गन्तव्यमा रोनाल्डो

गन्तव्यमा रोनाल्डो

लियोनल मेसीले गत जुन २६ मा विश्वलाई आश्चर्यचकित बनाए, अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गर्दै। पाँचपटक फिफा वर्ष खेलाडी बनेका यी अर्जेन्टिनी फुटबलरले यति चाँडै राष्ट्रिय जर्सी लगाउन छाड्लान् भन्ने कमै मात्रले सोचेका थिए।

उनले सन्न्यास घोषणा गर्नु केही घन्टा अघिसम्म विश्व फुटबल मेसीको शिखर उचाइ कुर्दै थियो तर, दक्षिण अमेरिकी महादेशस्तरीय प्रतियोगिता 'कोपा अमेरिका' खेल्न थालेको एक सय वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा अर्जेन्टिना चिलीसँग पराजित भयो।

तीन वर्षमा लगातार तीन ठूला प्रतियोगिता दुई कोपा अमेरिका र एक विश्वकपको फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि जित्न सकेन। टोलीका कप्तानसमेत रहेका मेसी ११ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय खेल जीवनमा फेरि उपाधिविहीन नै रहे। उनी मैदानमै रोए।

यसरी उनले मैदानमै दुःखको आँसु झारेको विश्वले सम्भवतः पहिलोपटक देख्यो। 'मेरो भाग्यमा राष्ट्रिय टोलीका लागि उपाधि जित्न लेखेको रहेनछ। चारपटक फाइनल पुग्दा पनि उपाधि जित्न सकिएन', सन्न्यास घोषणा गर्दा उनले भनेका थिए।

त्यसको करिब १५ दिनपछि गत जुलाई १० मा फेरि क्रिस्टियानो रोनाल्डो पनि मैदानमै डाँको छाडेर रोए, विश्वले देख्यो। युरोकपको फाइनलमा फ्रान्सविरुद्ध सुरुआतमै घाइते भएर मैदानमै ढलेपछि रोनाल्डो निकै भावुक बने।  पटकपटक उपचार गरेर खेलमा फर्कने प्रयास गरे पनि अन्ततः उनले २५औं मिनेटमा बाँकी समय खेल्न नसक्ने निर्णय गर्नु पर्यो। टोलीको कप्तानसमेत रहेका ३१ वर्र्षीय रोनाल्डो आर्म ब्यान्ड नानीलाई लगाइरहँदा भक्कानिए।

तीनपटकका फिफा वर्ष खेलाडी रोनाल्डोलाई थाहा थियो-आफ्नो १३ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय खेल जीवनमा राष्ट्रिय टोलीका लागि उपाधि जित्ने उनको निम्ति यो सम्भवतः अन्तिम अवसर हो। त्यसयता मैदानबाहिर बसेर जति गर्न सक्थे, उनले सबै गरे।

जितको भोक मैदानभित्रका खेलाडीलाई भन्दा बाहिर बसेर बेचैन देखिएका रोनाल्डोलाई अपार रहेको प्रस्ट देखिन्थ्यो। उनी लगातार आफ्ना सहकर्मीलाई सुझाव दिइरहेका थिए, यसो गर उसो गर भन्दै। अन्ततः पोर्चुगलले युरोकप जित्यो, पहिलो अन्तर्राष्ट्रिय उपाधिका रूपमा।

रोनाल्डो पोर्चुगलले जितेलगत्तै निकै भावुक बने। यसपटक उनी चोटग्रस्त खुट्टा घिसार्दै उफ्रिए, दौडिए, रमाए। फेरि भावविह्वल बने, तर यसपटक खुसीको आँसु झारे। सहकर्मी सबैलाई धन्यवाद दिए।

समकालीन दुई महान् फुटबलर मेसी र रोनाल्डोले १५ दिनभित्र अनुभव गरेका यी दुई फरक परिस्थिति हुन्। राष्ट्रिय टोलीका लागि उपाधि जित्ने रोनाल्डो र मेसी दुवैको पुरानो सपना हो।

