पौडीबाज किरणको राष्ट्रिय कीर्तिमान
काठमाडौं: युवा पौडीबाज किरण कार्कीले २१ औं खुल्ला राष्ट्रिय तथा उमेरसमूह पौडी प्रतियोगिताको पहिलो दिन मंगलबार राष्ट्रिय कीर्तिमान बनाएका छन् । किरणले खुल्लातर्फ ५० मिटर ब्रेस्टस्ट्रोकमा सात वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका हुन् । किरणले हिट चरणमा ३२.८१ सेकेन्डको समय निकाल्दै यसअघि सन् २००९ मा शैलेश राणाले बनाएको कीर्तिमान भंग गरे । त्यतिबेला शैलेशले ३२.८२ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए ।
फाइनल चरणमा भने किरणले निर्धारित दूरी पूरा गर्न ३२.९३ सेकेन्ड समय खर्चिए । उनी उक्त स्पर्धामा पहिलो भए । उक्त स्पर्धामा शुभम श्रेष्ठ दोस्रो र रूपेश चौधरी तेस्रो भए । किरणले १७ वर्ष उमेरसमूहको ५० मिटर ब्रेस्ट स्ट्रोकमा पनि स्वर्ण पदक जिते । उनले निर्धारित दूरी ३२.७२ सेकेन्डमा पूरा गरेका थिए । उक्त स्पर्धामा शुभम श्रेष्ठ दोस्रो र अनुभव सुब्बा तेस्रो भए । प्रतियोगिताको पहिलो दिन रियो ओलम्पिकका लागि छनोट भएका शिरीष गुरुङले चारवटा स्वर्ण पदक हात पारे ।
त्रिभुवन आर्मी क्लबका खेलाडीले खुल्लातर्फ एक सय मिटर बटरफ्लाई, दुई सय मिटर इन्डिभिज्युल मेड्ली, एक सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जिते । पुरुष खुल्ला दुई सय मिटर इन्डिभिज्युल मेड्ली स्पर्धामा शिरीषले निर्धारित दूरी दुई मिनेट ३४.४४ सेकेन्डमा पूरा गरे । उक्त स्पर्धामा डीएभीका अनुभव सुब्बा दोस्रो र एसभीआईका देवेश मानन्धर तेस्रो भए ।
शिरीषले एक सय मिटर बटरफ्लाई स्पर्धामा पनि एक मिनेट ९.८७ सेकेन्डमा पूरा गरे । उक्त स्पर्धामा अनुभव सुब्बा दोस्रो र आर्मीका भीष्म बडुवाल तेस्रो भए । एक सय मिटर फ्रिस्टाइलमा शिरीषले निर्धारित दूरी ५९.८८ सेकेन्डमा पूरा गरे । उक्त स्पर्धामा देवेश मानन्धर दोस्रो र अनुभव सुब्बा तेस्रो भए । दुई सय मिटर ब्याकस्ट्रोकमा शिरीषले दुई मिनेट ४०.८१ सेकेन्ड समय निकाले । उक्त स्पर्धामा देवेश मानन्धर दोस्रो र अनुभव सुब्बा तेस्रो भए ।
पहिलो दिन महिला खुल्लातर्फ सोफिया शाहले पनि तीनवटा स्वर्ण पदक जितिन् । लिंकन स्कुलकी सोफिया शाहले ५० मिटर बटरफ्लाई, एक सय मिटर फ्रिस्टाइल र दुई सय मिटर फ्रिस्टाइलमा पहिलो स्थान हात पारिन् । यसैगरी खुल्ला महिलातर्फ सोनिरा विष्टले दुई सय मिटर ब्रेस्टस्ट्रोक, ५० मिटर ब्रेस्टस्ट्रोकमा गरी दुईवटा स्वर्ण पदक जितिन् ।