धार्मिक पर्यटकका लागि नेपाल आउनेको संख्या बढ्दै

धार्मिक पर्यटकका लागि नेपाल आउनेको संख्या बढ्दै

काठमाडौं: नेपालमा पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ्न थालेको छ । नेपालमा आउने विदेशी पर्यटक मध्ये वार्षिक दुईदेखि साढे दुई लाख पर्यटकको रुचि धार्मिक पर्यटनमा हुने गरेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको नेपालको पर्यटकीय तथ्यांक २०१५ मा धार्मिक पर्यटकको चाप नेपालमा हरेक वर्ष बढ्दै गएको उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालको प्रमुख धार्मिक आस्थाको केन्द्र पशुपति आउने पर्यटक सबैभन्दा बढी हुने गरेका छन् । धार्मिक पर्यटकीय गन्तव्यको पहिलो रोजाइ पनि पशुपतिनाथ नै रहेको मन्त्रालयको भनाइ छ । सरकारले धार्मिक पर्यटकलाई प्राथमिकता दिन सुरु गरेको र धार्मिक पर्यटकीय गन्तव्य पनि पर्यटकीय आकर्षणको केन्द्र हुन थालेकोले यसतर्फ पर्यटक बढ्न थालेको मन्त्रालयले जनाएको छ ।

गत वर्षको भूकम्प र आपूर्तिको असहजताले आर्थिक क्षेत्रमै नकारात्मक असर परेको छ । यसमध्ये पर्यटन क्षेत्र पनि सबैभन्दा बढी प्रभावित हुने अर्थतन्त्रको एउटा पाटो बनेको छ । भूकम्पका कारण सन् २०१५ मा नेपाल आउने विदेशी पर्यटक वार्षिक तथ्यांकबाट पाँच लाखमा सीमित हुन पुगेको छ । यस अघि वार्षिक करिब आठ लाख पर्यटक नेपाल आउने गरेका थिए ।

नेपालमा धार्मिक पर्यटकीय गतिविधिका लागि आइपुग्ने पर्यटक पशुपति क्षेत्र बाहेक नै करिब एक लाख पुग्न थालेका छन् । पशुपति क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यको सबैभन्दा पहिलो र पर्यटकीय रोजाइको क्षेत्रसमेत हुने गरेको छ । यो क्षेत्रमा सन् २०१५ मा ७८ हजार विदेशी पर्यटक पुगेका छन् । सन् २०१४ मा पशुपति क्षेत्रमा मात्रै एक लाख ६६ हजार पर्यटक पुगेका थिए । यो वर्ष समग्रमा धार्मिक पर्यटकको संख्या दुई लाख ६५ हजार छ ।

नेपालमा आउने विदेशी पर्यटकले धार्मिक विमानस्थलबाट प्रवेश गर्दै धार्मिक रुचि राख्ने पर्यटक वार्षिक रूपमा नै करिब एक लाख पुग्न थालेका छन् । पशुपति क्षेत्र पनि धार्मिक पर्यटकीय गन्तव्य भएकोले यो क्षेत्रसमेत जोड्दा बर्सेनि साढे दुई लाखभन्दा बढी धार्मिक पर्यटक नेपाल भित्रिरहेका छन् ।

 

विगत पाँच वर्षमा नेपालमा आउने धार्मिक पर्यटकको वृद्धिदर निकै सकारात्मक रहेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । पछिल्लो सयम नेपाल आउने विदेशी पर्यटक मध्ये सबैभन्दा बढी भारतीय र चिनियाँ छन् । यीमध्ये अधिकांश पशुपति पुग्ने गरेको कोषको भनाइ छ । विकास कोषको तथ्यांक अनुसार सन् २०११ मा जम्मा एक लाख ४३ हजार पर्यटकले पशुपति क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१४ मा यो संख्या एक लाख ६६ हजार पुगेको देखिएको छ ।

पशुपति क्षेत्र प्रवेश गर्ने हरेक विदेशीले एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ । सोही शुल्क तिरेका आधारमा सन् २०१५ मा पशुपति क्षेत्र विकास कोषले पर्यटक प्रवेश गरेवापतको शुल्क पनि सात करोड ८६ लाख ८० हजार रुपैयाँ संकलन गरेको कोषले जानकारी दिएको छ ।

कोषका अनुसार यस्तो शुल्क अघिल्लो वर्ष १६ करोड ६१ लाख रुपैयाँ थियो । पर्यटक प्रवेशबाट मात्रै पनि कोषले निकै राम्रो आम्दानी गरेको देखिएको छ । समग्र धार्मिक पर्यटकको खर्च भने सरकारले संकलन गर्न सकेको छैन ।

सरकारले बुद्धिष्ट सर्किटसँग जोडेर हिन्दू सर्किटलाई प्रवद्र्धन गर्न सके अझै धार्मिक पर्यटक बढ्ने पर्यटन व्यवसायी बताउँछन् । नेपालमा बुद्ध र हिन्दू सर्किट दुवै क्षेत्र धार्मिक पर्यटनका लागि उपयुक्त माध्यम हुन् । नेपाललाई धार्मिक पर्यटकीय गन्तव्यको अस्तित्व दिलाउन र पर्यटकीय प्रवद्र्धन सरकारी प्राथमिकतामा पर्न सके यो क्षेत्रको पनि विकास हुने नेपाल पर्यटन बोर्डको भनाइ छ ।

बोर्डले कुनै एक क्षेत्रलाई केन्द्रित नगरी समग्र नेपालक प्रवद्र्धन गर्ने गरेको छ । पर्यटन व्यवसायीले धार्मिक पर्यटन प्रवद्र्धनको प्याकेज बनाएर प्रवद्र्धन गर्न सके अझै यो क्षेत्रले गति लिन सक्ने बोर्डका एक अधिकारी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.