२० वर्षकै उमेरमा फिफा वर्षको अवार्ड जितेका ब्राजिलका रोनाल्डोले यो अवार्ड तीनपटक हात पारे र ब्राजिलका लागि विश्वकप पनि जिते।

दुवैजना एउटै लिगमा खेल्छन्, विश्वका दुई ठूला क्लबबाट। विश्वका ठूला व्यक्तिगत अवार्डमा पनि आठ वर्षयता यी दुई खेलाडी नै मुख्य प्रतिद्वन्द्वी हुन्। दुवैजनालाई सर्वकालीन महान् खेलाडीको प्रत्यासी मानिन्छ।

यसमा मेसी केही वर्षदेखि नै बहसमा आइसकेका खेलाडी हुन्। रोनाल्डोको चर्चा भए पनि मेसीजत्तिको बेजोड छैन। त्यसो त दुवैजना सर्वकालीन महान् खेलाडी होइनन् भन्ने जमात पनि ठूलो थियो।

उनीहरूको आरोप थियो-रोनाल्डो र मेसीले राष्ट्रिय टोलीका लागि उपाधि जित्न सकेका छैनन्। विश्व फुटबलको सदाबहार सर्व श्रेष्ठ को हो भन्नेमा अर्जेन्टिनाका म्याराडोना र ब्राजिलका पेलेबीच अझै पनि मत विभाजन छ।

दुवैले आफ्नो देशका लागि विश्वकप उपाधि जिते। पेलेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको धेरै वर्षपछि म्याराडोनाको उदय भएको हो। क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय खेल जीवन सुरु गरेको केही वर्षपछि मात्र मेसीले सिनियर राष्ट्रिय जर्सी लगाएका थिए।

अहिले एउटै समयमा खेलिरहेका रोनाल्डो र मेसीबीचको प्रतिस्पर्धा भने रोचक छ। मेसीले अन्तर्राष्ट्रिय उपाधि नजितेरै सन्न्यास लिएको र रोनाल्डोले अन्तर्राष्ट्रिय उपाधि जितेको अवस्थामा समकालीन र सर्वकालीन सर्वोत्कृष्टको समीकरण नयाँ सतहमा देखिएको छ।

रोनाल्डोले कहिल्यै पनि आफू मेसीभन्दा उत्कृष्ट रहेको बताएका छैनन्, न त मेसीले नै रोनाल्डोसँग आफूलाई तुलना गरेका छन्। मेसी र रोनाल्डोबीच को महान् भन्ने विषयमा तुलनै गर्न नहुने र दुवै खेलाडी महान् भएको भन्ने जमात पनि ठूलो छ।

एउटा सत्य के हो भने सफलताको हिसाबले आफूभन्दा दुई वर्ष कान्छा मेसीलाई रोनाल्डोले पछिल्लो समय पछाडि पार्दै गएका छन्। र, निरपेक्ष रूपमा पनि रोनाल्डोले नयाँ उचाइ प्राप्त गरेका छन्।

रोनाल्डोले घरेलु क्लब 'स्पोर्टिङ सीपी'बाट १६ वर्षकै उमेरमा सिनियर टोलीबाट खेलेका थिए। सन् २००३ मा स्पोर्टिङ सीपीले आफ्नो क्लबलाई हराएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गुसनको नजरमा परे रोनाल्डो।

केवल १८ वर्षका रोनाल्डोलाई म्यान युनाइटेडकै खेलाडीले क्लबमा भित्र्याउन फर्गुसनलाई सल्लाह दिएका थिए। त्यति बेला क्लब फुटबलमा सशक्त देखिएको म्यान युनाइटेडका प्रशिक्षक फर्गुसनले रोनाल्डोलाई आफूले देखेकामध्ये सबैभन्दा उत्साहित युवा खेलाडी भने।

