चराको संसार (फोटो फिचर)
हाम्रै खेतबारी, आँगन, पोखरी तथा सिमसारमा डुल्ने पक्षी केवल ‘चरा'मात्रै होइनन् । अलि नियालेर हेरौं, प्रत्येकको आआफ्नै विशिष्ट पहिचान छ । तिनको आफ्नै समूह छ, जात छ, वंश छ ।
फोटोग्राफीको ‘भूत' सवार नहुन्जेल छेवैको बारीको डिलमा गुँडमा रमाइरहेको गाजले सुनचरीको सानो परिवारमा मेरो पनि आँखा कहिल्यै परेन । टौदह पोखरी डिलका डुलुवा वा ‘अग्र्यानिक लभ' जोडीका लागि त्यहाँ घाम तापिरहेका जलेवा, खडखडे हाँस, गंगाचिल, विजुलागैरी लगायतका हिँउदे पाहुना फगत ‘चरा'मात्र हुन् ।
साइबेरिया, चीन, मंगोलिया लगायतका मुलुकबाट लामो दूरी पार गरेर जाडो छल्न आउने यी विन्टर भिजिटरहरूले टौदह छपक्कै ढाकिन्छ । यिनको प्रजातिगत विविधता, चालढाल र दिनचर्यामा रुचि नभिजेसम्म तिनमा आँखामात्र पर्छ तर ‘दृष्टि' नपर्दो रहेछ ।
हाम्रै खेतबारी, आँगन, पोखरी तथा सिमसारमा डुल्ने पक्षी केवल ‘चरा'मात्रै होइनन् । अलि नियालेर हेरौं, प्रत्येकको आआफ्नै विशिष्ट पहिचान छ । तिनको आफ्नै समूह छ, जात छ, वंश छ । गौर गरेर नियालौं, तिनको निजी वा सामाजिक जीवन कम्ता रोचक छैनन् ।
यिनकै जीवन नियाल्दा र फोटोमा कैद गर्दा मैले बुझेको एउटै सत्य हो— ब्रह्माण्डको यो विशाल जाली रुमालमा एकअर्कासँग जेलिएका/जोडिएका हर जीवको आफ्नै विशिष्ट महत्त्व छ । रुमालको एक छेउको गाँठो चलाउनुस्, अर्को छेउ तरंगित हुन्छ ।
प्रकृतिमा आफूमात्रै ‘इन्टेलिजेन्ट' छु भनेर घमण्डले नफुले हुन्छ मान्छे । गौंथलीको गुँड, वया तोपचराको घर, काष्ठकुटको निवासको ‘इन्जिनियरिङ'मात्रै हेरे पुग्छ । यही विशाल संरचनाको एक अंशमात्रै हो मान्छे पनि ।
चराहरुका थप सुन्दर तस्बिर हेर्नुहोस्