गुपचुप आवाजकी खेलाडी
नाम पुरुषको जस्तो हिमाल, लिंगले उनी नारी। आँट, अठोट र संकल्प पनि हिमालजस्तै छ। नाम अर्थात् चर्चाको लोभ नगर्नु उनको विशेषतै भन्नुपर्छ। यही विशेषताका कारण आवाजको खेलाडी भए पनि हिमाल राई गुपचुप छिन्। मौन प्रायः छिन्। आवाजकै मैदानमा भए पनि खेलाडीका रूपमा देखिएकी छैनन्।
सन् १९८४ मा २१ वर्षको उमेरमा उनको विवाह भयो। त्यसबेला नेपालीका लागि हङकङ आकर्षण अहिलेको अमेरिकाभन्दा केही गुणा बढी नै थियो। वैवाहिक जीवनमा बाँधिएपछि उनी पनि पतिका साथ त्यतै लागिन। हङकङमा उनलाई एउटा अवसरको ढोका खुल्यो। पतिले बीएफबीएस (ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस) रेडियोमा काम गर्न सुझाए। रेडियोमा राम्रो र प्रभावकारी आवाज एवं प्रस्तुति दिन सक्ने मान्छे चाहिएको रहेछ। उनले पनि निवेदन दिइन्।
रेडियो बीएफबीएसले हङकङबाट प्रसारित सामग्री त्यसबेला ब्रुनाई, बेलायत, बेलिज, नेपाललगायत बेलायती सेना रहेका प्रायः सबै ठाउँमा सुनिन्थ्यो।
रेडियो बीएफबीएसमा काम गर्ने सान र मान गजबको हुन्थ्यो। निवेदन दिनेहरू प्रशस्त थिए। प्रायः सबै अनुभवी थिए। प्रतिस्पर्धा सजिलो थिएन। नेपालबाट भर्खर गएको सामान्य व्यक्ति थिइन् हिमाल। उनलाई त्यहाँ अवसर पाइएला भन्ने लागेको पनि थिएन। तर विभिन्न चरणको छनोटमा उनको स्वरको जादु चल्यो। उनी छनोट भइन्। बोल्नेमात्रै होइन प्राविधिक कामसमेत आफैं गर्नुपर्ने भएकाले उनका लागि अवसरसँगै चुनौती पनि थपियो।
विवाहअघि धरानमा हुँदा टाइप सिकेकाले उनलाई काम गर्न अलि सजिलो भयो। त्यसबेला धरानमा कम्प्युटरको खासै प्रचलन थिएन। टाइपिङ सिक्नेहरू पनि कमै मात्र पाइन्थ्यो। सन १९८५ देखि रेडियो बीएफबीएसमा बोल्न थालेकी हिमाल सन् १९९६ सम्म निरन्तर बोलिरहिन्।
११ वर्षको अवधिमा उनले देश विदेशमा लाखौं प्रशंसक कमाइन्। नारीसम्बन्धी, बाल कार्यक्रम, कवितासम्बन्धी कार्यक्रम, अन्तर्वार्ता, मनोरञ्जनसम्बन्धी, प्रश्नोत्तर, समाचारका साथै हिमालसित दुई घन्टाजस्ता कार्यक्रम चलाइन्। त्यस अवधिमा उनले सँगालेका अनुभव निकै रोमाञ्चक छ।
हङकङबाट सपरिवार नेपाल फर्केपछि रेडियो बीएफबीएस (ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस) को ११ वर्ष यात्रामा ब्रेक लाग्यो। अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको एउटा नारी आवाज नेपाल आएपछि निष्प्रयोग भयो।
आवाजको मैदानमा उनी अब्बल खेलाडीका रूपमा दरिन सफल भइन्। तर हङकङबाट सपरिवार नेपाल फर्कनेबित्तिकै उनको यात्रामा ब्रेक लाग्यो। अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको एउटा नारी आवाज नेपाल आएपछि निष्प्रयोग भयो। ‘त्यसबेला नेपालमा खासै अवसर थिएन। खोजेरै हिँडेको भए हुन्थ्यो होला तर यहाँको प्रवृत्ति र संरचना हेर्दा जाँगर चलेन’, हिमाल स्मरण गर्छिन्।
