नाइँ म मान्छे नै बन्छु
कथा
समिनाको घरछेउमा आँप, जामुना र लिचीका रूख थिए । रूख भएकाले ती रूखमा धेरै चराहरू बस्थे । समिना बिहानपख उठेर आँगनमा चर्न आउने ढुकुर र सुगालाई आहारा दिन्थिन् । आमाले त्यसैका लागि कनिका छुट्याइदिनुहुन्थ्यो ।
एक दिन चारा दिँदा दिँदै समिनालाई चरा उडेको निकै मन पर्यो । आपू पनि चराजस्तै उड्न पाए नि हुन्थ्यो भन्ने लाग्यो ।
‘आमा ढुकुर कसरी उड्छ ?' समिनाले आमालाई कोट्याउँदै सोधिन् ।
‘भुर्रर' आमाले हातको भाउ लाउँदै भन्नु भयो र मुसुक्क हाँस्नुभयो ।
‘नाइँ म पनि उड्छु ।'
‘खै तिम्रो पखेटा त छैन ?'
‘आमा मेरो पखेटा किन नभएको ?'
‘तिमी मान्छे हौ । मान्छेको पखेटा हुँदैन ।'
‘मान्छेको पखेटा किन नभएको ?'
‘मान्छेको मात्र होइन छोरी भ्यागुता, सर्प, गाई, भैंसी कसैका पनि छैनन् ।'
‘चराको किन भएको त ?'
‘चरा भएर ।'
‘त्यसो भए म पनि चरा बन्ने ।'
‘तिमी किन चरा बन्ने छोरी ?'
‘चरा बन्न पाए म त्यो आँपको हाँगोमा बसेर आँप खान्छु । काफलको रूखमा बसेर काफल खान्छु ।'
यस्तै कुरा भएको थियो समिना र आमाको बीचमा । समिनालाई चराले जस्तै भुर्रर उडेर रूखमा बस्न मन लागेको थियो ।
बाबासँग पनि समिनाले यस्तै कुरा गरेकी थिइन् । बाबाले पनि उनलाई आमाले जस्तै जवाफ दिनु भएको थियो । सुत्ने बेलामा उनले कापीमा आफ्नो चित्र बनाइन् र पखेटा बनाएर उडेको देखाइन् र निदाइन् ।
‘समिना तिमीलाई उढ्न मन लाग्यो ?' समिनाले अनौठो आवाज सुनिन् । उनको सामुन्नेमा परी दिदी थिइन् । परी दिदीका त पखेटा पो रहेछन् ।
‘अहो तपाइँ परी दिदी हो ?' समिनाले सोधिन् ।
‘हो म परी दिदी हुँ । तिमीलाई उड्न मन लागेछ । म तिमीलाई पखेँटा राखेर मसँगै उडाउँछु हुन्छ ?'
‘हुन्छ दिदी' भनेपछि परीले समिनालाई पखेँटा हालिदिइन् । समिना परी दिदीसँगै आकाशमा उड्न थालिन् । उनीहरू कहिले बादलमाथि उड्थे त कहिले बादल मुनि । आहा कति रमाइलो ठूलाठूला खोला एकै छिनमा पार गर्न पाइने । पुग्न नसकिने डाँडामाथि पनि उनी उडिन् । उनी परी दिदीसँग उड्दै वनपाखा सबैतिर पुगिन् ।
‘दिदी त्यो मेरो मामाघर हो । त्यहाँ एकछिन रोकिऊँ है' समिनाले भनिन् । परी दिदी र समिना मामाघरको आँगनमा झरे ।
उनले मामा र माइजूलाई बोलाइन् । मामा र माइजू बाहिर आउनु भयो । मामा र माइजू निकै खुसी हुनुहोला भनेको त देख्नासाथ भाग्नुभयो । समिना छक्क परिन् । उनीहरू फेरि उडे । समिनाले परी दिदीलाई काकाको घर देखाइन् । उनीहरू त्यहाँ झरे तर काका काकी पनि समिना र परीलाई देख्नासाथ भित्र पसे । समिनालाई काका र काकी देखेर पनि रिस उठ्यो ।
उनी परी दिदीसँग उडेर निकै बेर बादल माथि उडिन् । अब घरमा फर्किने है दिदी । समिनाले भनिन् । उनीहरू उडेर समिनाको घरको आँगनमा झरे ।
‘आमाआमा हेर्नुस् त म उडेँ । परी दिदीसँग कहाँकहाँ पुगेर आएँ थाहा छ ?' समिना बोलेको सुनेर उनको दाजु बाहिर आए ।
भूत भूत भन्दै दाजु भित्र पसे । दाजु भित्र पस्नासाथ आमा र बाबा आउनुभयो ।
‘म समिना आमा । म समिना बाबा' उनी चिच्याइन् ।
बाबाआमाले केही बेर हेर्नुभयो र भित्र पस्नुभयो । उनले आँगनमा खेलिरहेको सानो पाठोलाई नजिक आ मुनी आ भन्दै बोलाइन् । मुनी पनि उफ्रिएर भाग्यो ।
‘परी दिदी ! किन मलाई कसैले नचिनेका ?' समिना चिच्याइन् ।
‘बहिनी तिम्रा पखेटा थिएनन् । मानिसको पखेँटा हुन्नन् । तिमी समिना हौ भनेर चिनेनन् ।'
‘दिदी मलाई पखेँटा चाहिन्न', सुमिनाले भनिन् ।
‘अब त तिम्रो पखेटा आइसक्यो अब कसरी हटाउने ?' परीले भनेपछि सुमिनाले जिद्दी गर्दै फेरि भनिन्, ‘नाइँ, त्यसरी हुन्न ।'
‘किन बहिनी ?', परीले जिज्ञासा राखिन् ।
‘खै आमाबाबा ? कसैले चिन्दैनन् । म मान्छे बन्छु', समिना सुँक्कसुँक्क गर्दै चिच्याइन् ।
‘के भयो समिना ?' बाबा आत्तिँदै समिनालाई सुमसुम्याउन पुग्नुभयो । आमा पनि आत्तिँदै जानुभयो । समिना ब्युँझिइन् र शरीरमा छाम्न थालिन् ।
‘मलाई पखेटा चाहिन्न', समिना बेसरी चिच्याइन् ।
‘कहाँ छ पखेटा छोरी ? तिमीले सपना देख्यौ होला', समिनाको आमाले भनिन् ।
‘सपना साँच्चीको हुन्न है आमा ?', समिनाले रुन्चे स्वरमा सोधिन् ।
‘हुन्न छोरी, तिम्रो शरीरमा पखेटा छैन', आमाले भन्नुभयो । समिनाले सपनामा देखेको कुरा आमालाई सुनाइन् । आमा र बाबाले उनलाई एकसाथ बोक्नुभयो र चुप्प म्वाइँ खानुभयो । उनी मुसुक्क हाँसिन् । आँखाको आँसु घाममा टलक्क टल्कियो ।