यसैले हामीले स्पोन्जवाला रोलर लगाएर ड्राइ मेसिनले तताउँथ्यौं। निर्र्देशक स्वयंले नायिकालाई सुन्दर बनाउनु पर्छ है भन्नुहुन्थ्यो र उनीहरुलाई सिंगार्न धेरै समय दिनुहुन्थ्यो।

कहिलेकाहीं अलि बढी नै समय लाग्ने खालको स्टायल छ भने मेकअप आर्टिष्टले मेकअप गरुन्जेल म पछाडिबाट कपाललाई सिंगार्ने काम गर्थे। करिश्मा, गौरी, मेलिना, मिथिलालगायतका त्यतिबेलाका चलेका नायिकाहरु सबैले मेरो हेयर स्टायललाई मन पराउँथे। बसु दिदीले त अहिलेसम्म पनि ‘ए मेरो काली रहेछ, अब म ढुक्क भएँ है' भन्नुहुन्छ।

चलचित्रमा नायिकाको भूमिका कस्तो छ भन्ने आधारमा नै उनीहरुको हेयर स्टायल बनाइन्छ। तर कहिलेकाहीं नृत्य निर्देशक, मेकअप आर्टिष्टलगायतले पनि यस्तो स्टायल बनाउने भनेर सुझाब दिनुहुन्छ।

कहिले भने म आफै पनि यस्तो भए कस्तो होला भनेर निर्देशकलाई नै सुझाब दिने गर्छु। चलचित्र ‘चिनो' पछि पनि मैले धेरै चलचित्रमा कृष्टि जीसँग काम गरें। उहाँले पनि मैले गरेको हेयर स्टायलमा कहिले पनि कुनै पनि किसीमको अब्जेक्सन देखाउनुभएन।

अन्य नायिकाहरुले पनि मेरो कामलाई धेरै मन पराउनुभयो। अझै विशेषगरी करिश्मासँग त मेरो बाजी नै पथ्र्यो। उहाँले मलाई माया गरेर बम भन्नुहुन्थ्यो। कुनै पनि चलचित्रमा मेरो हेयर ड्रेसिङलाई दर्शकले मन पराउँछन् की पराउँदैनन् भनेर हामी दुइबीच बाजी नै चल्थ्यो।

कतिपयले त पहिले सिनेमामा बनाएजस्तै हेयर स्टायल बनाइदिनु न भनेर अहिले आउने गरेका समेत छन्। मेलिना मानन्धरले नारायण पुरीको एक चलचित्रमा मैले बनाएजस्तै हेयर डिजाइन गरिदिनु न भनेर मलाई भन्दैथिइन्।

मैले काम गर्दा अरुको कपाल भनेर कहिले पनि सोचिन। कपाल नउडोस् भनेर हेयर स्प्रेहरु अत्याधिक मात्रामा प्रयोग गरिएको छ भने पनि बेलुकी सँगै बसेको बेलामा म उहाँहरुको कपाल मसाज गरिदिने गर्थें। त्यसैगरी तपाईंहरु सुटिङ सकाएर घर गएपछि पनि तेल लगाउनुस है भनेर भन्थें।
प्रस्तुति: रामकला खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.