नेपाल आएपछि केही समय उनी शैक्षिक एवं सामाजिक कार्यमा संलग्न भइन्। धरानमा मेरिल्यान्ड इङ्लिस बोर्डिङ स्कुल सञ्चालन गरिन्। समाजसेवामा उनको सक्रियता देखेर धरान स्वतन्त्र समाजमा सहसचिवको जिम्मेवारी पाइन्। धरानलाई सबै राजनीति, धर्म, जातिबाट माथि उचालेर यहाँको विकास गर्ने उद्देश्यले गठित समाजमा धरानका प्रतिष्ठित मानिस छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकले गरेको आन्दोलन, धरानमा मालपोतमा राख्न नदिने भन्ने बारेमा भएको विवाद, एडीबीको खानेपानी योजनाको विरोध हुँदा समन्वय गरी समाधान गर्ने काम यस समाजले गरेको थियो।
युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) दक्षिण एसियाको हेडक्वाटर इटहरीमा बन्दै छ। यूपीओ पूर्वाञ्चल च्याप्टरको संयोजनमा भवन निर्माण भइरहेको छ। उनी निर्माण समितिको उपाध्यक्ष पनि हुन्। अब महिला हिंसा न्यूनीकरण तथा कृषिसम्बन्धी केही गर्ने हिमालको योजना छ। त्यसको लागि एचआर ग्रुप प्रालि स्थापना गरेकी छन्। उनको अर्को सपना छ, ससुरा बाबा सहिद अगममणि राईको सपना पूरा गर्ने।
२०३१ सालमा ओखलढुंगा काण्डमा मारिएका सहिद राई बीपी कोइरालाको प्रजातान्त्रिक रक्षा दलका मुक्ति योद्धा थिए। प्रजातन्त्र र समानताका लागि ज्यान आहुती दिएका अगममणिका बारेमा राज्य बेखबर प्रायः छ। उनका योगदानको मूल्यांकन र विचारलाई अगाडि ल्याउन उनले आवश्यक ठानेकी छन्।
नेपाल फर्केर सामाजिक एवं शैक्षिक क्षेत्रमा क्रियाशील रहे पनि रेडियोसँगको आत्मीय नाता उनले भुल्न सकिनन्। धरानमा सञ्चालित विजयपुर एफएमको सेयर होल्ड गरेर सन् २०११ देखि उनले आफ्नै कमाण्डमा चलाउन थालेकी छन्। उनको अनुभवमा नेपाल र हङकङमा रेडियो सञ्चालनशैली आकाश—पाताल फरक छ।
त्यहाँ हरेक व्यक्तिलाई सबै ज्ञान अनिवार्य मानिन्छ। जसका कारण उनीहरू आत्मविश्वास र आत्मानिर्भर भएर काम गर्न सक्छन् तर त्यो चलन र शैली नेपालमा छैन। यहाँका रेडियोकर्मी पूर्ण र आत्मानिर्भर हुँदैनन्। अरूको सहयोग बिना काम गर्न नसक्ने उनको अनुभव छ। हङकङमा रहँदा लामो समय आफूले रेडियो बीएफबीएसमा काम गरेको अनुभवलाई प्रयोग गर्दै विजयपुर एफएममा कार्यरत सबैलाई प्राविधिक रूपमा समेत आत्मानिर्भर बनाउने अभियान उनले चलाएकी छन।
हिमाल राई २०२० सालमा भोजपुरमा जन्मेकी हुन्। जीवनको लामो कालखण्ड विदेशमा बितेकाले नेपालमा देखेका कतिपय उनका सपना अधुरै रहे।
तापनि विदेशमा देखेका, सिकेका, भोगेका अनुभव र सीपलाई नेपालमा प्रयोग गर्न पाएकोमा उनलाई खुसी पनि लागेको छ। बाँचुन्जेल सकारात्मक सोचका साथ राम्रो काम गर्ने, समाजसेवामा समय दिने उनको चाहना छ।