फर्गुसनको नजरमा पर्नु चानचुने विषय थिएन। अन्ततः रोनाल्डो म्यान युनाइटेडमा आबद्ध हुने पहिलो पोर्चुगाली खेलाडी भए भने इङ्लिस प्रिमियर लिगका सबैभन्दा महँगा किशोर खेलाडी पनि।

म्यान युनाइटेडमा आएलगत्तै रोनाल्डोले आफू तीन वर्षभित्र विश्वकै उत्कृष्ट खेलाडीको सूचीमा रहने उद्देश्य सार्वजनिक गरेपछि उनीमाथि चासो थप बढ्यो। उनले पाँच वर्षभित्र म्यान युनाइटेडलाई तीन घरेलु लिग, एक युरोपियन च्याम्पियन्स लिग र एक क्लब विश्वकप उपाधि जिताए।


सन् २००७/०८ सिजनमा म्यान युनाइटेडलाई घरेलु लिग, युरोपियन च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जिताएपछि रोनाल्डो फिफा वर्ष खेलाडी बन्न सफल भएका थिए। लगत्तै उनले स्पेनिस क्लब रियल म्याड्रिड रोजे, जति बेला बार्सिलोनाबाट मेसीको उदय हुँदै थियो।

रियल म्याड्रिडले विश्वकीर्तिमानी स्थानान्तरण मूल्यमा रोनाल्डोलाई आबद्ध गरेकाले यी पोर्चुगालीको पाइला पाइला महत्वको विषय बन्दै गयो।
तर, त्यसपछिका लगातार चार वर्ष मेसी फिफा वर्ष खेलाडी बने, रोनाल्डो दोस्रो स्थानमा रहे।

विश्व क्लब फुटबलमा स्पेनिस क्लबको राज त्यसयता प्रायः लगातार रह्यो। सन् २०१३÷१४ सिजनमा रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेपछि रोनाल्डो मेसीको दबदबा अन्त्य गर्दै फिफा वर्ष खेलाडी बने, लगत्तै अर्को सिजन पनि।

गत वर्ष मेसी फिफा वर्ष खेलाडी भएपछि यी दुई खेलाडीबीचको लडाइँ चली नै रहेको छ। रोनाल्डोले गत सिजन युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेकाले यसपटक फिफा वर्ष खेलाडीमा उनको सम्भावना सबैभन्दा बलियो देखिएको छ। तर, क्लब फुटबलमा जस्तो जगजगी उनले राष्ट्रिय टोलीमा गर्न सकेनन्।

१८ वर्षको उमेरमा सन् २००३ मा उनले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। उमेरस्तरको राष्ट्रिय टोलीबाट खासै प्रभाव जमाउन नसकेका रोनाल्डो सन् २००४ मै विश्व फुटबलमा आफ्नो सशक्त उपस्थिति देखाउन सफल भए।

उनको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल युरोकपको फाइनलसम्म पुग्यो। फाइनलमा ग्रिससँग १-० गोलले पराजित भएपछि रोनाल्डो निकै रोए। सन् २००६ मा भएको विश्वकपको महादेशीय छनोटमा रोनाल्डो सर्वाधिक दोस्रो गोलकर्ता बने।

विश्वकपमा पोर्चुगल सेमिफाइनलसम्म पुग्यो। दुई दिनअघि मात्र निधन भएका पोर्चुगल फुटबल महासंघका अध्यक्ष कार्लोस सिल्भाको इच्छालाई सम्बोधन गर्दै सन् २००६ को विश्वकपपछि रोनाल्डोलाई राष्ट्रिय टोलीको कप्तानी गर्ने जिम्मेवारी दिइयो, जति बेला उनी केवल २२ वर्षका थिए। त्यसयता उनले टोलीलाई लगातार कप्तानी गरे, व्यक्तिगत प्रदर्शनका कारण प्रायः चर्चामा रहिरहे तर राष्ट्रिय टोलीका लागि भने उपाधि जिताउन सकेका थिएनन्।

