बालविवाहविरुद्धको लडाइँ
अछाम: ‘गाउँमा कतैबाट बिहेको भोजको निम्तो आयो र तपाईं त्यहाँ भोज खान जानुभयो । तर त्यो बालविवाह हो भन्ने थाहा पाए तपाईं भोज खाएर फर्किनुहुन्छ कि बालविवाह गर्नेलाई पक्राउ गरेर ल्याउनु पनि हुन्छ सर ? ’ अछामकी विद्यार्थी अञ्जना भण्डारीले आफ्ना जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गरेकी प्रश्न हो यो ।
जिल्ला बाल कल्याण समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले प्रश्न टुंगिनासाथ भनिहाले, ‘यदि बालविवाह भइरहेको छ भने भोज खाएर फर्किने त कुरै भएन बिहे नै रोक्न लगाइन्छ । तर त्यसबारेमा जानकारी चाहिँ हुनुपर्यो ।’ बालविवाहलाई रोक्ने प्रतिबद्धता जनाउनका लागि उपस्थित भएका समुदायलाई प्रजिअ शर्माले सुझाव दिँदै भने,‘ गाउँ ठाउँमा कहीँ कतै बालविवाह भइरहेको छ भने हामीलाई खबर गर्नुहोस् प्रहरी तत्काल त्यहाँ पुगेर बालविवाह गर्नेलाई कानुनबमोजिम कारबाही गर्नेछ ।’
प्रजिअ शर्माका अनुसार हालसम्म प्रहरीमा बालविवाहको उजुरी भने एउटा पनि परेको छैन ।
अञ्जनाले जस्तै अन्य किशोरकिशोरीले पनि बालविवाहका बारेमा सम्बन्धित सरोकारवालाहरूलाई आफ्नो जिज्ञासा राख्दै गए । कालागाउँकी सम्झना सोडारीले पूर्वसभासद् शेरबहादुर कुँवरलाई सोधिन्, ‘कानुन खुकुलो भएकाले बालविवाह गराउनेलाई थोरै सजायको व्यवस्था छ, त्यसले पनि बालविवाहका घट्ना बढेका छन् ।
तपाईंहरू कडा कानुन निर्माण गर्न किन सक्नुहुन्न ? ’ कुँवरले सम्झनाको जिज्ञासा मेटाउँदै कानुन कडा बनाएर मात्र बालविवाह नरोकिने हुनाले यसमा सिंगो समाज सचेत हुनुपर्ने बताए । कानुनमा समेत क्रमिक सुधार आइरहेको भन्दै कुँवरले कानुनमा रहेका त्रुटि सच्याउन दलहरू लाग्ने प्रतिबद्धता समेत जनाए ।
किशोरकिशोरीले सरोकारवाला समक्ष प्रश्नमात्र राखेनन् सम्बन्धित विषयमा प्रतिबद्धतासहितको जवाफसमेत खोजेका छन् । लुङग्राकी जानुका खड्काले राजनीतिक दलका नेताहरूले बालविवाह रोक्न लगाउने प्रतिबद्धता जनाए पनि दलका भ्रातृ संघसंस्थाका सदस्यहरूनै बालविवाह गरिरहेको यथार्थ सुनेपछि कार्यक्रममा तालीको वर्षा भयो ।
वाक नेपालका अध्यक्ष मीनबहादुर कुँवरका अनुसार जिल्लाका बिभिन्न १६ गाविसमा गरेको अध्ययनमा एक वर्षको अवधिमा तीन सय ९० वटा बालविवाह भएको पाइयो । १६ वटा गाविसमा एक वर्षभित्रै यति धेरै संख्यामा बालविवाह हुँदा पनि त्यस सम्बन्धि एउटा पनि उजुरी नपर्नुले अछामी समाजले जानीनजानी बालविवाहलाई स्वीकार गरिरहेको प्रमुख जिल्ला अधिकारीले बताए ।
बालविवाह न्युनीकरण गर्न सजायको विधिबाट मात्र जानुभन्दा पनि सामाजिक सचेतना, शिक्षा, स्वास्थ्य, परिवारको आर्थिकस्तरलगायतका विषयमा बढी ध्यान दिनुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा बालबालिकासँग सम्बन्धित सरोकारवालाले आठबुँदे प्रतिबद्धता व्यक्त गर्दै जिल्लालाई बालविवाहमुक्त घोषणा गर्ने अभियान चलाउने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यसंस्था तथा विद्यालयलाई बालमैत्री बनाउन पहल गर्ने, बालविवाह भइरहेको ठाउँमा विवाह पार्टीमा सहभागी नहुनेलगायतका प्रतिबद्धता जनाए ।