पेलेले ल्याए ओलम्पिक गीत
रियो दि जेनेरियो: पेलेलाई विश्व खेलकुदकै महान् खेलाडी मानिन्छ । उनले आफ्नो देश ब्राजिलका लागि तीन पटक विश्वकप पनि जिते । उनको जादुमयी फुटबल कलाले विश्वलाई नै अचम्मित बनाएको थियो । त्यसैले उनी ब्राजिलमा मात्र होइन दक्षिण अमेरिकाकै सान बनेर उभिएका छन् । यतिबेला उनै पेलेको देश ब्राजिलमा ओलम्पिक खेलकुद आयोजना हुँदै छ ।
रियो दि जेनेरियोमा आगामी अगस्ट पहिलो सातादेखि सुरु हुने विश्व खेलकुदको महाकुम्भ दक्षिण अमेरिकामा आयोजना हुन लागेको यो पहिलो पटक हो । तर राजनीतिक अस्थिरता र जिका भाइरसको त्रासका कारण यो संस्करण सुरु हुनु अगावै विवादित बनेको छ । त्यसैले यतिबेला पेले पनि निकै तनावमा छन् । तर यसैबीच उनले विश्वको ध्यान तान्न ओलम्पिकलाई जोड्दै गीत सार्वजनिक गरेका छन् ।
पेलेले खेलकुद गीत आफैं लेखेका छन् र आफैंले गाएका पनि छन् । गायनमा उनलाई बालबालिकाले रूपमा सघाएका छन् । गीतको शीर्षक ‘होप' अर्थात् आशा राखिएको छ । गीतमा ओलम्पिकलाई ब्राजिलको पर्व जसले विश्वलाई आनन्द र उन्मादसहित खुसी बनाउने आसय समेटिएको छ । गत सातामात्र ७५ वर्षको उमेरमा तेस्रो विवाह गरेका पेले संगीतसँग जोडिएको पहिलो पटक भने होइनन् ।
उनले सन् १९६० मा पनि गीत रेकर्ड गराएका थिए । उनले सन् २००६ मा पनि ब्राजिलका चर्चित गायक तथा गीतकार जिलबर्टो जिलसँग सहकार्य गरेर ‘पेले जिंगा' एल्बम बाहिर ल्याएका थिए । खेलजीवनमा उनले एक हजार तीन सय ६३ खेल खेलेर एक हजार दुई सय १८ गोल गरेका थिए । उनले सिनियर राष्ट्रिय टोलीबाट ९१ खेल खेल्दै ७७ गोल गरेका थिए ।
पेले विश्वकप फुटबलको इतिहासमा तीनवटा संस्करणको उपाधि जित्ने एकमात्र खेलाडी हुन् । सन् १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले पेलेलाई २० औं शताब्दीकै उत्कृष्ट खेलाडीको सूचीमा राखेको थियो । यसैगरी सन् २००० मा विश्व फुटबल महासंघ (फिफा) ले पनि पेलेलाई शताब्दी खेलाडीको सम्मान दिएको थियो ।