युरोकपको एक उपाधिले रोनाल्डोको खेल जीवनलाई पूर्ण बनाएको छ। रोनाल्डो युरोकपको एकै सिजन र सदाबहार सर्वाधिक गोलकर्ता हुन्। उनी युरोपियन च्याम्पियन्स लिगको एकै सिजन र सदाबहार सर्वाधिक गोलकर्ता हुन्।

उनी पोर्चुगलको पनि सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। पोर्चुगल फुटबल महासंघले सन् २०१५ मा रोनाल्डोलाई आफ्नो देशको सर्वकालीन महान् फुटबलर घोषणा गर्यो। उनले क्लब र राष्ट्रिय टोलीका लागि पाँच सय गोल गरेका छन्।

उनी रियल म्याड्रिडका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। चारपटक युरोपियन गोल्डेन बुट जित्ने एक्ला खेलाडी हुन्। सन् १९९१ देखि फिफा वर्ष अवार्ड प्रदान गर्न थालेयता यो अवार्ड सर्वाधिक जित्ने युरोपेली खेलाडीका रूपमा फ्रान्सका जिनेदिन जिदानको तीनपटकको सफलता उनले बराबरी गरेका छन्।

फिफा वर्ष खेलाडी तीनपटक जित्ने अर्का एक खेलाडी ब्राजिलका रोनाल्डो हुन्। अब उनले मेसीलाई मात्र भेट्न बाँकी छ। तर, सर्वोत्कृष्टताको कसीमा व्यक्तिगत सफलता र टिम सफलता भने सधैं बहसमै रहनेछ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा सुनिन थाल्दा ब्राजिलका रोनाल्डो अन्तर्राष्ट्रिय खेल जीवनको अन्त्यतिर आइपुगेका थिए। २० वर्षकै उमेरमा फिफा वर्षको अवार्ड जितेका ब्राजिलका रोनाल्डोले यो अवार्ड तीनपटक हात पारे र ब्राजिलका लागि विश्वकप पनि जिते।

सुरुआती दिनमा क्रिस्टियानो रोनाल्डो उनै रोनाल्डोको नामले चर्चामा आउन खोजेका हुन् कि भन्ने शंका गर्ने पनि धेरै थिए। तर, खासमा नगरपालिकाको बगैंचामा काम गर्ने रोनाल्डोका पिता जोजे डिनिसि अभेइरोले तत्कालीन चर्चित अभिनेता तथा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई निकै मन पराउने भएर आफ्ना छोराको नाममा रोनाल्डो थपेका थिए।

२० वर्षको उमेरमा पिता गुमाएपछि रोनाल्डोले थप संघर्ष गर्नुपर्यो। तर, रोनाल्डोका अनुसार फुटबलमा उनका लागि पिता भएर आए सर एलेक्स फर्गुसन। केही वर्षअघि रोनाल्डोकी आमा डोलोरेस अभेइरोले लेखेको आत्मकथामा रोनाल्डो पेटमा हुँदा गर्भपतन गर्न निकै प्रयास गरे पनि असफल भएको उल्लेख थियो।

पुस्तक प्रकाशन हुनुअघि नै यो कुरा थाहा पाएका रोनाल्डोले एक दिन डोलोरेसलाई निकै भावुक बनाएका थिए। उनले आमा डोलोरेसलाई भनेछन्, 'आमा म तपाईंले जन्माउन नचाहेको बच्चा थिएँ तर अहिले घरका लागि कमाउने त म नै छु।'

रोनाल्डोले पैसामात्रै हैन, पैसाले खरिद गर्न नसकिने सफलता र चर्चा पनि कमाएका छन्। यति बेला उनको सफलता देखेर विश्व लोभिइरहेको छ। (एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.